बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
एनपीएल

प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

सोमबार, १० मङ्सिर २०८१, १० : २८
सोमबार, १० मङ्सिर २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान आयोजना गरेको एक विशेष समारोहबिच प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफीको अनावरण गरे ।

ट्रफी अनावरण कार्यक्रम सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरमा आयोजना गरिएको थियो । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाल खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । ऐतिहासिक धरोहरका रूपमा रहेको धरहराको काखमा एनपीएलको ट्रफी अनावरण गरिनु अर्थपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेपालका लागि क्रिकेट खेलमात्र नभई राष्ट्रिय जागरूकता र अनुशासनको प्रतीक भएको पनि बताए । आगामी दिनमा महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिता पनि आयोजना गरिनु पर्ने सुझाव दिए ।

प्रधानमन्त्री ओलीले एनपीएलले देशभित्र पयर्टन प्रवर्द्धनका  लागि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले देशको प्रधानमन्त्री भएका नाताले आफ्नो लागि प्रतियोगितामा सहभागी आठवटै टोली उत्तिकै प्रिय रहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलमा सहभागी आठवटै टोलीका मार्की खेलाडीहरुको नाम लिँदै उनीहरुलाई सफलताको शुभकामना पनि दिए । ट्रफी अनावरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको पनि उपस्थिति रहेको थियो ।

ट्रफी अनावरण कार्यक्रमपछि प्रधानमन्त्रीसँगै प्रतियोगितामा सहभागी आठवटै टोलीका मार्की खेलाडीले ट्रफीलाई धरहरामाथि पनि पु¥याएका थिए । नेपाल प्रिमियर लिग मंसिर १६ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

एनपीएल ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनाए । आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा कालापत्थरबाट ल्याएका थिए । निमा र मिङ्मालाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप