आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति

काठमाडौँ । विगत केही महिनादेखि सेवा सुविधा लगायतका माग राखेर आन्दोलन गर्दै आएका नेपाल वायुसेवा निगमका पाइलटहरू र व्यवस्थापनबिच आज पनि सहमति हुन सकेन । सोमबार निगमका कार्यकारी अध्यक्ष, अपरेन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशकसहितको टोलीले अर्थमन्त्री विष्णु पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग पाइलटहरूका मागका विषयमा छलफल गरे पनि सहमति हुन नसकेको हो ।
निगमले एक विज्ञप्ति जारी गर्दै पाइलटहरूले राखेका मागका सन्दर्भमा भने मन्त्रीद्वय पौडेल र पाण्डे निकै सकारात्मक रहेको जनाएको छ । निगमले मंसिर ८ गतेदेखि पर्न गएको असर निकै ठुलो आर्थिक नोक्सानी र संस्थाको साख गिरेको भन्दै यसलाई नेपाल सरकार र निगम व्यवस्थापनले गम्भीर रूपमा लिएको जनाएको छ ।
यसबाट पर्ने आर्थिक लगायतका सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने समेत निगमले स्पष्ट पारेको छ । साथै सम्पूर्ण विमान चालकहरूलाई आफ्नो रोस्टरअनुसार उडानमा संलग्न भई कुनै पनि उडान प्रभावित नगर्न नगराउन हुन समेत निगमले अनुरोध गरेको छ ।