मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म

सोमबार, १० मङ्सिर २०८१, २२ : ००
सोमबार, १० मङ्सिर २०८१

आज २०८१ मंसिर १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रधानमन्त्रीको भ्रमणबारे निर्णय भएन; परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत, मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारी रिहा, बीआरआई कार्यान्वयनको पक्षमा प्रधानमन्त्रीलाई सुझाव; कांग्रेसको फरक मत, रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारी, धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, वालेटका कर्मचारीको ‘कनेक्सन’ सट्टेबाज गिरोहसँग; सेवाग्राहीको विवरण दुरुपयोग लगायत छन् ।

१. प्रधानमन्त्रीको भ्रमणबारे निर्णय भएन, परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे चर्चा चलिरहे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकमा त्यसबारे निर्णय भएन । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई चीन भ्रमणको स्वीकृति दिएको छ । बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

२. मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारी रिहा
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई सोमबार रिहा गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर नगर्ने निर्णय गरेको हो । ‘क्लिन चिट’ पाएसँगै उनी सोमबार रिहा भएका हुन् ।

३. बीआरआई कार्यान्वयनको पक्षमा प्रधानमन्त्रीलाई सुझाव; कांग्रेसको फरक मत
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सुझाव दिइएको छ । प्रधानमन्त्री ओलीले सोमबार चीन भ्रमणबारे सुझाव लिन पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूलाई बोलाएका थिए । अधिकांशले बीआरआई कार्यान्वयनका लागि सुझाव दिए पनि नेपाली कांग्रेसले भने फरक मत राखेको छ । उसले सहयोग लिनुपरे बीआरआईमार्फत नभएर छुट्टै दुई पक्षीय सम्झौता गरेर पनि लिन सकिने प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

४. रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । 

५. धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

६. वालेटका कर्मचारीको ‘कनेक्सन’ सट्टेबाज गिरोहसँग; सेवाग्राहीको विवरण दुरुपयोग
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर डिजिटल वालेट कम्पनीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीको विवरण दुरुपयोग गरेको भेटिएको छ । सेवाग्राहीले बुझाएको नागरिकता र फोटो वानएक्स बेटिङ खेलाउने गिरोहलाई दिएर नयाँ खाता खोल्ने फारम स्वीकृत गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना वालेटका कर्मचारीलाई पक्राउ गरेको छ ।

७. माछामा आत्मनिर्भर हुने सुदूरपश्चिम सरकारको नाराप्रति किसानले देखाए खोट
सुदूरपश्चिम प्रदेश सरकारले माछामा आत्मनिर्भर हुनेमात्र नभई निर्यात गर्ने लक्ष्य राखे पनि व्यावसायिक माछापालक किसान भने सरकारको नियतमाथि नै खोट देखाउँछन् । सुदूरपश्चिम प्रदेश अहिले नै माछामा आत्मनिर्भर रहेको भन्दै किसानहरू भारतीय माछा भित्र्याउनकै लागि प्रदेश सरकारले माछामा आत्मनिर्भर नभएकोजस्तो प्रचार गरिरहेको आरोप लगाउँछन् । यस सम्बन्धमा रातोपाटीले तयार पारेको विशेष सामग्री हेर्नुहोस्–

८. नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको काखमा आयोजित विशेष समारोहका बिच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

९. केन्द्रीय सुरक्षा समितिले पहिचान गरेका यी हुन् अति संवेदनशील मतदान स्थल
गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले आसन्न उपनिर्वाचनका लागि विभिन्न मतदान स्थललाई ‘अति संवेदनशील’ मान्दै आवश्यक सुरक्षा रणनीति तयार पारेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप