मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने

सोमबार, १० मङ्सिर २०८१, २१ : ३८
सोमबार, १० मङ्सिर २०८१

हेटौँडा । गत असोजमा भएको घटना पछि मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने भएको छ । असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीको पहिरोमा परि मृत्यु भएको थियो ।

सो घटनापछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सिस्नेरी एकेडेमीलाई हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीमा स्थानान्तरणको कार्य अघि बढाएको हो । एन्फा एकेडेमी सञ्चालन गर्नेगरी हेटौँडा एकेडेमी र एन्फाबिच १४ वर्ष मुनिका विद्यार्थीहरूलाई फुटबल प्रशिक्षण दिनेगरि सञ्चालन गर्ने सहमति भएको छ । 

यसअघि मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर २ स्थित सिस्नेरीमा रहेको वत्सला माविमा एन्फाको एकेडेमी सञ्चालन गरिएको थियो । उक्त एकेडेमीका ६ जना विद्यार्थी खेलाडीको मृत्यु पछि एकेडेमी बन्द अवस्थामा रहेको थियो ।

आवश्यक पूर्वाधार विना एकेडेमी सञ्चालन गर्दा बाल खेलाडीहरूले ज्यान गुमाउनुपरेको भन्दै सर्वत्र आलोचना भएपछि एन्फाले एकेडेमी सार्न निर्णय गरेको थियो । सोही अनुसार हेटौँडा ११ मा रहेको हेटौँडा एकेडेमीमा आवश्यक पूर्वाधारको व्यवस्था गर्दै एकेडेमी सञ्चालन गर्न सम्झौता भएको एन्फाको केन्द्रीय सदस्य समेत रहेका मकवानपुर अध्यक्ष टीका लामाले जानकारी दिए ।

एन्फाका प्राविधिक निर्देशक हरि खड्काले मकवानपुरको इन्द्रसरोवर २, सिस्नेरीमा रहेको वत्सला माविमा सञ्चालनमा रहेको एन्फा एकेडेमीलाई हेटौँडा एकेडेमीमा स्थानान्तरण गर्ने सहमति भएको जानकारी दिए । एकेडेमीका सञ्चालक र एन्फाबिच लिखित सम्झौता समेत गरिएको उनले बताए ।

उनले एन्फाका तर्फबाट सिस्नेरी एकेडेमीमा रहेकामध्ये २२ जना खेलाडीले हेटौँडा एकेडेमीमा सञ्चालन हुने एकेडेमीमा बसेर अध्ययन र प्रशिक्षण गर्ने बताए । एन्फाका तर्फबाट सिस्नेरी एकेडेमीमा २५ जना बाल खेलाडी रहेकामा २ जनाको पहिरोमा परि ज्यान गएको थियो ।

यसैगरी एकेडेमी सञ्चालन गरिएको बत्सला माविको व्यवस्थापनमा शुल्क लिएर राखेका १५ जनामध्ये पहिरोमा परि ३ जनाको ज्यान गएको र बाँकी रहेका १२ जना विद्यार्थी हेटौँडा एकेडेमीले प्रदान गर्ने सहुलियत शुल्कमा अध्ययन गर्ने भएका छन् ।

एन्फाका प्राविधिक निर्देशक हरि खड्काले सोमबारसम्म एन्फाका १८ जना खेलाडी हेटौँडा एकेडेमीको होस्टेलमा आइपुगेको जानकारी दिए । बाँकी खेलाडीहरू पनि आउने क्रममा रहेको उनले बताए । 

निर्देशक खड्काले सिस्नेरी घटनापछि एन्फा एकेडेमीमा रहेका विद्यार्थीहरूको फुटबल प्रशिक्षणसहित पढाइमा समेत अवरोध पुगेको हुँदा जतिसक्दो चाँडो आफूहरूले खेलाडीहरूको व्यवस्थापन गर्न चाहेको बताए । एकेडेमीले एन्फाको शर्त अनुसारको पूर्वाधार र अन्य व्यवस्थापनमा सहमति जनाएपछि एन्फा एकेडेमीका विद्यार्थीहरूलाई हेटौँडा एकेडेमीमा राख्ने सहमति भएको जानकारी दिए ।

मृतकका परिवारद्वारा घेरिए एन्फा महासचिव राई

सिस्नेरीमा पहिरोमा परि ज्यान गुमाएका विद्यार्थी खेलाडीहरूका परिवारले अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईलगायतका पदाधिकारीहरूलाई घेरेका थिए । आफ्नो असन्तुष्टि व्यक्त गर्न पुगेका मृतक विद्यार्थी खेलाडीका परिवारले महासचिव राई सहितका टोलीलाई घेरेका हुन् ।

सोमबार महासचिव किरण राईसहित एन्फाका प्राविधिक निर्देशक हरि खड्का, मकवानपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य टीका लामा लगायत हेटौँडा एकेडेमीमा एन्फा एकेडेमी सञ्चालनको सम्झौता गर्न पुगेका बखत मृतकका परिवारले उनीहरूलाई घेरेका थिए ।

गत १२ असोजमा पहिरोमा परि ज्यान गुमाएका हेटौँडा १२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र बाराको निजगढका विकल रेग्मीको परिवारले एन्फाका महासचिव राईसहितका पदाधिकारीहरूलाई कहिबेर घेरेर आफ्ना मागहरू पुरा गर्न दबाब दिएका थिए ।

उनीहरुले एकेडेमीका पदाधिकारीहरू विद्यालयभित्र एकेडेमी सञ्चालनका विषयमा छलफलमा रहँदा आफ्ना माग पुरा गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । अभिभावकहरूको नाराबाजीकाबिच जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एकेडेमी परिसरमा प्रहरीसमेत परिचालन गरिएको थियो ।

अनुपमका बुबा ललित घलानले हेटौँडा एकेडेमीमा एन्फाका पदाधिकारीहरू एकेडेमी सञ्चालनका लागि सम्झौता गर्न आएको थाहा पाएपछि आफूहरू त्यहाँ पुगेको र आफूहरूले एन्फा समक्ष विगतमा राख्दै आएको मागको बारेमा पुनः जानकारी गराएको बताए ।

‘हामीले एन्फाका महासचिव किरण राई लगायतलाई भेटेर आफ्नो मागको बारेमा पुनः जानकारी गराएका छौ । उहाँहरूलाई पीडितका तर्फबाट उठेका मागहरूलाई गम्भीरतापूर्वक लिइदिन भन्यौ,’ घलानले भने । उनले एन्फाका अधिकारीहरूलाई भेट्न करिब २ घण्टा विद्यालय बाहिर धर्ना दिनुपरेको बताए । 

उक्त अवसरमा सिस्नेरी घटनाका पीडित परिवार पनि आइपुगेको र एन्फाका महासचिवसँग कुराकानी भएको निर्देशक खड्काले बताए । उनले पीडित परिवारले राखेको कुरामा महासचिवले सहमति जनाएपछि सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।

एन्फाका प्राविधिक निर्देशक खड्काका अनुसार महासचिव राईले मृतक बाल खेलाडीहरूको सालिक निर्माण गर्ने र उनीहरूको नाममा प्रतियोगिता सञ्चालन गर्ने विषयमा यसअघि भएको सहमतिलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप