भैंसेपाटीको हनिट्रयाप घटनामा इन्स्पेक्टर शाहीसहित ६ जना प्रतिवादी
काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
व्यवसायीलाई हनिट्रयापमा पारेर आपराधिक लाभ लिएको कसुरमा इन्स्पेक्टर बिनुकुमारी शाही, सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवलदार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल इस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मा विश्वकर्मालाई प्रतिवादी कायम गरिएको छ ।
आरोपीहरूले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर ३० लाख असुलेका हुन् । आरोपीहरूसँग मिलेको भेटिएपछि इन्स्पेक्टर बिनु शाहीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको थियो । घटनामा उनलाई पनि प्रतिवादी कायम गरिएको छ । ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीले भिमादेवी थापाको खातामा रकम जम्मा गरेको र १० लाखको चेक दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरी उपरीक्षक कमल थापाले सो घटनाका मुख्य योजनाकार तजम्मुल इस्लामलाई भैंसेपाटीमा त्यसबेला कार्यरत इन्स्पेक्टर शाहीलाई भेट्न पठाएको भनिए पनि थापाले सो कुरा अस्वीकार गरेका छन् । सीआईबीले गरेको बयान कागजमा थापाले भनेका छन्– ‘इन्स्पेक्टर शाहीलाई मुद्दा मिलाउन सिफारिस गरेको थिइन् ।’
सुनसरीमा इन्चार्ज भएर बस्दा ताज सँग चिनजान भएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर कफी खाएको थापाले स्वीकार गरेका छन् । उनले भनेका छन्– ‘विमानस्थलस्थित चिकेन स्टेसनमा ताजसँगको भेट एउटा कफी खाउन्जेल मात्र भएको हो, त्यसबेला कुनै पनि मुद्दासम्बन्धी कुरा भएको थिएन ।’
इन्स्पेक्टर शाहीसँग कञ्चनपुर बस्दा चिनजान भएको र पारिवारिक हिसाबले कुराकानी हुने गरेको थापाले ‘घटना विवरण कागज’मा खुलाएका छन् । इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाक धम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ ।
कमल थापाले गरेको घटना विवरण कागज : उल्लेखित मुद्दामा सम्बन्धित रहेका ताजमुल भन्ने तजम्मुल इस्लाम र प्रहरी निरीक्षक बिनुकुमारी शाही सँग मात्र मेरो चिनजान छ । तजम्मुल इस्लाम म जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रहँदा राष्ट्रिय अनुसन्धान कार्यालयमा सूचकको रूपमा काम गर्थे । उनले विभिन्न अपराध तथा घटनाहरूको सुराकी दिने काम गर्थे ।
कहिलेकाहीँ उसले सम्पर्क गर्दा सामान्य कुराकानी हुन्थ्यो । प्रनि बिनुकुमारी शाही र म जिप्रका. कञ्चनपुरमा कार्यरत रहँदा चिनेको हुँ । मैले हाल सम्म बसेका विभिन्न जिल्लाहरूका व्यक्तिहरू, विभिन्न पेसासँग सम्बन्धित परिचितहरू तथा आफन्तहरूले प्रहरीसँग सम्बन्धित केसहरूमा नेपालभरिकै कुनै समस्या पर्दा भन्ने गर्छन् ।
त्यस्तो बेला उपयुक्त स्थानमा मैले सक्ने समाधानका सल्लाह र आवश्यक परे सम्बन्धित कार्यालयमा अनुरोध गरी सहयोग गर्ने गरेको छु । सुस्मा विक र इन्द्रकुमार राईकै समस्याको विषयमा भैसेपाटीमा जाऊ भनी भनेको मलाई यकिन छैन तर, महिला बालबालिकासम्बन्धी समस्या आउँदा सम्बन्धित जिल्ला, इलाकाहरू र काठमाडौँमा भए प्रहरी वृत्त कालीमाटी वा ललितपुरमा जानु भन्ने सल्लाह म सबैलाई दिने गर्छु ।
ताजले फोन गर्दा कुनै प्रहरी कार्यालयमा तोकेर जानु भनी भनेको छैन । कसैले कुनै समस्या लिएर आए पनि सम्बन्धित कार्यालय र निकायमा पुगी सकेपछि त्यसभित्रको अन्तर निहित कुराहरूलाई पुनः मलाई सोधिएको भन्ने विषय आफैँमा बेअर्थको छ ।
आपसी सहमतिको विषय छलफलमा बसेको व्यक्तिहरूलाई मात्रै थाहा हुने भएकोले कुन प्रसङ्गमा पैसाको कुरा आएको हो त्यो मलाई थाहा भएन र मैले त्यस्तो कुरामा राय दिनुको पनि कुनै अर्थ हुँदैन । मैले ताजलाई कसैसँग चिनजान गराएको छैन । भैसेपाटी बस्ने गणेश उप्रेतीसँग उहाँहरूको के सम्बन्ध हो के के व्यवहार भएको थियो मलाई थाहा छैन । विदुर शर्मा, सुदिप कार्की दर्शन पोख्रेल नामक व्यक्तिहरू कसैसँग मेरो चिनजान छैन ।
प्रहरी निरीक्षक बिनुकुमारी शाहीको नम्बरमा मेरो नियमित सम्पर्क हुन्थ्यो । गत फागुन महिनाअघि हामी कञ्चनपुरमा सँगै कार्यरत थियौँ । उनको परिवार र मेरा परिवारको सबैसँग चिनजान छ । म टंगालमा कार्यरत रहेको र मेरो बसाई पेप्सीकोला तिर भएको हुँदा कार्यालय छुटेपछि एयरपोर्ट आसपासमा भेट्ने र चियागफ गर्ने गर्दथेँ ।
ताजमुल भन्ने तजम्मुल इस्लामलाई चिकेन स्टेसनमा भेटेको हुँ । मलाई प्रविधिको अलि अलि जानकारी छ त्यसैले कुनै गलत कार्य गर्नुपर्ने भएको भए सिसिटिभीको सामुन्ने कसैसँग भेटघाट गर्ने थिइन् । उक्त दिन ताजसँगको भेट एउटा कफी खाउन्जेल मात्र भएको हो । त्यो समय कुनै पनि मुद्दा सम्बन्धी कुरा भएको थिएन । सामान्य हालखबरका कुराहरू भएको थियो ।
त्यो भेटेको समय उसको फोनहरू आइरहने भएकोले कुनै विषयमा सिलसिलेवार गफ भएको थिएन । त्यो दिन इन्द्र राई र सुस्मा वि.क. सम्बन्धी मुद्दाको विषयमा कुनै कुरा भएको थिएन । यो विषयमा मैले भैसेपाटीको प्र.नि.लाई भनी मुद्दा मिलाउने सिफारिस पनि गरेको थिइन । इन्द्र राई र सुस्मा विकको उजुरी सम्बन्धमा के–कस्तो विषय थियो र के–कसरी सहमति भयो (मिल्यो) भन्ने मैले जानकारी पनि पाइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
-
नेपाल भारत सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै
-
प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपे : महासचिव पोखरेल
-
दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार
-
राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै