मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’

मङ्गलबार, ११ मङ्सिर २०८१, १० : ०९
मङ्गलबार, ११ मङ्सिर २०८१

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई ‘चाइना कार्ड’ भनेपछि विभिन्न प्रश्न उब्जिएका छन् । अर्कोतिर, ओली र प्रचण्डका बिचमा यो विषयलाई लिएर अझै घोँचपेच जारी छन् । के हो त चाइना कार्ड वा इन्डिया कार्ड ? यो कसरी प्रयोग हुन्छ ? रातोपाटीले माओवादी केन्द्रका विदेश विभाग उपप्रमुख राम कार्कीलाई यिनै प्रश्न राखेको छ । 

  • हाम्रो देशका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण प्रायः विवादमा आउँछ, त्यस्तो किन हुन्छ ? 

यसको मुख्य कारण के हो भने नेपालसँग आफ्नो मौलिक विकासको रणनीति छैन । नेपालका कुनै पनि राजनीतिक दलले जनता र अन्तर्राष्ट्रिय समुदायले बुझ्ने गरी कहिल्यै पनि आफ्ना प्राथमिकता अगाडि राख्न सकेका छैनन् । यस्तो अवस्थामा शक्ति राष्ट्रहरूले आफ्ना प्राथमिकताहरू लाद्ने गरेका हुन्छन् । 

हामीलाई चामल र नुन आवश्यक छ तर अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो भन्टा बेच्नु छ भने उनीहरुले तिमीलाई भन्टा आवश्यक छ भनिदिन्छन् । नेपालका नेताले पनि त्यसैमा ‘हो हो’ गरे भने त्यसैले प्राथमिकता पाउँछ । नेपाली राजनीतिक दलहरूको आफ्नो कुनै प्राथमिकता छैन । त्यही भएर पटकपटक यस्तो हुने गरेको छ । 

नेपाली राजनीति तदर्थवादमा चलिरहेको छ । नेपालले आफ्नो विकासको रणनीति तयार नगरेका कारण हरेक ठाउँमा चुकिरहेको छ । आफ्नो रणनीति बनायो भने कुनै पनि देशले कुनै पनि प्रकारको दबाब दिन सक्दैनन् । 

  • हामीकहाँ प्रधानमन्त्री बनिसकेपछि भारत र चीनमध्ये जुन देशको भ्रमण पहिला गरे पनि बहसको विषय बन्छ— भारत नगएर चीन किन गएको ! वा, चीन नगएर भारत किन गएको ! के भ्रमणमा पनि आफ्नो प्राथमिकता तय गर्नुपर्ने हो ? 

यो प्राथमिकताको कुरा होइन, आवश्यकता अनुसार प्रधानमन्त्री जुनसुकै देश जान सक्छन् ।

हामीकहाँ प्रधानमन्त्रीले गर्ने भारत र चीनको भ्रमणलाई लिएर टीका–टिप्पणी हुनुको पछाडि खास पृष्ठभूमिले पनि काम गरेको छ । हिजो चीन एकदमै कमजोर थियो, त्यतिबेला ऊ अन्तर्राष्ट्रिय रूपमा भूमिका खेल्ने अवस्थामा थिएन । त्यतिबेला जापान, फ्रान्सलगायत देशले चीनलाई लुटे पनि । 

यता, नेपाल चीन र भारतबाट घेरिएको छ । चीन कमजोर रहेका बेला हामीसँग धेरै अप्सन थिएन । त्यतिबेला हाम्रो सम्पूर्ण सम्बन्ध दक्षिणको ब्रिटिस इन्डियासँग मात्र रहन गयो । त्यहीबेलादेखि सम्बन्ध एकोहोरियो । त्यही बेलादेखि एउटा परम्परा बन्यो कि हाम्रो विदेश भनेको भारत हो । त्यतिबेला समुद्रपारिका देशहरूले पनि नेपाललाई भारतको दृष्टिले हेर्न थाले । अहिले पनि कतिपय देशका दूतावास दिल्लीमा छन्, जसले नेपालका लागि पनि काम गरिरहेका छन् । 

चीन र भारत जति शक्तिशाली हुन्छ, हामीलाई त्यति नै फाइदा हुन्छ । 

पछि विभिन्न देशसँग नेपालको सम्बन्ध बन्दै गयो । त्यसले गर्दा अरु देशहरूको पनि यहाँ चहलपहल बढेका छन् । विभिन्न देशका कूटनीतिक नियोग तथा दूतावास खुलेका छन् । तर सुरुदेखि भारतसँग विशेष सम्बन्ध रहेका कारण अहिले पनि त्यही चलिरहेको जस्तो देखिन्छ र मान्छेले पनि त्यही नजरबाट हेर्न चाहेको देखिन्छ । तर अवस्था पहिलाको जस्तो छैन । 

  • चीन शक्तिशाली भएपछि उसले नेपालमा पनि आफ्नो प्रभाव देखाउन थाल्यो । त्यसपछि नेपालका प्रधानमन्त्री, मन्त्रीहरू चीन भ्रमण गर्न थाले । अनि बेला–बेला इन्डिया कार्ड र चाइना कार्ड कुरा आउन थाले । वास्तवमा के हो चाइना र इन्डिया कार्ड भनेको ?

यो आफ्नो मनोविनोद मात्र हो । किनभने चीन र भारत अर्बौं डलरको व्यापारमा संलग्न छन् । उनीहरूका बिचमा बेलाबेला घच्याकघुचुक पनि हुन्छ । तर उनीहरूले यति विराट् व्यावसायिक सम्बन्ध बनाएका छन् कि त्यसको अगाडि नेपाल केही होइन । अहिले पनि उनीहरू सीमा विवादमा केही समझदारी गरेर अगाडि बढेका छन् तर हामी भारत कि चाइना भनेर लडिरहेका छौँ । 

हामीले चीनका विरुद्धमा भारतलाई प्रयोग गर्ने, भारतका विरुद्धमा चीनलाई प्रयोग गर्ने सपना देख्नु भनेको सोम शर्माको ‘सातुको कथा’जस्तै हो । सम्बन्ध त हामीले दुवै देशसँग राख्नुपर्छ । हामीले कसैलाई कसैको विरुद्ध प्रयोग गर्ने कल्पनासम्म गर्नुहुँदैन । विगतमा ती देशसँग युद्ध भएको छ, तर आजका दिनमा ती देश विकसित तथा शक्तिशाली राष्ट्र बनेका छन्, तिनबाट हामीले फाइदा लिनुपर्छ । चीन र भारत जति शक्तिशाली हुन्छ, हामीलाई त्यति नै फाइदा हुन्छ । 

  • त्यसो भए तपाईंका पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘चाइना कार्ड’ किन भन्नुभयो त ? 

यो माथिल्लो लेभलको कुरा हो । उहाँले आफ्नो लेभलबाट के बुझ्नुभएको छ, उहाँले यस्तो किन भन्नुभयो, त्यो मलाई थाह भएन । यो बिचमा उहाँसँग भेरो भेट पनि भएको छैन । तर भारतकै पत्रिकामा यो भ्रमणसम्बन्धी अन्तर्वार्ता दिँदा अलि सजग भएर दिँदा राम्रो हुन्थ्यो । हाम्रो अध्यक्ष र ओलीका बिचमा तितो–मिठो सम्बन्ध छ । कहिले अति नै मिल्नुहुन्छ, कहिले एक अर्कालाई दुश्मनजस्तो व्यवहार गर्नुहुन्छ । त्यसैले उहाँले एक अर्कामाथि यस्ता टिप्पणी गरिरहनुहुन्छ, तर यस्ता टिप्पणी गर्दा दुवै तर्फबाट सजगता अपनाउन आवश्यक छ । 

उहाँहरू (एमालेजन) आफूलाई कम्युनिस्ट भन्नुहुन्छ, तर हाम्रो समाज हेरी कम्युनिस्ट पार्टीको प्राथमिकता के हुनुपर्छ भन्नेदेखि उहाँहरू सैयौँ कोश टाढा हुनुहुन्छ । शिक्षाको दर्शन फेर्ने प्रणाली कहिल्यै पनि उहाँहरूको प्राथमिकतामा रहेन ।
  • दुईजना अध्यक्षका बिचमा यस्तो हुनु स्वाभाविक हो जस्तो गरी यहाँको भनाइ आयो । तर हाम्रा कुनै दल भारत पक्षमा त कुनै दल चीनको पक्षमा, कुनै नेता प्रो–इन्डियन त कुनै नेता प्रो–चाइनिज देखिन्छन्, यस्तो किन ? 

आफ्नो राष्ट्रप्रतिको प्रतिबद्धताको कमीले गर्दा यस्तो भएको हो । पहिला त हामी नेपालवादी हुनुपर्‍यो । नेताहरू देशको हितलाई छाडेर बाहिर–बाहिर कुदेका देखिन्छन् । कहिले चीनको कुरा गर्ने, कहिले अमेरिकाको कुरा गर्ने, कहिले भारतको । हामी राष्ट्रवादी हौँ भने नेपालको फाइदामा कुरा गर्नुपर्छ । अरु देशको पक्षमा वा विपक्षमा उभिनु हुँदैन । नेपाली जनतालाई केन्द्रमा राखेर विदेशनीति बनाइयो भने सबै देशसँग उस्तै सम्बन्ध रहन्छ । आफ्नो स्वार्थ मात्र हेरियो भने कसैको न कसैको कार्ड बन्नैपर्छ । 

  • प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै हुनुहुन्छ, आजसम्म भ्रमणको एजेन्डा तय भएको छैन, किन होला ?

उहाँहरू (एमालेजन) आफूलाई कम्युनिस्ट भन्नुहुन्छ, तर हाम्रो समाज हेरी कम्युनिस्ट पार्टीको प्राथमिकता के हुनुपर्छ भन्नेदेखि उहाँहरू सैयौँ कोश टाढा हुनुहुन्छ । शिक्षाको दर्शन फेर्ने प्रणाली कहिल्यै पनि उहाँहरूको प्राथमिकतामा रहेन । नेपालका शिक्षामा अहिले पनि पितृसत्तात्मक कुरा छन्, जाति व्यवस्थाका कुरा छन्, यी कुरा हटाउने एजेन्डा खै त ! जनस्वास्थ्यको कुरा कहिले प्राथमिकतामा रहेन । आफ्नो प्राथमिकता नै तय गर्न नसक्ने नेताले विदेशमा गएर केही गर्छन् भन्ने आस गर्नु बेकार हो । 

  • त्यसो भए तपाईंको विचारमा प्राथमिकता नै स्पष्ट नभएका कारण बीआरआर्ईमा विवाद आएको हो त ?

बीआरआईप्रति हामीले प्रतिबद्धता जनाइसकेका छौँ । बीआरआई सैन्य गठबन्धन होइन, त्यो कुरा चीनले हामीसँग स्पष्ट गरेको छ । जुन कुरामा अस्पष्टता छ त्यो कुरा चीनसँग नेपालले निर्धक्क भएर राख्नुपर्छ र स्पष्ट हुनुपर्छ । मुख्य कुरा के हो भने चीनले बीआरआर्ईको एउटा पोलिसी बनायो, भारतले एउटा पोलिसी बनाउँछ, त्यसमा आफ्नो धारणा राख्ने खोइ हाम्रो पोलिसी ? खोइ हाम्रो प्राथमिकता ? 

पहिला ऋण भनेर सम्झौता गर्ने, अहिले त्यसलाई अनुदान बनाइदिनुस् भनेर हुँदैन । त्यो त चीनले देखाउने सदासयता हो ।

मान्नुस् चीनले मुस्ताङ हुँदै एउटा ठुलो राजमार्ग बनायो । उसले त त्यो राजमार्ग भारत, बगंलादेश र पाकिस्तानको बजार हेरेर बनाउँछ, नेपाल हेरेर बनाउने होइन । हामीले पाउने के त ? न हामी केही बेच्न सक्छौँ, न त हामी केही किन्न सक्छौँ । पोखरा र भैरहवाको एयरपोर्ट चीनको सहयोगमा बनायौँ, तर अहिले भारतका कारण जहाज उडाउनै सकिँदैन भनिन्छ । के यस्तो हुन्छ भने नेताहरूलाई पहिलादेखि थाह थिएन वा एयरपोर्ट बनाएपछि के के लफडा आउन सक्छ के समस्या आउँछन् भन्ने कुरामा किन अध्ययन गरेन ? त्यसैले हामी हाम्रो प्राथमिकता स्पष्ट गर्नुपर्छ । हाम्रो प्राथमिकता स्पष्ट भएपछि यस्ता बीआरआईका लफडा आफैँ समाधान हुन्छ । 

  • तपाईंका पार्टीका अध्यक्ष प्रचण्डले त स्पष्ट भन्नुभएको छ कि बीआरआईको परियोजना ऋणमा होइन अनुदानमा चाहिन्छ, योभन्दा अर्को स्पष्टता अरु के चाहिन्छ ? 

पहिला ऋण भनेर सम्झौता गर्ने, अहिले त्यसलाई अनुदान बनाइदिनुस् भनेर हुँदैन । त्यो त चीनले देखाउने सदासयता हो । त्यसका लागि अरु च्यानल प्रयोग गर्नुपर्छ । नेताहरूले बोलेर मात्र हुँदैन । अनुदान नै चाहिन्छ भने त्यसका लागि विभिन्न च्यानल प्रयोग गरेर कुरा गर्नुपर्छ । नेपाल आफैँ अलमलमा छ । बीआरआई के हो भन्ने कुरा शीर्ष नेताहरूले नै भनिरहेका छन् । कुरा नबुझेर बीआरआईमा एमओयु गरेको हो, नबुझेर गरेको हो भने त्यो अपराध हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप