स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
विराटनगर । मोरङ ग्रामथान गाउँपालिका–१ लखन्तरीका बद्रीनारायण चौधरी पूर्वशिक्षक हुन् । उनको घर अगाडिको बाटोमा पार्टीका झण्डासहितका तुल र ब्यानर झुण्डिरहेका छन् ।
उम्मेदवारका पोष्टर र पर्चा पनि उत्तिकै छन् । उपनिर्वाचनको माहोलले उनलाई पनि छोएको छ । नयाँ मान्छे पुग्ने बित्तिकै उनीसँग सोधीखोजी गर्छन् । चुनाव कसले जित्छ ? कसको माहोल छ ? कुन उम्मेदवार कस्तो ? पूर्वशिक्षक र नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका उनी आफूले जानेको बताउँछन् ।
हामीले पनि उनलाई सोध्यौँ, ‘चुनावी माहोल के छ ?’ उनले भने, ‘यहाँ तीन पार्टीको प्रतिस्पर्धा देखिन्छ । यो वडामा सबै पार्टी उस्तै देख्छु ।’ चौधरीले भनेका तीन पार्टी सत्तारुढ एमाले, कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्र हुन् ।
एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका तुलसीराम विश्वास उनका भान्जा हुन् । कांग्रेसका उम्मेदवार बलराम सरदार उनकै पार्टीका उम्मेदवार हुन् । माओवादीबाट उठेका उम्मेदवार नमोनारायण माझी सोही वडाका हुन् । कुनै न कुनै हिसाबले उम्मेदवारसँग कनेक्सनमा रहेका उनलाई कसलाई हराउने, कसलाई जिताउने भन्ने दोधार छ ।
‘तुलसी मेरो भान्जा हो । उनको विरुद्धमा लाग्ने कुरा पनि भएन । आफ्नै घरपरिवारको मान्छे भयो । बलराम आफ्नै पार्टीको मान्छे हो । नमोनारायण यही वडामा पहिले वडाध्यक्ष भएर काम गरेको मान्छे हो । त्यही भएर म सक्रिय रुपमा चुनावी अभियानमा छैन,’ उनले भने, ‘भोट हाल्ने बेलामा कसलाई जान्छ, भन्न सकिँदैन ।’
उपनिर्वाचनको मिति नजिकिँदै जाँदा ग्रामथानमा दलहरूले आ–आफ्ना गतिविधिलाई तीव्रता दिइरहेका छन् । किनकि उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशमा ग्रामथान गाउँपालिकाले पालिका अध्यक्ष पाउनेछ । कोशीमा पालिका अध्यक्ष पदमा लागि उपनिर्वाचन हुन लागेको यो एकमात्र पालिका हो । त्यसैले जिल्ला र प्रदेशकै नेताहरू त्यहाँ केन्द्रित भएका छन् ।
चुनावमा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई सघाउनका लागि पूर्वमन्त्रीहरू महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरु घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन् । कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेको जिल्ला सदस्य तथा प्रचारप्रसार सदस्य वीरेन्द्र साह बताउँछन् ।
उता, नेकपा एमालेका नेताहरू पनि चुनावमा खटिएका छन् । तुलसीराम विश्वासलाई सघाउनका लागि एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईदेखि, अध्यक्ष घनश्याम खतिवडा, नेताहरू विनोद ढकाल, जीवन घिमिरे लगायत खटिएका छन् । एमालेका ग्रामथान गाउँपालिका अध्यक्षसमेत रहेका सत्यनारायण माझीलाई चुनावी कमाण्डर बनाइएको छ । एमालेले वडावडाका समितिलाई छुट्टाछुट्टै प्रचारटोली बनाएर खटाएको छ । यस्तै टोल र सेल कमिटी ९० वटाभन्दा बढी रहेको नेता माझी बताउँछन् ।
‘हामी गाउँगाउँमा पुगेका छौँ । घरघरमा पुगेका छौँ,’ माझीले भने, ‘चुनावी माहोल कसको पक्षमा जान्छ भनेर अहिले नै भन्न सकिँदैन । तर, रौनक भने दिनदिनै बढिरहेको छ ।’
ग्रामथान–४ मोतिपुरमा भेटिएका माओवादी उम्मेदवार नमोनारायण माझी भोट माग्न व्यस्त थिए । उनका साथमा चुनावी कमाण्डर बनेर खटिएका छन् पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी । माझीलाई सघाउन माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ, राष्ट्रियसभाका माओवादी दलका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्व सांसद कुलप्रसाद साम्बालगायत खटिएका छन् ।
रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, समाजवादी पार्टी, जनमत, मंगोल अर्गनाइजेसनलगायतका पार्टीहरूले पनि प्रचारलाई तीव्र बनाएका छन् । ग्रामथान–२ झोराहाटदेखि नेताचोकसम्मको घिनाघाट–विराटचोक सडकमा पार्टीका झण्डाहरू प्रशस्तै देखिन्छ । विगतमा भन्दा बढी ग्रामथानको केन्द्र तेतरियामा भिडभाड बढेको छ । बजार र चिया पसलहरू चुनावी गफ गर्ने थलो बनेको छ ।
ग्रामथानमा विभिन्न १५ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । ग्रामथानको साविक विजेता नेपाली कांग्रेस, निकटतम प्रतिस्पर्धी नेकपा एमाले र तेस्रो अवस्थामा रहेको दल नेकपा माओवादी केन्द्र नै पालिका प्रमुखको सम्भावित दाबेदार हुन् । २०७९ साल वैशाख ३० मा सम्पन्न निर्वाचनमा ती दलहरूले प्राप्त गरेको मतको हिसाब यस पटक ग्रामथानमा ठ्याक्कै मेल नखाने सम्भावना रहेको स्थानीय बताउँछन् ।
ग्रामथान नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र हो । पछिल्लो समय नेकपा एमालेले पनि त्यहाँ राम्रो जनमत सङ्कलन गरेको छ । सातमध्ये उपाध्यक्षसहित पाँच वडाध्यक्ष जितेर कांग्रेसको जनाधारलाई भत्काएको एमाले अहिलेको उपनिर्वाचन आफू जित्ने बताउँछ । ‘ग्रामथानमा संगठनको हिसाबले जे भए पनि एमालेको मत कमजोर छैन, यद्यपि २०७९ कोभन्दा मत बढाउन सक्ने अवस्थाचाहिँ छैन,’ एमाले अध्यक्ष माझीले भने ।
त्यो मत जोगाउन सक्दा एमालेले जित्न सक्ने माझीको बुझाइ छ । थप प्रस्ट पार्दै उनले भने, ‘किनभने कांग्रेसको मत यस पटक बढी यताउता चल्ने सम्भावना बढी छ ।’
नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बू भने यसपटक ग्रामथानमा माओवादी केन्द्रले विजयको झण्डा गाड्ने दाबी गर्छन् । माओवादीप्रति देशव्यापी बढेको समर्थन, सहानुभूति, भ्रष्टाचारको विरोधमा उभिएको पार्टीको रूपमा जनतामा परेको प्रभाव चुनाव जित्ने आधार भएको उनले बताए ।
कांग्रेस प्रचारप्रसार समितिका संयोजक साहले आफ्नो पार्टीले चुनाव जित्ने बताए । ‘ग्रामथानका जनताको साथ र समर्थनले हाम्रो हौसला बढाएको छ । उहाँहरूले कांग्रेसलाई नै जिताउने प्रतिबद्धता देखाएर आशा र भरोसाको किरण देखाउनुभएको छ । यो जित केवल उम्मेदवारको हुने छैन, यो ग्रामथानको भविष्यको जित हुनेछ,’ उनले भने ।
एमाले–माओवादीले सार्वजनिक गरे घोषणापत्र
मोरङको ग्रामथान गाउँपालिकाको निर्वाचनका लागि माओवादी केन्द्रले प्रतिबद्धता (अपिल) सार्वजनिक गरेको छ । अपिलमा ग्रामथानको समग्र विकास गर्दै स्मार्ट भिलेजका लागि गुरुयोजना बनाइ कार्यान्वयनमा लैजाने, व्यावसायिक आयमूलक, प्राविधिक र स्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई आवश्यक बजेट तथा कार्यक्रम उपलब्ध गराउने, कक्षा १२ सम्म हरेक विद्यार्थीहरूलाई निःशुल्क पढ्ने व्यवस्था गरी सामुदायिक विद्यालयहरूलाई निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन विशेष ध्यान दिने उल्लेख छ ।
साथै प्रत्येक महिना गाउँपालिका अध्यक्षले एउटा कक्षा लिने, निरन्तर अनुगमन गर्ने, सीप विकास र आयमूलक प्रशिक्षण प्रदान गर्न प्रशिक्षण केन्द्र स्थापना गर्ने, ग्रामथानभित्र औद्योगिक नगर बनाउनका निम्ति उद्योगी र व्यवसायीहरूलाई प्रोत्साहन र सहुलियत प्रदान गरी स्थानीयस्तरमै रोजगारीको सम्भावना खोजी गर्ने, वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वरोजगार र उद्यमशीलताका लागि विशेष व्यवस्था गर्ने माओवादीको प्रतिबद्धतापत्रमा भनिएको छ ।
यसैगरी माओवादी केन्द्रले सहकारी र ग्रामीण सामूहिक वित्त संस्था खोल्नका लागि आवश्यक सुविधा दिइ रोजगारको वातावरण बनाउने, ग्रामथानका किसानहरूको उत्पादनको उचित मूल्य सहित बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने, खेतीयोग्य जमिनसम्म हरेक प्रकारको सिँचाइ पुर्याउने, बेमौसमी बाढी, हावाहुरी, महामारी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
खोला, नालाहरूमा बलियो तटबन्ध निर्माणमा ध्यान दिने, सुकुमवासी आयोगसँग समन्वय गरी ग्रामथान गाउँपालिकामा रहेका सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ पहल गर्ने, आदिवासी जनजाति (धर्तीपुत्र)को पहिचानको जगेर्ना गर्दै ग्रामथानमा सांस्कृतिक झल्किने अभिलेख र संग्रहालय निर्माण गर्ने प्रतिबद्धता माओवादी केन्द्रले जनाएको छ ।
यस्तै नेकपा एमालेले पनि घोषणापत्र सार्वजनिक गरेको छ । उम्मेदवार तुलसीराम विश्वासले ‘कृषिमा सुधार र उन्नत विकास, मेरो प्राथमिकता’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘कृषि पेसामा आधारित हामी किसानहरूलाई पसिना अनुसारको मूल्य प्राप्त छैन । आधुनिकीकरण र उन्नत प्रविधिको अभाव छ । सिँचाइ, कोल्ड स्टोर र बिक्री केन्द्रको अभाव छ । कृषिलाई सम्मुनत तुल्याउन सके ग्रामथानबासीको आर्थिक अवस्थामा समेत सुधार हुनेछ,’ विश्वासले घोषणापत्रमा उल्लेख भएका विषयलाई उद्धृत गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्री चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु