सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी

सोमबार, १० मङ्सिर २०८१, ०८ : ३०
सोमबार, १० मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुख पदतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधि सभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भने यहाँ उम्मेदवारी नै दिएन ।

कीर्तिपुर नगर प्रमुख पदका लागि निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यसपटक चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ ।

कीर्तिपुरको प्रमुख पदमा कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राडा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।

यसैगरी नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल (माले)का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले पनि नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारमा डा. नवरथकुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेशराज पाण्डे र कविकुमार महर्जनले उम्मेदवारी दिएका छन् । कांग्रेसका डंगोल र एमालेका मानन्धर नयाँ अनुहार हुन् । माओवादीका महर्जन पुरानै अनुहार हुन्, जो अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । यसपटक उनलाई नेकपा एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ । अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार वटुकृष्ण थापाले नगर प्रमुखमा एक हजार १५३ मत पाएका थिए ।

  • प्रमुख दलहरूको आ–आफ्नै दाबी

यो निर्वाचनमा माओवादीले सुशासन, सामाजिक न्याय, समृद्धिलाई मुख्य एजेण्डा बनाएको छ । स्थानीय रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक न्याय, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौतिक पूर्वाधार विकालाई विशेष प्राथमिकतामा राखेको छ । महर्जन बौद्धिक, सामाजिक अभियन्ता र निष्कलंकित व्यक्तिका रूपमा परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयदेखि विभिन्न क्याम्पसमा झण्डै ५० वर्ष अध्यापनमा बिताएका छन् ।

कीर्तिपुरमा खानेपानी समस्या, सडक समस्या, सहकारी लगायत समस्या समाधानमा उनले महत्त्वपूर्ण योगदान गरेको माओवादी कीर्तिपुर नगर इन्चार्ज सूर्य सुवेदीले जानकारी दिए । डा. महर्जनले आफू विजयी भएमा नगर प्रमुखको हैसियतमा कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । यसपटक माओवादीले कीर्तिपुरमा इतिहास रच्ने इन्चार्ज सुवेदीको दाबी छ ।

‘माओवादीप्रति आकर्षण बढ्दो छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा थालेको अभियानलाई लिएर हामी जनताको घरघरमा पुगेका छौँ’, उनले भने, ‘यतिमात्र नभइ हाम्रा उम्मेदवार बैद्धिक, सामाजिक क्षेत्रमा विशेष ज्ञान र कीर्तिपुरवासी माझ चीरपरिचित व्यक्तित्व भएकाले यसपटक जनमत हाम्रो पक्षमा आउने विश्वास गरेका छौँ ।’

यसैगरी एमालेबाट उम्मेदवारी दिएका मानन्धर हाई प्रोफाइलका हुन् । मानन्धरले २०७० को निर्वाचनमा काठमाडौँ–१० बाट माओवादीका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले २० हजार ३९२ मत ल्याएर जितेका थिए ।

मानन्धरले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ७६३ मतान्तरले पछि पारेर दोस्रो स्थान हासिल गरेका थिए । मानन्धरले १३ हजार ६१५ मत पाउँदा प्रचण्ड जम्मा १२ हजार ८५२ मतका साथ तेस्रो स्थानमा सीमित रहेका थिए ।

तर ०७४ को निर्वाचनमा एमाले र माओवादीबिच गठबन्धन भएकाले मानन्धरले टिकट पाएनन् । २०७९ को निर्वाचनमा एक्लै लडेको एमालेले मानन्धरलाई टिकट नदिएर कमजोर उम्मेदवार हिमेश केसीलाई उम्मेदवार बनाउँदा निर्वाचनमा कांग्रेसलाई फाइदा भएको धेरैको टिप्पणी छ ।

तत्कालीन समयमा एमालेमा माधव नेपाल पक्षधर मानिएका मानन्धरलाई यसपटक प्रमुखको टिकट दिएर प्रतिस्पर्धीलाई चुनौती दिएको अर्थमा हेरिएको छ ।

surendra_Bak3hTAESc

एमाले काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला योपटक एमालेको उम्मेदवारले जित्ने दाबी गर्छन् । उनले ०७९ को चुनावी परिणाम उल्टाउने गरी चुनावी तयारी भइरहेको बताए ।

‘हामीले योग्य र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएका छौँ । समृद्ध नेपाल सुखी नेपाली एमालेको भिजन हो । कीर्तिपुरमा एमालेले जितेमा मात्र नगरवासीको अपेक्षा पूरा हुन्छ । कीर्तिपुरको समग्र विकासका लागि हामीले  योजना अगाडि सारेका छौँ । यही नै हाम्रो जित्ने आधार हो’, उनले भने ।

यता कांग्रेसले नगर सभापति समेत रहेका कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक आफैँले जितेको क्षेत्र भएकाले यसपटक विरासत जोगाउने चुनौती कांग्रेससामु छ । प्रतिस्पर्धी एमाले र माओवादीले बलियो उम्मेदवार उठाएका कारण पनि कांग्रेसलाई चुनौती थपिएको छ ।

कांग्रेसमा उम्मेदवारीका लागि डंगोलसँगै दिवंगत पूर्वप्रमुख राजकुमार नकर्मीकी पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो । कीर्तिपुरवासीको भावना, भूगोल, संस्कृति, इतिहाससँग राम्रो परिचित भएकाले पनि डंगोल बलियो प्रतिस्पर्धी मानिएका छन् । अघिल्लो निर्वाचनमा यो नगरपालिकाका १० वडामध्ये ९ वटै वडाध्यक्ष कांग्रेसले जितेको थियो ।

congress-kritipur_Hwkd7UfbTS

प्रमुखका उम्मेदवार समेत रहेका डंगोलले संस्कृति, सम्पदाको शहर भएकाले पर्यटन, संस्कृति र सम्पदाको विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘मेरो उम्मेदवारी संस्कृति, सम्पादाको जगेर्ना गर्नका लागि हो । यसबाहेक खानेपानी, भौतिक पूर्वाधार, पर्यटन विकासका लागि मैले उम्मेदवारी दिएको हो’, उनले भने ।

यसैगरी स्थानीय तहको निर्वाचनमा पहिलोपटक होमिएको संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र उम्मेदवारमध्येकै एकलाई समर्थन गर्न सक्ने नीति लिएको छ । कसलाई समर्थन गर्ने भन्ने विषयमा स्वतन्त्र उम्मेदवाहरूसँग छलफल भइरहेकाले आइतबार बेलुकासम्म निर्णय हुन सक्ने रास्वपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार डा. नवराज कुमार बाँनिया र राजमान महर्जनमध्ये एक उम्मेदवारलाई समर्थन गर्न सम्भावना छ । बाँनिया जर्मनीबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् । यस्तै, अर्का स्वतन्त्र उम्मेदवार महर्जन विगत १५ वर्षदेखि कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चर्चित छन् । त्यसकारण यो पटकको निर्वाचन रोचक र कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ ।

  • यस्तो छ ०७९ को चुनावी परिणाम

२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ३५३६ मतान्तरसहित निर्वाचित भएका थिए । नकर्मीले ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४०९० पाएका थिए ।  

यस्तै एकीकृत समाजवादीका उम्मेदवार वटुकृष्ण थापाले ११५३, राप्रपाका उम्मेदवार जितबहादुर बिष्ट ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्रका मनोज बुढाथोकीले ३६५, कांग्रेस (बिपी)का प्रविद खनालले ८१, आमुल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१ र स्वतन्त्रका उम्मेदवार भीमकुमार महर्जनले १३ मत पाएका थिए ।

  • २०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुरको १० वटै वडामा वडाध्यक्षले पाएको मतपरिणामः

वडा नम्बर–१ हिरालाल महर्जन(कांग्रेस) ७७८, हर्ष महर्जन(एमाले) ५८२, विनोदकुमार महर्जन(माओवादी) २७३, रोहित महर्जन(एकीकृत समाजवादी) ६३, सुरेन्द्रप्रसाद उप्रेती(राप्रपा) ३९, विनय ढुंगाना(नेश्लिष्ट पिपुल्स) ९

वडा नम्बर–२ रुपेश महर्जन(कांग्रेस) ८८६, रमेशमान डंगोल(एमाले) ६९७, नारायण महर्जन(माओवादी केन्द्र) ३३०, किरण महर्जन(एस) ३९, अर्जुन महर्जन(राप्रपा) ३७, वाशुमान महर्जन(नेमकिपा) १४

वडा नम्बर–३ सुविन्द्र महर्जन(कांग्रेस) ९८८, राजेन्द्र महर्जन(एमाले) ८२२, सिद्धिकुमार महर्जन(माके) २५२, सनिस महर्जन(एस) ७७, राम महर्जन(राप्रपा) १४

वडा नम्बर–४ श्यामकुमार अधिकारी(स्वतन्त्र) १३८०, राजेन्द्र बानिया(कांग्रेस) १०५७, ईश्वरकुमार बास्कोटा(एमाले) २३६, राजकुमार केसी(राप्रपा) ८५, राजेश बुढाथोकी(माके) ७३

वडा नम्बर–५ राजेन्द्रकुमार महर्जन(कांग्रेस) १३४०, सुशिल महर्जन(एमाले) ७७१, अशोक डंगोल महर्जन(नेमकिपा) १९७, बिक्रम महर्जन(राप्रपा) ५७, पूर्ण महर्जन(नेपाल सुशासन पार्टी) २३

वडा नम्बर–६ खीरमानसिंह बस्नेत(कांग्रेस) १३३३, सुनिल डंगोल(एस) ८७०, गोकुलबहादुर थापा(एमाले) ८१९, मधुकर बुढाथोकी(राप्रपा) १९४, किशोरकुमार कार्की क्षेत्री(स्वतन्त्र) ७, अशोककुमार नेपाल(विवेकशील साझा) ६

वडा नम्बर–७ दिवाकर शर्मा अधिकारी(कांग्रेस) ६८७, हरिबहादुर महर्जन(एमाले) ३९२, रामचन्द्र डंगोल(माके) ४६

वडा नम्बर–८ सानुमैंया महर्जन(कांग्रेस) ५६५, राजेश महर्जन(एमाले) ४५७, सतुराम महर्जन(स्वतन्त्र) २३९, जनकलाल महर्जन(माके) १८७, राजिव महर्जन(नेमकिपा) ६०, श्याम महर्जन(राप्रपा) ४

वडा नम्बर–९ दिनेश श्रेष्ठ(कांग्रेस) १००६, सञ्जयमान महर्जन(एमाले) ९३३, सुरज श्रेष्ठ(राप्रपा) २२, अबिरमान महर्जन(नेमकिपा) २१

वडा नम्बर–१० नरेश महर्जन(कांग्रेस) ९०१, संगिता श्रेष्ठ उप्रेती(माके) ८५९, अमन महर्जन(एमाले) ६९२, नन्दकुमार महर्जन(राप्रपा) १६

  • ०७४ मा थियो एमाले र कांग्रेसबिच रोचक प्रतिस्पर्धा

२०७४ को निर्वाचनमा कीर्तिपुर नगरपालिकामा एमालेका उम्मेदवार रमेश महर्जन विजयी भएका थिए । महर्जनले ७३६० ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राजकुमार नकर्मीले ६६१६ मत पाएका थिए । त्यतिबेला माओवादीका उम्मेदवार हिराबहादुर महर्जनले ४००९ मत ल्याएर तेस्रो स्थानमै चित्त बुझाएका थिए ।

यसैगरी धु्रव महर्जन(नयाँशक्ति)ले १५२१, श्यामकुमार अधिकारी(स्वतन्त्र)ले ८९२, बच्चुराम श्रेष्ठ(राप्रपा)ले २८९, हरिकुमार महर्जन(नेमकिपा)ले २७६, रामकृष्ण अधिकारी(स्वतन्त्र)ले ६६, अम्बरबहादुर पौडेल(राजमो)ले ४९, शारदा महत(स्वतन्त्र)ले ४९, मीनाकुमारी साह(नेकपा संयुक्त)ले २१, शान्ति महर्जन(गान्धीवादी पार्टी)ले १९, ग्यालर महर्जन(स्वतन्त्र)ले १९ र पूर्ण महर्जन(स्वतन्त्र)ले १ मत पाएका थिए ।

कीर्तिपुरकै रिक्त दुई वडामा ०७४ को निर्वाचनमा वडा नम्बर–१ हर्ष महर्जन(एमाले)ले ८०४ मत ल्याएर विजयी भएका थिए । हिरालाल महर्जन(कांग्रेस) ६५९ मतसहित दोस्रो र किरणकुमार महर्जन(माओवादी)ले २५३ ल्याएर तेस्रो स्थानमा थियो ।

त्यतिबेला वडा नम्बर–४ मा राजेन्द्र  बाँनिया(कांग्रेस) ९९७ सहित विजयी भएको थियो । बद्री बुढाथोकी(एमाले) ७५२ ल्याएर दोस्रो र राजकुमार केसी(राप्रपा) ३८९ सहित तेस्रो स्थानमा थिए भने रामकुमार खड्का(माओवादी) ३०३ मत ल्याएर चौथो स्थानमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप