अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
काठमाडौँ । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली भारत विजयी भएको छ । पहिलो टेस्टको चौथो दिन सोमबार भारतले घरेलु टोली अस्ट्रेलियालाई दुई सय ९५ रनको विशाल अन्तरले हराएको हो ।
पाँच सय ३४ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलिया चाथो दिन सोमबार आफ्नो दोस्रो पालीमा केवल दुई सय ३८ रन बनाउँदै अलआउट भयो । जितसँगै भारतले पाँच टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
दोस्रो पालीमा पनि माथिल्लो क्रमका अस्ट्रेलियन ब्याट्सम्यानहरुको प्रदर्शन भने बिर्सनलायक रह्यो । घरेलु टोली अस्ट्रेलियाले तीन विकेटको नोक्सानीमा १२ रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएको थियो ।
अस्ट्रेलियाका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका ट्राभिस हेडले सर्वाधिक ८९ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी आठ चौका पनि हिर्काए । ३० वर्षीय हेडले टेस्ट क्रिकेटमा बनाएको यो १७ औँ अर्धशतक हो ।
सातौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्सले पनि टोलीको खातामा ४७ रन थपे । मार्सले ६७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । स्टिभन स्मिथ भने १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
माथिल्लो क्रमका चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका ओपनर नाथन म्याकस्विनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर उस्मान ख्वाजा पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान प्याट कमिन्स पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान मार्नस लाबुशेन पनि तीन रन बनाउँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले ३६ रन बनाए । मिचेल स्टार्कले १२ रन बटुले ।
अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २४ रन पायो । दोस्रो पालीमा भारतीय टोलीका बलर जसप्रित बुमराहले तीन विकेट लिए । उनले १२ ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिए । मोहम्मद सिराजले पनि तीन विकेट हात पारे । उनले १४ ओभरमा दुई मेडन राख्दै ५१ रन खर्चिए । वासिङ्टन सुन्दरले दुई तथा हर्षित राणा र नितिषकुमार रेड्डीले एक–एक विकेट लिए ।
त्यसअघि पहिलो टेस्टको तेस्रो दिन आइतबार ६ विकेट गुमाएर चार सय ८७ रन बनाउँदै भारतले आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । दोस्रो पालीमा भने भारतीय ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतका लागि दुई ब्याट्सम्यान यशस्वी जैसवाल र विराट कोहलीले शतकीय तथा केएल राहुलले अर्धशतकीय पाली खेलेका थिए । जशस्वी र केएल राहुलले ओपनिङ विकेटका लागि दुई सय एक रनको साझेदारी गरेका थिए ।
जैसवालले एक सय ६१ रन बनाए । लामो समय क्रिजमा टिकेका उनले दुई सय ९७ बलको सामना गरी तीन छक्का र १५ चौका पनि हिर्काए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक पनि हो ।
सन् २०२४ मा जैसवालले प्रहार गरेको यो तेस्रो टेस्ट शतक पनि हो । जैसवाल २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गर्ने पाँच भारतीय ब्याट्सम्यानको सूचिमा पनि सामेल भएका छन् । उनले २२ वर्ष तीन सय ३२ दिनको उमेरमा यस्तो उपलब्धि हासिल गरेका हुन् ।
जैसवालका अतिरिक्त हालसम्म रवी शास्त्री र सचिन तेन्दुल्करले २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गरेका छन् । २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष सबैभन्दा बढी शतक प्रहार गर्ने भारतीय खेलाडी भने सुनिल गावस्कर र विनोद काम्बली हुन् । उनीहरुले चार–चार शतक बनाएका छन् ।
यशस्वी जैसवाल केवल १५ टेस्टमा एक हजार पाँच सय रन बनाउने एसियाकै पहिलो ब्याट्सम्यान पनि बनेका छन् । उनी अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गर्ने तेस्रो भारतीय ब्याट्सम्यान पनि बनेका छन् । यसअघि यस्तो उपलब्धि भारतीय ब्याट्सम्यान एमएल जयसिम्हाले सन् १९६७–६८ सिजनमा (ब्रिसबेन) र सुनिल गावस्करले सन् १९७७–७८ सिजनमा (ब्रिसबेन) अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गरेका थिए ।
पर्थमा जारी पहिलो टेस्टको दोस्रो पालीमा भारतका लागि अर्का ओपनर केएल राहुलले पनि ७७ रनको योगदान गरे । उनले एक सय ७६ बलको सामना गरी पाँच चौका पनि हिर्काए । ३२ वर्षीय केएल राहुलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो १६औँ अर्धशतक पनि हो ।
यसैगरी, चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान विराट कोहलीले पनि टोलीका लागि अविजित एक सय रनको योगदान गरे । उनले एक सय ४३ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । ३६ वर्षीय विराटले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो । विराटले शतक पुरा गर्नासाथ भारतले पाली समाप्तिको घोषणा गरेको थियो । त्यतिबेला नितिषकुमार रेड्डी अविजित ३८ रन बनाउँदै क्रिजमा थिए ।
भारतको खातामा तेस्रो नम्बरमा क्रिज समाल्न आएका देवदत्त पाडिकलले पनि २५ रन थपे । वासिङ्टन सुन्दरले पनि टोलीका लागि २९ रनको योगदान गरे । भारतले अतिरिक्त रुपमा पनि ५५ रन पाएको थियो । दोस्रो पालीमा घरेलु टोली अस्ट्रेलियाका बलर निरीह देखिए । नाथन लियोनले दुई विकेट लिए । मिचेल मार्स, प्याट कमिन्स, जस हेजलउड र मिचेल स्टार्कले एक–एक विकेट हात पारे ।
त्यसअघि अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा केवल एक सय चार रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाएका थिए । एलेक्स केरीले २१, ट्राभिस हेडले ११ र नाथन म्याकस्विनीले १० रन बटुलेका थिए ।
पहिलो पालीमा अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीका बलर जसप्रित बुमराहले पाँच विकेट लिए । हर्षित राणाले तीन र मोहम्मद सिरजाले दुई विकेट हात पारेका थिए । त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ५० रनमात्र बनउन सकेको थियो । भारतका लागि पहिलो पालीमा नितिषकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाएका थिए ।
भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि ३७ रन जोडेका थिए । ओपनर केएल राहुलले २६ रन बटुलेका थिए । ध्रुव जुरेलले पनि ११ रन बनाएका थिए । भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका तिब्रगतिका बलर जस हेजलउडले चार विकेट लिएका थिए । मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले पनि दुई–दुई विकेट हात पारेका थिए ।
पहिलो टेस्टमा भारतका जसप्रित बुमराह प्लेयर अफ दि म्याच घोषित भए । पहिलो टेस्ट पर्थमा खेलिएको हो । शृंखलाको दोस्रो खेल डिसेम्बर ६ तारिखमा एडलेइडमा सुरु हुनेछ । दोस्रो टेस्ट दिवा–रात्री हुनेछ ।