मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
काठमाडौँ । मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा डेंगु प्रभावित हुनेको संख्या न्यून देखिएको छ । कर्णाली प्रदेशबाहेक अन्य पाँच वटा प्रदेशमा १३ सयभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएका छन् भने मधेसमा ५७० जनामात्रै डेंगु सङ्क्रमित छन् ।
कर्णालीका ३४७ जना डेंगुबाट प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क छ । कर्णाली प्रदेशमा चिसो हुने क्षेत्र भएकाले यहाँ ३४७ जनामात्रै डेंगु प्रभावित भएका हुन् । तर तुलनात्मक रूपमा बढी गर्मी हुने मधेस प्रदेशमा समेत डेंगु सङ्क्रमितको संख्या कम देखिनु जनचासोको विषय बनेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा. यदुचन्द्र घिमिरेले मधेस प्रदेशमा डेंगु सङ्क्रमण कम हुनुमा विभिन्न पक्ष हुन सक्ने अनुमान गरे । ‘दुई–तीन वटा कुरालाई सँगै राखेर हेर्नुपर्छ । यसमा हामीले कति संख्यामा परीक्षण ग¥यौँ भन्ने कुरा पनि आउँछ,’ उनले रातोपाटीसँग भने, ‘हामीले परीक्षण नै कम ग¥यौँ भने संख्या कम भइहाल्छ । वीरगंजमा विगतका वर्षहरूमा डेंगु प्रभावित भएको थियो । एक पटक डेंगु भइसकेको क्षेत्रका व्यक्तिलाई पुनः डेंगु सङ्क्रमण हुने सम्भावना कम हुन्छ ।’
घिमिरेले डेंगु सङ्क्रमण कम हुनुमा तापक्रमको पनि भूमिका रहने बताए । वातावरणको तापक्रम बढी भएमा डेंगु सार्ने लामखुट्टेको वृद्धिविकास हुन नसक्ने उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहले डेंगुबारे सचेतनाको कार्य राम्रो गरेकाले पनि सङ्क्रमण कम देखिएको हुन सक्छ । तर यही कारणले घटेको हो भन्नलाई अनुसन्धान नै गर्नुपर्छ ।’
गर्मी हुने क्षेत्रमा डेंगु सङ्क्रमित संख्या कम हुनु अध्ययनको विषय रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बताउँछन् । ‘रिपोर्ट नभएको हो कि, कम भएको हो भन्नेबारे अध्ययन कै विषय छ,’ उनले भने, ‘कहिलेकाहीँ नयाँ ठाउँमा एक वर्ष सङ्क्रमण देखियो भने अर्को वर्ष नदेखिन पनि सक्छ । कम देखिने पनि हुन्छ । यही कारण हो भन्नका लागि हामीले अध्ययन नै गर्नुपर्छ ।’
डा. चालिसेले धेरै गर्मीमा डेंगु सार्ने लामखुट्टे बाँच्न नसक्ने भनेर तर्क गर्ने हो भने भारतको दिल्लीजस्तो अति गर्मी हुने ठाउँमा पनि डेंगु सङ्क्रमण हुने गरेको जिकिर गरे ।
स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा.राजीव कुमार झा भने अन्य क्षेत्रमा डेंगु फैलिए लगत्तै आफूहरूले डेंगु सचेतना कार्य गरेका कारण सङ्क्रमण न्यूनीकरण भएको दाबी गर्छन् । ‘अन्य प्रदेशमा डेंगु फैलियो र हामीले पालिकास्तरमा डेंगु गराउने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन ग¥यौँ,’ निर्देशक झाले रातोपाटीसँग भने, ‘प्रदेशको समन्वयमा अस्पताल आएका बिरामीको रगत परीक्षण गर्दा १ लाखभन्दा कम प्लेटलेट भएका बिरामीलाई मात्रै हामीले डेंगु परीक्षण गर्ने भनेका थियौँ ।’
प्रदेशमा डेंगु फैलाउने लामखुट्ट्ेको लार्भा खोज र नष्ट गर अभियानमा तीन लाख रुपैयाँ खर्च भएको डा. झाले बताए ।
कुन प्रदेशमा कति सङ्क्रमित ?
ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार देशभर ३२ हजार ७ सय जना डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये मधेस प्रदेशका ५७० जना सङ्क्रमित भएका छन् ।
यस्तै, कोशीका १ हजार ९५९ जनालाई डेंगु सङ्क्रमण भएको छ । बागमती प्रदेशका ११ हजार ४२४ जनालाई, गण्डकीका १५ हजार ३३४ जनालाई डेंगु सङ्क्रमण भएको छ । लुम्बिनीका १ हजार ६९७ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याङ्क छ । कर्णालीका ३४७ जना र सुदूरपश्चिमका १ हजार ३६९ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
डेंगुबाट हालसम्म १३ जनाको मृत्यु भएको छ । ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
सबैभन्दा बढी प्रभावित भएका दश जिल्ला
ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार कास्की सबैभन्दा बढी डेंगु प्रभावित भएको छ । यहाँका ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, काठमाडौँका ५ हजार ५३५ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँका २ हजार ४९६ जना, पर्वतका १ हजार ८२० जना, ललितपुरका १ हजार ३६६ जना, बाग्लुङका १ हजार ३२३ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, चितवनका १ हजार २१२ जना, भक्तपुरका १ हजार १०४ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्क छ । गोर्खा र कैलालीका क्रमशः ९४४ जना र ४९५ जनालाई डेंगु पुष्टि भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन