अस्ट्रेलियन ब्याट्सम्यानको निराशाजनक प्रदर्शनपछि भारत जिततर्फ अग्रसर
काठमाडौँ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गतको पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली भारत जिततर्फ अग्रसर देखिएको छ । पाँच सय ३४ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले पहिलो टेस्टको तेस्रो दिन आइतबार आफ्नो दोस्रो पालीमा केवल १२ रनको कुल स्मोरमा तीन विकेट गुमाएपछि भारत बलियो देखिएको हो ।
तेस्रो दिनको खेल समाप्त हुँदासम्म घरेलु टोली अस्ट्रेलिया पाँच सय २२ रनले पछाडि रहेको छ । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान उस्मान ख्वाजा अविजित तीन रन बनाउँदै क्रिजमा छन् । दोस्रो पालीमा पनि अस्ट्रेलियन टोलीका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन दोहोर्याए ।
आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका ओपनर ब्याट्सम्यान नाथन म्याकस्विनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान प्याट कमिन्स पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
चौथो नम्बरका ब्याट्सम्यान मार्नस लाबुशेन पनि तीन रन बनाउँदै पेभेलियन फर्किए । दोस्रो पालीमा भारतीय टोलीका बलर जसप्रित बुमराहले दुई विकेट लिए । उनले २.२ ओभरमा एक मेडन राख्दै केवल एक रन खर्चिए । मोहम्मद सिराजले पनि एक विकेट हात पारे ।
त्यसअघि पहिलो टेस्टको तेस्रो दिन आइतबार नै ६ विकेट गुमाएर चार सय ८७ रन बनाउँदै भारतले आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । दोस्रो पालीमा भने भारतीय ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भारतका लागि दुई ब्याट्सम्यान यशस्वी जैसवाल र विराट कोहलीले शतकीय तथा केएल राहुलले अर्धशतकीय पाली खेलेका थिए । जशस्वी र केएल राहुलले ओपनिङ विकेटका लागि दुई सय एक रनको साझेदारी गरेका थिए ।
जैसवालले एक सय ६१ रन बनाए । लामो समय क्रिजमा टिकेका उनले दुई सय ९७ बलको सामना गरी तीन छक्का र १५ चौका पनि हिर्काए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक पनि हो ।
सन् २०२४ मा जैसवालले प्रहार गरेको यो तेस्रो टेस्ट शतक पनि हो । जैसवाल २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गर्ने पाँच भारतीय ब्याट्सम्यानको सूचिमा पनि सामेल भएका छन् । उनले २२ वर्ष तीन सय ३२ दिनको उमेरमा यस्तो उपलब्धि हासिल गरेका हुन् ।
जैसवालका अतिरिक्त हालसम्म रवी शास्त्री र सचिन तेन्दुल्करले २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गरेका छन् । २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष सबैभन्दा बढी शतक प्रहार गर्ने भारतीय खेलाडी भने सुनिल गावस्कर र विनोद काम्बली हुन् । उनीहरुले चार–चार शतक बनाएका छन् ।
यशस्वी जैसवाल केवल १५ टेस्टमा एक हजार पाँच सय रन बनाउने एसियाकै पहिलो ब्याट्सम्यान पनि बनेका छन् । उनी अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गर्ने तेस्रो भारतीय ब्याट्सम्यान पनि बनेका छन् ।
यसअघि यस्तो उपलब्धि भारतीय ब्याट्सम्यान एमएल जयसिम्हाले सन् १९६७–६८ सिजनमा (ब्रिसबेन) र सुनिल गावस्करले सन् १९७७–७८ सिजनमा (ब्रिसबेन) अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गरेका थिए ।
पर्थमा जारी पहिलो टेस्टको दोस्रो पालीमा भारतका लागि अर्का ओपनर केएल राहुलले पनि ७७ रनको योगदान गरे । उनले एक सय ७६ बलको सामना गरी पाँच चौका पनि हिर्काए । ३२ वर्षीय केएल राहुलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो १६औँ अर्धशतक पनि हो ।
यसैगरी, चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान विराट कोहलीले पनि टोलीका लागि अविजित एक सय रनको योगदान गरे । उनले एक सय ४३ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए ।
३६ वर्षीय विराटले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो । विराटले शतक पुरा गर्नासाथ भारतले पाली समाप्तिको घोषणा गरेको थियो । त्यतिबेला नितिषकुमार रेड्डी अविजित ३८ रन बनाउँदै क्रिजमा थिए ।
भारतको खातामा तेस्रो नम्बरमा क्रिज समाल्न आएका देवदत्त पाडिकलले पनि २५ रन थपे । वासिङ्टन सुन्दरले पनि टोलीका लागि २९ रनको योगदान गरे । भारतले अतिरिक्त रुपमा पनि ५५ रन पाएको थियो । दोस्रो पालीमा घरेलु टोली अस्ट्रेलियाका बलर निरीह देखिए । नाथन लियोनले दुई विकेट लिए । मिचेल मार्स, प्याट कमिन्स, जस हेजलउड र मिचेल स्टार्कले एक–एक विकेट हात पारे ।
त्यसअघि अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा केवल एक सय चार रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाएका थिए । एलेक्स केरीले २१, ट्राभिस हेडले ११ र नाथन म्याकस्विनीले १० रन बटुलेका थिए ।
पहिलो पालीमा अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीका बलर जसप्रित बुमराहले पाँच विकेट लिए । हर्षित राणाले तीन र मोहम्मद सिरजाले दुई विकेट हात पारेका थिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ५० रनमात्र बनउन सकेको थियो । भारतका लागि पहिलो पालीमा नितिषकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाएका थिए ।
भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि ३७ रन जोडेका थिए । ओपनर केएल राहुलले २६ रन बटुलेका थिए । ध्रुव जुरेलले पनि ११ रन बनाएका थिए । भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका तिब्रगतिका बलर जस हेजलउडले चार विकेट लिएका थिए । मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले पनि दुई–दुई विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
-
कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
-
प्रहरी विधेयक प्रधानमन्त्री कार्यालयमा पेस
-
दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन