थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
चलचित्र ‘तेल भिसा’मा अभिनेत्री वर्षा राउत र अभिनेता विपिन कार्की श्रीमान्–श्रीमतीको भूमिकामा छन् । यो फिल्मको छायाङ्कनकै क्रममा वर्षा र विपिनलाई एक बुढीआमाले आशिर्वाद दिएकी थिइन्– ‘तिमीहरूको जोडीलाई फलिफाप होस् ।’
विपिन र आफ्नो केमेस्ट्री फिल्मको छायाङ्कनमै एक प्रकारले अनुमोदित भएको वर्षाको बुझाइ छ । ‘बुढीआमाले छायाङ्कन कै क्रममा हामीलाई रियलकै जोडी ठानेर आशिर्वाद दिनुभएको थियो,’ ‘तेलभिसा’को गीत ‘कति रमाइलो’को छायाङ्कनका क्रममा भएको रमाइलो किस्सा सुनाउँदै वर्षाले भनिन् ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा वर्षा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । छोराको सन्तान स्याहार्न अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलालाई कथा बनाएर फिल्म निर्माण भएको हो ।
फिल्ममा आफ्नो भूमिका खुलाउँदै वर्षाले अमेरिका बस्दै विवाहित महिलाको चरित्र आफूले निर्वाह गरेको सुनाइन् ।
फिल्ममा विपिन र वर्षा जोडीका रूपमा देखिएको यो पाँचौँ फिल्म हो । यसअघि ‘जात्रा’ सिरिजको तीन शृङ्खला र ‘के घर के डेरा’मा पनि उनी विपिनको श्रीमतीकै भूमिकामा देखिएकी थिइन् ।
धेरै फिल्ममा आफूहरू जोडी बनेर देखिएका कारण पनि ‘तेल भिसा’ को छायाङ्कनका क्रममा ती बुढी आमाले आफूहरूलाई दम्पतीकै रूपमा लिएर आशिर्वाद दिएका हुन सक्ने वर्षाको बुझाइ छ ।
‘फिल्ममा लगातार विपिनको श्रीमतीको रूपमा देखिनु संयोग हो’, वर्षाले भनिन्, ‘मेरो श्रीमान् पनि मिडियामा आइरहने भएकाले धेरैजसोलाई मेरो रियल लाइफको बारेमा थाहा छ ।’
फिल्म ‘तेल भिसा’को व्यवसायमा उछाल देखिएको छैन । यद्यपि, औसतमा यो फिल्मले दर्शक पाइरहेको छ । फिल्मबारे प्रतिक्रिया पनि ठिकठाक पाइरहेको वर्षा बताउँछिन् ।
‘जतिले अहिलेसम्म फिल्म हेरेका छन्, उनीहरूले फिल्म राम्रो बनेको रहेछ भनेर प्रतिक्रिया दिइरहेका छन्,’ वर्षाले भनिन्, ‘समय सान्दर्भिक कथा रहेछ भनेका छन् ।’
शंकर घिमिरे निर्देशित फिल्ममा ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको समेत अभिनय छ । एक दशकपछि शंकरले यो फिल्ममार्फत निर्देशनमा ‘कम ब्याक’ गरेका हुन् ।
वर्षा पछिल्लो समय फिल्मको कथावस्तु अध्ययन गरेरमात्र अभिनय गर्ने कि नगर्ने भन्ने निधो गर्छिन् । उनी पहिला फिल्मको स्क्रिप्ट हेर्छिन् । त्यो राम्रो लागेपछि त्यसमा जोडिएको कलाकार । यी दुवै कुरा चित्त बुझेपछि पारिश्रमिक फाइनल गर्छिन् उनी । उत्कृष्ट कथा र टिमको अगाडि पारिश्रमिकले खासै अर्थ नराख्ने उनी बताउँछिन् ।
ऋचा घिमिरेको निर्माण रहेको फिल्मको कथाबस्तु राम्रो लागेर आफूले अभिनय गरेको वर्षा बताउँछिन् । ‘यो फिल्मको कथा धेरै मानिससँग मिल्छ । किनभने धेरैको परिवार विदेशमा हुनुहुन्छ’, वर्षाले भनिन्, ‘कतिले त आफूले भोगेको जस्तो फिल्म भएको पनि भनेका छन् ।’
एक समय वर्षाको वर्षमै २/३ फिल्म आउँथ्यो । यो वर्ष उनको ‘तेल भिसा’ पहिलो हो । यसअघि गत चैतमा उनको ‘महाजात्रा’ आएको थियो । राम्रो फिल्ममा काम गरौँ भन्दा सङ्ख्या थोरै भएको उनी बताउँछिन् ।
‘मिडियाले किन फिल्म थोरै गरेको ? फिल्म नै पाउन छाडेको हो र ? भनेर प्रश्न गर्छन् जथाभावी खेल्नु पनि भएन’, वर्षाले भनिन्, ‘अहिले सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिन थालेको छु ।’
फिल्म रिलिजको समय अभिनेत्रीको राम्रो चर्चा हुने गरेको छ । केही सयदेखि वर्षाको हकमा भने यो लागु भएको देखिन्न । न ‘महाजात्रा’ रिलिजमा उनको चर्चा देखियो, न अहिले ‘तेल भिसा’ ।
‘महाजात्रा’ रिलिजको समय ‘मेयर’को सुटिङ र अहिले घरायसी कारणले रिलिजको बेला समय दिन नसक्दा चर्चा कम भएको वर्षा सुनाउँछिन् । ‘यो दुई फिल्मको रिलिज समय म हलमा पुग्न पनि पाइनँ,’ उनले भनिन् ।
वर्षा पछिल्लो समय फिल्मको कथावस्तु अध्ययन गरेरमात्र अभिनय गर्ने कि नगर्ने भन्ने निधो गर्छिन् । उनी पहिला फिल्मको स्क्रिप्ट हेर्छिन् । त्यो राम्रो लागेपछि त्यसमा जोडिएको कलाकार । यी दुवै कुरा चित्त बुझेपछि पारिश्रमिक फाइनल गर्छिन् उनी । उत्कृष्ट कथा र टिमको अगाडि पारिश्रमिकले खासै अर्थ नराख्ने उनी बताउँछिन् ।
अहिलेसम्मको अभिनय यात्रामा निकै खुसी रहेकी वर्षाको एकपछि अर्काे फिल्ममा फरक भूमिका गर्ने सोच छ । अभिनयमा धेरै पछिसम्म सम्झिने भूमिकाको पर्खाइमा छिन् उनी । त्यस्तो भूमिका पाएँ भने अझै राम्रो गर्न सक्छु भन्ने लाग्ने गरेको उनले सुनाइन् ।
वर्षा अभिनयको अलावा व्यवसायमा पनि आवद्ध छिन् । उनको काठमाडौँका केही स्थानमा ‘चिया अड्डा’ नामक चिया व्यवसाय छ । कतिले वर्षाको फिल्म थोरै हुनुमा व्यवसायलाई पनि कारकका रूपमा लिने गरेका छन् । तर, उनी भने व्यवसायले अभिनय करियरमा केही असर नगरेको बताउँछिन् । आगामी दिनमा व्यवसाय र अभिनय यसैगरी अगाडि बढाउने उनको सोच छ ।
अहिले कतिपय अभिनेत्री निर्माता भइसके । वर्षाको पनि निर्माणमा आउने सोच छ । श्रीमान् संजोग कोइरालाले पनि फिल्म निर्माणमा उनलाई घचघच्याइरहेका छन् । ‘अहिले बुझ्दै र सिक्दैछु,’ वर्षाले भनिन्, ‘पछि आउन पनि सक्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म