सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
धनगढी । कैलाली र कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशमै माछा पालनको ‘हब’ बन्दै गएको छ । मत्स्य विकास केन्द्र (गेटा, कैलाली)का अनुसार यी दुई जिल्लामा प्राकृतिक तालदेखि निजी पोखरीमा व्यावसायिक माछा पालन हुँदै आएको छ ।
सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । मत्स्य विकास केन्द्र गेटाका अनुसार कैलालीमा १९४ र कञ्चनपुरमा ४८ वटा गरी २४२ बढी प्राकृतिक अर्थात् घोलताल छन् ।
देशका कुल घोलतालमध्ये सुदूरपश्चिम प्रदेशमा मात्र एक तिहाइ छन् । एक हजार दुई सय हेक्टर घोलतालमध्ये माछा पालनमा यसको ६० प्रतिशत हिस्सा उपयोग भएको छ । मत्स्य विकास केन्द्र, गेटाका अनुसार सुदूरपश्चिमका ७२० हेक्टर घोलतालमा व्यावसायिक माछा उत्पादन हुँदै आएको छ । वार्षिक एक हजार ७०० मेट्रिक टन माछा सुदूरपश्चिमका घोलतालबाट उत्पादन हुँदै आएको छ ।
प्राकृतिक र कृत्रिम गरी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा २ हजार ५४२ वटा ताल र पोखरीमा माछा पालन हुँदै आएको छ । यी दुई जिल्लामा माछा पालनको जम्मा क्षेत्रफल १ हजार ३७५ हेक्टर छ ।
यी ताल तथा पोखरीमा ५ हजार ३८० भन्दाबढी व्यावसायिक किसान माछा पालनमा संलग्न रहेको मत्स्य विकास केन्द्रको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिममा उत्पादित माछाले स्थानीय बजारको ७५ प्रतिशत माग धानेको छ भने बाँकी २५ प्रतिशत अन्य प्रदेश र भारतबाट समेत आयात हुँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा अहिले आयात हुँदै आएको २५ प्रतिशत हिस्सा प्रतिस्थापन गरी २५ प्रतिशत निर्यात गर्ने उद्देश्यका साथ सरकारले विभिन्न योजन अघि सारेको बताउँछन् ।
खासगरी प्राकृतिक ताल तलैयामा माछा पालनका लागि लगानी बढाएर उत्पादन विस्तार गर्न सकिने उनको भनाइ छ । ‘यसो गर्दा एकातिर धान, गहुँलगायत अन्न उत्पादन हुने जमिन पनि बच्छ भने अर्कोतिर उत्पादन नहुने तालतलैयाले पनि केही न केही उत्पादन दिन थाल्छन्,’ उनले रातोपाटीसँग भने ।
सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा माछाको योगदान ०.५ प्रतिशत छ । सुदूरपश्चिमका घोलतालमा माछाको उत्पादकत्व २.३ मेट्रिक टन प्रतिहेक्टर छ । पोखरीमा गरिएको माछा पालनको औसत राष्ट्रिय उत्पादकत्व ५.४ मेट्रिक टन प्रतिहेक्टर छ ।
मत्स्य विकास केन्द्र, गेटाका प्रमुख निर्मलबहादुर खातीका अनुसार माछा उत्पादन बढाउन विभिन्न पहल भइरहेका छन् । आगामी १० वर्षमा माछा उत्पादन वार्षिक १० हजार मेट्रिक टनबाट बढाएर ३० हजार मेट्रिक टन पु¥याउने लक्ष्य छ ।
यसका लागि माछाको खपत दर बढाउनु मुख्य चुनौती बनेको छ । सुदूरपश्चिममा माछाको खपत औसतभन्दा निकै कम छ । संयुक्त राष्ट्रसंघ खाद्य एवं कृषि संगठन (एफएओ) का अनुसार विश्वमा औसतमा प्रतिवर्ष प्रतिव्यक्ति माछाको उपलब्धता २०.५ किलो छ । तर नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति माछाको उपलब्धता ३.५६ किलो छ । त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक प्रतिव्यक्ति सरदर २ केजी माछा उपभोग हुँदै आएको मत्स्य विकास केन्द्र गेटाका प्रमुख निर्मल बहादुर खातीले बताए ।
उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्ति वार्षिक १० केजी माछा उपभोग गराउने लक्ष्य प्रदेश सरकारको रहेको खातीको भनाइ छ । माछा उत्पादनका साथै खपत बढाउन सरकारी लगानी बढाउँदै लैजानुपर्ने विज्ञहरू बताउँछन् ।
- माछामा लगानीको अवस्था
पछिल्लो समय माछा पालन व्यवसायमा सरकारको लगानी पनि बढ्दै गएको छ । सुदूरपश्चिमका स्थानीय तहका साथै प्रदेश सरकारले पनि माछा पालन तथा तालतलैया संरक्षण, जलाशय विस्तारमा लगानी बढाउँदै गएको छ ।
मत्स्य विकास केन्द्र गेटा प्रमुख खातीले चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले माछा पालन क्षेत्रमा ५ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलाली जिल्लामा माछा जोन कार्यक्रम अगाडि बढाएको छ । परियोजना कार्यान्वयन इकाई, धनगढीले चालु आर्थिक वर्षमा कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना कार्यान्वयन इकाइ धनगढीका प्रमुख गोविन्दराज जोशी बताउँछन् ।
कार्यक्रम अन्तर्गत नयाँ माछा पोखरी निर्माण, प्राकृतिक ताल तथा पोखरी मर्मत, यन्त्र उपकरण जडान लगायतको कार्यक्रम गरिने भएको छ । त्यस्तै, व्यावसायिक किसानहरूले पनि माछा पालन व्यवसायमा निजी लगानी बढाउँदै गएका छन् ।
धनगढी उपमहानगरपालिका–१९, बौलियाका किसान अंगदुलारु चौधरीले आफूले एक सिजन (६ महिना)मा पंगास प्रजातिको १५ हजार भुरामा करिब २० लाखसम्म लगानी गरेको बताउँछन् । जुन आफूले डेढ महिनादेखि हार्भेस्टिङको कार्य गर्दै आएको सुनाउँछन् । उनी एक बिघा क्षेत्रफलमा माछा पालन व्यवसाय गर्दै आएका छन् ।
- कस्तो छ भुरा उत्पादनको अवस्था ?
सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरस्थित जलाशयमा खासगरी कमन, ग्रास, सिल्भर, बिगहेड, नैनी, भ्याकुर, रहु गरी ७ वटा कार्प प्रजातिको माछाको भुरा उत्पादन गरिन्छ । माछाको भूरा उत्पादनको अवस्था पनि उत्साहजनक छ । मत्स्य विकास केन्द्रद्वारा उत्पादित माछाका भुरा सुदूरपश्चिम प्रदेशको ९ जिल्लासहित लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि आपूर्ति हुँदै आएको छ ।
मत्स्य विकास केन्द्रका अनुसार २–३ ईन्चको फिङ्गरलिङ साइजको माछाको माग वार्षिक २ करोड गोटा छ । जसको ६० प्रतिशत मत्स्य विकास केन्द्र गेटा, बाँकी २० प्रतिशत निजी ह्याचरी र २० प्रतिशत बाहिरबाट आयात हुन्छ ।
त्यस्तै, पछिल्लो समय पंगासियस माछा उत्पादन पनि उत्साहजनक रुपमा हुँदै आएको छ । छोटो अवधिमा उत्पादन गरेर आम्दानी लिन सकिने सो माछाको उत्पादनमा किसानको आकर्षण उत्तिकै छ । तर सो माछाको भुरा र दाना भारतबाट आयात हुने हुँदा उत्पादन लागत अरु माछाको तुलना अधिक रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका मत्स्य शाखा प्रमुख महेश भटट् बताउँछन् ।
- बजारको समस्या
माछा पालन व्यवसायमा उच्च सम्भावना रहेपनि यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधिसमेत नपाइने किसानको गुनासो छ ।
जसोतसो माछा उत्पादन गरिहाले पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको उनीहरू बताउँछन् । योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरू बताउँछन् ।
मत्स्य विकास अधिकृतसमेत रहेका पशु सेवा तालिम केन्द्रका डा.सूर्य बहादुर शाही ठकुरीले मत्स्य बिज तथा अन्य मत्स्य पालनमा प्रयोग हुने रसायन, कच्चा पदार्थ, औषधि लगायत खाने माछामा आत्मनिर्भर हुन नसकेको बताए ।
यहाँका किसानले मत्स्यजन्य पदार्थहरू भारतबाट ल्याउनु परेको ठकुरीको भनाइ छ । माछा उत्पादनमा चाहिने प्रविधि तथा श्रोत साधनको पनि अभाव छ । यतिमात्रै होइन, किसानको आकर्षण रहेको पंगास प्रजातिको माछा पालनमा भुरा, दाना, औषधि समेत भारतवाट आयात गर्नुपरेको उनले बताए ।
माछा पालनमा संलग्न किसानहरू महँगो लागतमा माछा उत्पादन गरे पनि बजारको समस्या झेल्नुपरेको सुनाउँछन् । माछा पालन व्यवसाय सुरु गरेका कैलालीको गौरीगंगा नरपालिका–७, महादेवाका विहारीलाल चौधरीले माछा पालनमा आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा त गतिलो भुरा (पंगास) पाइएन । धेरै मरे । महँगो दाना खुवाएर भए पनि उत्पादन गरियो । तर पछि उत्पादित माछा बिक्री गर्नै गाह्रो भयो । बजारमा माछाको मोल पनि खासै पाइएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
-
वरुणको बेबी जोनमाथि पुष्षा २ हाबी, कति कमायो चलचित्रले ?
-
‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !
-
कर असुलीविरुद्ध आजपाले काठमाडौँमा विरोध प्रदर्शन गर्ने