मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म

मङ्गलबार, ११ मङ्सिर २०८१, ०० : ००
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१.चीनसँग ऋण सम्झौता गर्दिन : प्रधानमन्त्री ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए । 

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे चर्चा चलिरहे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकमा त्यसबारे निर्णय भएन । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई चीन भ्रमणको स्वीकृति दिएको छ । 

२. धितोपत्र बोर्डले ११ महिनापछि बल्ल पायो अध्यक्ष
नेपाल धितोपत्र बोर्डले ११ महिनापछि बल्ल अध्यक्ष पाएको छ । व्यावसायिक पृष्ठभूमि भएका सन्तोषनारायण श्रेष्ठ बोर्डको अध्यक्ष नियुक्त हुन् । सिफारिस समितिले उनीसहित बोर्डका दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई सिफारिस गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठले वित्तीय क्षेत्रमा दख्खल राख्छन् । उनी केही महिना अघिसम्म तिलोत्तममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको अध्यक्षको रुपमा काम गर्थे । यसमा श्रेष्ठले करिब ७ वर्ष अध्यक्षको रुपमा काम गरे । सन् २०१३–२०१६ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य रहेका श्रेष्ठले नेपाल एक्सप्रेस फाइनान्सको १० वर्षसम्म नेतृत्व गरेका थिए । 

३. मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारी रिहा
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई सोमबार रिहा गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर नगर्ने निर्णय गरेको हो । ‘क्लिन चिट’ पाएसँगै उनी सोमबार रिहा भएका हुन् । 

४. बीआरआई कार्यान्वयनको पक्षमा प्रधानमन्त्रीलाई सुझावस कांग्रेसको फरक मत
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सुझाव दिइएको छ । प्रधानमन्त्री ओलीले सोमबार चीन भ्रमणबारे सुझाव लिन पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूलाई बोलाएका थिए । अधिकांशले बीआरआई कार्यान्वयनका लागि सुझाव दिए पनि नेपाली कांग्रेसले भने फरक मत राखेको छ । उसले सहयोग लिनुपरे बीआरआईमार्फत नभएर छुट्टै दुई पक्षीय सम्झौता गरेर पनि लिन सकिने प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

५. रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौँ ल्याउने तयारी भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । 

६. वालेटका कर्मचारीको ‘कनेक्सन’ सट्टेबाज गिरोहसँगस सेवाग्राहीको विवरण दुरुपयोग
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर डिजिटल वालेट कम्पनीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीको विवरण दुरुपयोग गरेको भेटिएको छ । सेवाग्राहीले बुझाएको नागरिकता र फोटो वानएक्स बेटिङ खेलाउने गिरोहलाई दिएर नयाँ खाता खोल्ने फारम स्वीकृत गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना वालेटका कर्मचारीलाई पक्राउ गरेको छ ।

 

७. माछामा आत्मनिर्भर हुने सुदूरपश्चिम सरकारको नाराप्रति किसानले देखाए खोट
सुदूरपश्चिम प्रदेश सरकारले माछामा आत्मनिर्भर हुनेमात्र नभई निर्यात गर्ने लक्ष्य राखे पनि व्यावसायिक माछापालक किसान भने सरकारको नियतमाथि नै खोट देखाउँछन् । सुदूरपश्चिम प्रदेश अहिले नै माछामा आत्मनिर्भर रहेको भन्दै किसानहरू भारतीय माछा भित्र्याउनकै लागि प्रदेश सरकारले माछामा आत्मनिर्भर नभएकोजस्तो प्रचार गरिरहेको आरोप लगाउँछन् । यस सम्बन्धमा रातोपाटीले तयार पारेको विशेष सामग्री हेर्नुहोस्–

८. नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग ९एनपीएल०को ट्रफी अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको काखमा आयोजित विशेष समारोहका बिच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

९. केन्द्रीय सुरक्षा समितिले पहिचान गरेका यी हुन् अति संवेदनशील मतदान स्थल
गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले आसन्न उपनिर्वाचनका लागि विभिन्न मतदान स्थललाई ‘अति संवेदनशील’ मान्दै आवश्यक सुरक्षा रणनीति तयार पारेको छ ।

१०. पेप्सीले कर छलेको उच्च अदालतको ठहर
नक्कली भ्याट बनाइ राजस्व छलेको ठहर्याउँदै उच्च अदालत पाटनले पेप्सीको नेपालस्थित बिक्रेता वरुण वेभरेज नेपाल प्रालिलाई बिगो रकमसहित जरिवाना र मुख्य भूमिका खेल्ने सञ्चालकलाई कैदसहित जरिवाना हुने फैसला सुनाएको छ ।

११. सुन लुटपाट
रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन लुटपाट भएको र भरियालाई अपहरण गरेको घटनामा प्रहरीको विशेष ब्युरोमा कार्यरत असईलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक सविन तिवारीलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

१२. भएन सहमति 
विगत केही महिनादेखि सेवा सुविधा लगायतका माग राखेर आन्दोलन गर्दै आएका नेपाल वायुसेवा निगमका पाइलटहरू र व्यवस्थापनबिच फेरि पनि सहमति हुन सकेन । सोमबार निगमका कार्यकारी अध्यक्ष, अपरेन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशकसहितको टोलीले अर्थमन्त्री विष्णु पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग पाइलटहरूका मागका विषयमा  छलफल गरे पनि सहमति हुन नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप