जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
काठमाडौँ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गतको पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली भारतले अस्ट्रेलियालाई जितका लागि पाँच सय ३४ रनको लक्ष्य दिएको छ । पहिलो टेस्टको तेस्रो दिन आइतबार ६ विकेट गुमाएर चार सय ८७ रन बनाउँदै भारतले आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेपछि अस्ट्रेलियाले विशाल लक्ष्य पाएको हो ।
दोस्रो पालीमा भने भारतीय ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे । भारतका लागि दुई ब्याट्सम्यान यशस्वी जैसवाल र विराट कोहलीले शतकीय तथा केएल राहुलले अर्धशतकीय पाली खेले । जशस्वी र केएल राहुलले ओपनिङ विकेटका लागि दुई सय एक रनको साझेदारी गरे ।
जैसवालले एक सय ६१ रन बनाए । लामो समय क्रिजमा टिकेका उनले दुई सय ९७ बलको सामना गरी तीन छक्का र १५ चौका पनि हिर्काए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक पनि हो ।
सन् २०२४ मा जैसवालले प्रहार गरेको यो तेस्रो टेस्ट शतक पनि हो । जैसवाल २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गर्ने पाँच भारतीय ब्याट्सम्यानको सूचीमा पनि सामेल भएका छन् । उनले २२ वर्ष तीन सय ३२ दिनको उमेरमा यस्तो उपलब्धि हासिल गरेका हुन् ।
जैसवालका अतिरिक्त हालसम्म रवी शास्त्री र सचिन तेन्दुल्करले २३ वर्षभन्दा कम उमेरमा एकै वर्ष तीनवटा टेस्ट शतक प्रहार गरेका छन् । २३ वर्षभन्दा कम उमेरमा एकैवर्ष सबैभन्दा बढी शतक प्रहार गर्ने भारतीय खेलाडी भने सुनिल गावस्कर र विनोद काम्बली हुन् । उनीहरुले चार–चार शतक बनाएका छन् ।
यशस्वी जैसवाल केवल १५ टेस्टमा एक हजार पाँच सय रन बनाउने एसियाकै पहिलो ब्याट्सम्यान पनि बनेका छन् । उनी अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गर्ने तेस्रो भारतीय ब्याट्सम्यान पनि बनेका छन् ।
यसअघि यस्तो उपलब्धि भारतीय ब्याट्सम्यान एमएल जयसिम्हाले सन् १९६७–६८ सिजनमा (ब्रिसबेन) र सुनिल गावस्करले सन् १९७७–७८ सिजनमा (ब्रिसबेन) अस्ट्रेलियामा खेलिएको आफ्नो पहिलो टेस्टमै शतक प्रहार गरेका थिए ।
पर्थमा जारी पहिलो टेस्टको दोस्रो पालीमा भारतका लागि अर्का ओपनर केएल राहुलले पनि ७७ रनको योगदान गरे । उनले एक सय ७६ बलको सामना गरी पाँच चौका पनि हिर्काए । ३२ वर्षीय केएल राहुलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो १६ औँ अर्धशतक पनि हो ।
यसैगरी, चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान विराट कोहलीले पनि टोलीका लागि अविजित एक सय रनको योगदान गरे । उनले एक सय ४३ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए ।
३६ वर्षीय विराटले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो । विराटले शतक पुरा गर्नासाथ भारतले पाली समाप्तिको घोषणा गरेको थियो । त्यतिबेला नितिषकुमार रेड्डी अविजित ३८ रन बनाउँदै क्रिजमा थिए ।
भारतको खातामा तेस्रो नम्बरमा क्रिज समाल्न आएका देवदत्त पाडिकलले पनि २५ रन थपे । वासिङ्टन सुन्दरले पनि टोलीका लागि २९ रनको योगदान गरे ।
भारतले अतिरिक्त रुपमा पनि ५५ रन पाएको थियो । दोस्रो पालीमा घरेलु टोली अस्ट्रेलियाका बलर निरीह देखिए । नाथन लियोनले दुई विकेट लिए । मिचेल मार्स, प्याट कमिन्स, जस हेजलउड र मिचेल स्टार्कले एक–एक विकेट हात पारे ।
त्यसअघि अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा केवल एक सय चार रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाएका थिए । एलेक्स केरीले २१, ट्राभिस हेडले ११ र नाथन म्याकस्विनीले १० रन बटुलेका थिए ।
पहिलो पालीमा अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीका बलर जसप्रित बुमराहले पाँच विकेट लिए । हर्षित राणाले तीन र मोहम्मद सिरजाले दुई विकेट हात पारेका थिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ५० रनमात्र बनउन सकेको थियो । भारतका लागि पहिलो पालीमा नितिषकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाएका थिए ।
भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि ३७ रन जोडेका थिए । ओपनर केएल राहुलले २६ रन बटुलेका थिए । ध्रुव जुरेलले पनि ११ रन बनाएका थिए । भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका तीव्र गतिका बलर जस हेजलउडले चार विकेट लिएका थिए । मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले पनि दुई–दुई विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने