के हो ‘चाइना–कार्ड’ ?
काठमाडौँ । प्रधानमन्त्रीका रूपमा पहिलोपटक (२०७२ चैत ७ गते) चीनको भ्रमण गर्नुभन्दा एक दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार भेटघाटमा भनेका थिए, ‘चाइना–साइना कार्ड वा के कार्डमा मलाई विश्वास छैन, म तास खेल्न लागेको होइन ।’
त्यतिबेला विभिन्न बहानामा नेपालमाथि लगाएको नाकाबन्दी भारतले भर्खरै खोलेको थियो तर आपूर्ति पूर्ण रूपमा सहज भइसकेको थिएन । भारतसँग सम्बन्ध त्यति सुमधुर नभएको अवस्थामा चीन गएर ओलीले ‘चाइना कार्ड’ प्रयोग गर्न खोजेका त होइनन् भन्ने आशयमा पत्रकारले प्रश्न गरेका थिए ।
हाम्रा सरकार प्रमुखले भारत रिसाएका बेला ‘चीन छ है’ भनेर देखाउने जुन प्रवृत्ति छ, त्यसैलाई ‘चाइना–कार्ड’ र चीन रिसाएका बेला ‘भारत छ है’ भनेर देखाउने जुन प्र्रवृत्ति छ, त्यसैलाई ‘इन्डिया–कार्ड’ भनेर बुझिन्छ । यो प्रवृत्तिको विकास खासगरी राजा महेन्द्रका पालामा स्थापित भएको माओवादी केन्द्रका विदेश विभाग उपप्रमुख राम कार्की बताउँछन् ।
यतिखेर प्रधानमन्त्री भएको पाँच महिना पुग्न लाग्दा समेत भारतले ओलीलाई निमन्त्रणा दिएको छैन र उनी मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । त्यसैले उनले ‘चाइना–कार्ड’ प्रयोग गर्न खोजेको टिप्पणी हुन थालेका छन् ।
- ओलीको चाइना–कार्ड
प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमणका बेला नेपाल र चीनबिच भारतले सोचेभन्दा धेरै ठुला सम्झौता भएका थिए । जसमा अरुण तेस्रो, किमाथाङ्का जलविद्युत् परियोजना, रसुवागढी केन्द्र अन्तर्देशीय विद्युत् प्रसारण लाइन, अन्तर्देशीय रेलमार्ग, पेट्रोलियम खानीको अन्वेषण, पोखरा अन्तर्र्राष्ट्रिय विमानस्थल, सहुलियत बैङ्किङ ऋण लगायत थिए । यी सम्झौतालाई भारतले आफ्नो हितमा लिने कुरै भएन । जब कि चीनसँग यस्तो सम्झौता हुनुको कारक भारत नै थियो । त्यतिबेला उसले एक त जटिल परिस्थितिमा नाकाबन्दी लगायो, अर्कोतिर नाकाबन्दी खोलेपछि पनि सम्बन्ध सुधारमा चासो दिएन ।
त्यतिबेला प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि तत्कालीन परराष्ट्रमन्त्री कमल थापा चीन पुगेका थिए । सम्पूर्ण तयारी पूरा गरी जब थापाले त्यहाँका तत्कालीन परराष्ट्रमन्त्री वाङ यीसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गरे, त्यसपछि भारत झस्केको थियो र हतार–हतार नाकाबन्दी फिर्ता लिएर प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराएको थियो ।
कूटनीतिक मामिलाका एक जानकार भन्छन्, ‘त्यतिबेला ओलीले चाइना कार्ड प्रयोग गर्नुभएको थियो । परराष्ट्रमन्त्री थापालाई चीन पठाएर भ्रमणको तयारीमा नलगाएको भए प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा बोलाउँदैनथ्यो । अहिले पनि प्रधानमन्त्री ओलीले त्यही चाइना कार्ड खेल्न खोज्नुभयो, तर भारतलाई यसपटक कुनै असर गरेन ।’
चीनको भ्रमणपछि २०७२ मै प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेका थिए तर उल्लेखनीय उपलब्धि हुन सकेन । यहाँसम्म कि दुई देशको संयुक्त विज्ञप्ति समेत जारी भएको थिएन ।
दोस्रोपटक २०७४ मा पनि भारतले भ्रमणमा बोलाउन ढिलाइ गरेपछि प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा लागेका थिए, तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चीन पठाएर । यता, मन्त्री ज्ञवाली चीनबाट नफर्किंदै भारतले एकतर्फी रूपमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सार्वजनिक गरेको थियो । त्यतिबेला नेपाललाई भारत भ्रमणका विषयमा कुनै औपचारिक जानकारी नदिँदै भारतीय पक्ष त्यसको तयारीमा जुटिसकेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री ओलीले भारतविरुद्ध चाइना कार्ड प्रयोग गरेको जानकारहरू बताउँछन् । उनले ज्ञवालीलाई चीन पठाएपछि नै भारतले हतार–हतार निम्ता दिएकाले ओलीको ‘चाइना कार्ड’ काम लागेको बताइन्छ ।
त्यतिबेला प्रधानमन्त्री ओलीले २०७४ चैत २३ देखि २५ गतेसम्म भारतको भ्रमण गर्ने र २६ गते चीनमा हुने ‘बोआओ एसिया फोरम’मा सहभागिता जनाउने योजना बनाएका थिए । तर भारतको दबाबका कारण ओली बोआओ सम्मेलनमा भाग लिन गएनन् । विदेश मामिलाका एक जानकार भन्छन्, ‘ओलीलाई चीन जान नदिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यतिबेला आफैँ चीन पुगेका थिए ।’
चीनबाट स्वदेश फर्केको दुई हप्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरे र नेपालबाट फर्केपछि पनि सांघाई सहयोग संगठन (एससीओ) मा भाग लिन उनी पुनः चीन पुगे । जब कि एससीओ सम्मेलनमा नेपालले पनि भाग लिनुपथ्र्यो । त्यसको सदस्य राष्ट्र (डायलग पार्टनर) नेपाल पनि हो, तर चीनले नेपाललाई निमन्त्रणा नै गरेको थिएन । जानकार भन्छन्, ‘त्यतिबेला बोआओ सम्मेलनमा नेपालले भाग नलिएका कारण चीनले एससीओ सम्मेलनमा पनि बोलाएन । भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्केको (२०७५ जेठ २८ गते) एक हप्तापछि मात्र प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।’
यसपालि प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारतबाटैै गर्ने सोच बनाएको बताइन्छ तर भारतले निम्तै गरेन । भारतले निम्तो नआएपछि उनले चीन भ्रमण जाने हल्ला चलाए, अर्थात् चाइनाकार्ड प्रयोग गरे, तर यसपटकको ‘चाइना कार्ड’लाई भारतले चासो दिएन ।
कूटनीतिक मामिलाका जानकारहरूका अनुसार, पछिल्लो समय चीन र भारतबिचको सम्बन्धमा सुधार आएका कारण ओलीको चाइना कार्ड काम लागेन । यद्यपि यो भ्रमणलाई भारतले नजिकबाट नियालिरहेको छ, चासोपूर्वक सबै कुरालाई अध्ययन गरिरहेको छ ।
माओवादी नेता कार्की भन्छन्, ‘चाइना कार्ड भन्नु मनोविनोद मात्र हो । किनभने चीन र भारत अर्बौं डलरको व्यापारमा संलग्न छन् । उनीहरूका बिचमा बेलाबेला घच्याकघुचुक पनि हुन्छ । तर उनीहरूले यति विराट् व्यावसायिक सम्बन्ध बनाएका छन् कि त्यसको अगाडि नेपाल केही होइन ।’
- प्रचण्डको टिप्पणी
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको पत्रिका ‘द हिन्दू’लाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुुन्छ तर यो भ्रमण चाइना कार्ड खेल्नका लागि बढी हो जस्तो देखिन्छ, जुन गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलका कारण पनि हामीले हाम्रो सम्बन्धलाई सन्तुलनमा राख्नुपर्छ । ओलीले चीन जानुअघि नेपालको भारतसँगको विशिष्ट सम्बन्धलाई ख्याल गर्नुपर्छ, यो हुनु हुँदैनथ्यो ।’
यसअघि पनि प्रधानमन्त्री भारत वा चीन भ्रमणमा जाने क्रममा जनस्तरबाट विभिन्न खालका टिप्पणी हुने गर्थे । यसपटक शीर्ष तहबाट कडा टिप्पणी भएको छ । जसको पक्ष तथा विपक्षमा बहस भइरहेका छन् ।
एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ आफ्ना पार्टीका अध्यक्ष ओली तथा उनी नेतृत्वको सरकारलाई भारतविरोधी देखाउनका लागि अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएको बताउँछन् । उनले रातोपाटीसँग भने, ‘सत्ताबाट हटेको रिस उहाँले पोखिरहनुभएको छ, उहाँले सरकारलाई भारतविरोधी देखाउन खोज्नुभएको छ, जुन सत्य होइन ।’
‘चाइना कार्ड’ वा ‘इन्डिया कार्ड’ नेपालबाट चाल्न नसकिने र चालिए पनि विदेशीको इसारामा भइरहेको परराष्ट्र विज्ञ टंक कार्की बताउँछन् । ‘बाह्य शक्तिबाट प्रभावित भएर यस्ता कुरा आउने गरेका छन्,’ उनले भने, ‘नेपालका नेताहरू कसैको विरुद्ध कसैको कार्ड प्रयोग गर्न सक्दैनन्, बरु अरुको कार्ड भएर कार्य गरिरहेको देखिन्छ ।’
यस विषयमा माओवादी नेता राम कार्की भन्छन्, ‘भारतकै पत्रिकामा यो भ्रमणसम्बन्धी अन्तर्वार्ता दिँदा अलि सजग भएर दिँदा राम्रो हुन्थ्यो ।’
- प्रचण्डको चाइना कार्ड
पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले पनि भारतलाई देखाउनकै लागि पहिलो भ्रमण चीनको गरेर ‘चाइना कार्ड’ प्रयोग गरेका थिए । २०६५ भदौमा चीनमा भएको ओलम्पिक समापन समारोहमा जान लागेका प्रचण्डलाई रोक्ने प्रयास समेत भारतले गरेको परराष्ट्रका जानकारहरू बताउँछन् । त्यतिबेला भारतको दबाब यति बढ्यो कि चीनबाट फर्कंदा उनले त्रिभुवन विमानस्थलबाटै भन्नुपर्यो— मेरो पहिलो औपचारिक भ्रमण भारतबाटै हुन्छ । चीनमा त ओलम्पिकको समापन कार्यक्रममा गएको हुँ ।
त्यसलगत्तै उनी भारत भ्रमणमा त गए, भारतको मन जित्न भने सकेनन् । भारतले प्रचण्डलाई सधैँ शंकाको नजरले हेरिरह्यो । त्यो थाहा पाएर प्रचण्डले चीनसँग झनै सम्बन्ध बनाउन थाले । त्यतिबेला उनले आफ्ना नेता चीन पठाउने र चीनका नेतालाई नेपाल बोलाउने गरेका थिए ।
जानकारहरूका अनुसार, त्यसैबेलादेखि नेपालमा चीनको गतिविधि बढ्यो, जसलाई भारतले सहज रूपमा लिएन । फलतः कटवाल काण्डसँगै प्रचण्ड सरकार ढल्यो र माधवकुमार नेपाल प्रधानमन्त्री बने । माधव सरकारलाई प्रचण्डले कठपुतली सरकारको संज्ञा दिएका थिए ।
भारतकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको र भारतकै इसारामा माधव नेतृत्वको सरकार बनेको प्रचण्डको आशय बुझिन्थ्यो ।
प्रधानमन्त्रीबाट हटेपछि प्रचण्ड र भारतबिच धेरै समयसम्म सम्बन्ध खराब रह्यो । त्यतिबेला प्रचण्डले भनेका थिए, ‘नोकरहरू (कांग्रेस–एमाले)सँग होइन, सिधै मालिक (भारत)सँग वार्ता गर्छौं ।’
दोस्रोपटक प्रधानमन्त्री बन्नेबित्तिकै प्रचण्डले भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै भारतका लागि कम्फर्टेबल सरकार बनेको बताएका थिए । उनले भनेका थिए, ‘नेपाली कांग्रेस, हामी (प्रचण्ड–माधव) र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन । चीनका लागि पनि यो कन्फर्टेबल नै हुन्छ ।’
एक राजनीतिक टिप्पणीकार भन्छन्, ‘त्यसपछि प्रचण्डले जति पनि सरकार बनाए, ती सबै भारतलाई कम्फर्टेबल हुने गरी बनाए । तेस्रोपटक प्रधानमन्त्री भएको पाँच महिनापछि उनले भारत भ्रमण गरे । त्यतिबेला उनले भारतमा गेरुवस्त्र धारण गरी पूजापाठ गरेकाले आलोचना खेप्नुपरेको थियो ।
प्रचण्डले यतिखेर ओलीलाई ‘चाइना कार्ड’ प्रयोग गरेको बताएपछि ओलीले पनि प्रचण्डले भारतमा गरेको पूजापाठलाई लिएर भनेका छन्, ‘राजस्थान (भारत)को अजमेरमा इस्लाम धर्मावलम्बीको एउटा मस्जिद छ । तर दिल्लीको निजामुद्दिन दर्शन गरेर मात्र अजमेर जानुपर्छ भन्छन् । यो चाहिँ मैले बुझेको छैन, राजनीतिमा कुन निजामुद्दिन हो, कुन अजमेर ? नेपाल एउटा सर्वभौम देश हो, जता अनुकूल हुन्छ उतै जाने हो । हाम्रा लागि कुनै अजमेर छैन, कुनै निजामुद्दिन छैन ।’
- ‘कार्ड’को अभ्यास
बहुदल वा गणतन्त्रमा मात्र ‘चाइना कार्ड’ वा ‘इन्डिया कार्ड’ प्रयोग भएको होइन । राजतन्त्रमा पनि यस्ता कार्डको प्रयोग भएको देखिन्थ्यो । राजा त्रिभुवन भारत निकट थिए भने महेन्द्र चीन निकट । वीरेन्द्र भारत निकट थिए भने ज्ञानेन्द्र चीन निकट ।
यी राजाहरूले बेलाबेला चाइना वा इन्डिया कार्डको प्रयोग गर्थे । यसमा सबभन्दा बढी चलाख राजा महेन्द्रलाई मानिन्छ । भारतकै एउटा समाचारपत्रलाई अन्तर्वार्ता दिँदै राजा महेन्द्रले भनेका थिए, ‘हामीले भारतलाई मात्र मित्र ठानेर पुग्दैन, भारतको पनि हामीप्रति त्यस्तै भावना हुनुपर्छ । नेपाल वा भारतको भलाइ नचाहने तत्त्वहरूले जेसुकै भने वा गरे पनि हामी गैरजिम्मेवार भाषा वा कार्यबाट विचलित हुनु उचित हुँदैन ।’
नेपाल र भारतबिचको विशेष सम्बन्धलाई मित्रवत सम्बन्धमा सीमित गरेर राजा महेन्द्रले चीन लगायत अन्य देशसँग सम्बन्ध बनाउन लागेका थिए । उनकै पालामा युएनको सदस्यता लिनेदेखि चीनसँग पनि कूटनीति सम्बन्धमा विस्तार भएको थियो । भारतले कुनै प्रकारको असहयोग गर्नेबित्तिकै राजा महेन्द्रले चीनको सहयोग माग्थे । त्यही बेलादेखि नेपालको राजसंस्थासँग चीनको विशेष सम्बन्ध स्थापित भएको थियो ।
नेपालमा गणतन्त्र घोषणा नहुँदासम्म चीन राजतन्त्रकै पक्षमा थियो । त्यही भएर तत्कालीन राजा ज्ञानेन्द्रको पनि चीनसँग राम्रै सम्बन्ध थियो । हिजो चीनसँग नजिक भएकै कारण आज पूर्वराजा ज्ञानेन्द्रले गरिरहेका गतिविधिलाई भारतले नसघाएको जानकारहरू बताउँछन् ।
भारत (खासगरी सत्तारुढ दल भाजपा)ले नेपालमा हिन्दु राष्ट्र चाहन्छ, तर त्यो जस ज्ञानेन्द्रलाई दिन चाहँदैन । केही समयअघि ज्ञानेन्द्र शाहले भुटानको भ्रमण गरे । भारत र भुटानबिच राम्रो सम्बन्ध छ । त्यसैले ज्ञानेन्द्रले आफ्ना कुरा भुटानमार्फत भारतलाई भन्नका लागि त्यो भ्रमण गरेको कूटनीतिक क्षेत्रका विज्ञको बुझाइ छ ।
बीपी कोइरालालाई पनि भारतले रुचाउँदैनथ्यो । भारतलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न बीपीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्ने गरेका थिए । विदेश मामिलाका जानकार एवं एमाले पार्टीका विदेश विभाग सदस्य गोपाल खनालले आफ्नो एक लेखमा उल्लेख गरेका छन्— भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा बीपी कोइरालालाई प्रधानमन्त्रीबाट अपदस्थ गरिएको थियो । नेपाललाई इजरायलले मान्यता दिएपछि बीपीप्रति भारतको निकै चित्त दुखाइ थियो ।
त्यो बेलादेखि बीपी चाइना निकट भएका थिए र भारतसँग उनको सम्बन्ध सुमधुर हुन सकेन । बीपीसँग राम्रो सम्बन्ध नभएकै कारण नेहरूले महेन्द्रलाई अघि सारेको जानकारहरू बताउँछन् ।
गिरिजाप्रसाद कोइराला सक्रिय भएपछि बल्ल भारत र नेपाली कांग्रेसको सम्बन्ध सुधारिन थाल्यो, तर सधैँ भारतले दबाब दिइरहेका कारण गिरिजाप्रसाद पनि त्यति खुसी थिएनन् । अर्कोतिर गिरिजाप्रसादको चीनसँग पनि सम्बन्ध पूरै टुटेको थिएन । चीनसँग सम्बन्ध कायमै राखेर उनी भारतसँग नजिक भएका थिए । प्रधानमन्त्रीका रूपमा दुईपटक र प्रधानमन्त्री नहुँदा पनि पटकपटक उनले चीनको भ्रमण गरे । चीनसँगको परामर्शमै उनले माओवादीसँग भारतमा वार्ता गरेर उसलाई शान्ति प्रक्रियामा ल्याएको सन्दर्भ पत्रकार सुधीर शर्माको पुस्तक ‘हिमालपारिको हुरी’मा उल्लेख छ ।
२०६२/०६३ को जनआन्दोलनपछि पनि चीनसँग गिरिजाप्रसादको सम्बन्ध राम्रो थियो । त्यतिबेला चीनबाट पनि उच्चस्तरीय भ्रमण भएका थिए । जुन कुरा भारतलाई मन परेको थिएन । भारतबाट असहयोग भएको अनुभूति गर्न थालेपछि उनी चीनसँग झनै निकट भए । त्यसका लागि उनले छोरी सुजाता कोइरालालाई अघि सारेका थिए । सुजाताले पटकपटक चीनको भ्रमण गर्दै विभिन्न आयोजना समेत ल्याएकी थिइन् ।
सुधीर शर्माको उपरोक्त पुस्तक अनुसार, आफू प्रधानमन्त्री भएकै बेला भारतले आफूलाई सिक्किमका लेन्डुप दोर्जेजस्तो बनाउन खोजेको गिरिजाप्रसादले बताएका थिए ।
चीनसँग निकट देखेर भारतले संविधानसभा चुनावमा सहयोग गर्छ भन्ने बुझाइ कोइरालाको थियो, तर त्यतिबेला कोइरालाको ‘चाइना कार्ड’ले काम दिएन । चीनसँगै सम्बन्ध बनेकै कारण गिरिजाप्रसाद राष्ट्रपति बन्न नसकेको कतिपयको बुझाइ छ ।
त्यसपछि आएका शेरबहादुर देउवाले भारत–चीनलाई लिएर कहिल्यै जोखिम मोलेनन् । चीनले कहिले पनि देउवालाई आफ्नो बनाउनेतिर लागेन । त्यसैले त देउवापत्नी डा. आरजु राणाले परराष्ट्रमन्त्री बनेको ६ महिनासम्म चीन भ्रमण गरेकी छैनन् ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको तयारीका लागि चीन जान भने पनि राणाले इच्छा देखाइनन् । उनी जापान हुँदै चीन जाने तयारीमा छन् । मंसिर १४ गते उनी चीन पुग्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण मंसिर १७ गतेदेखि हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड