मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी विवाद

बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी

आइतबार, ०९ मङ्सिर २०८१, १४ : ५८
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आ–आफ्नो अडानमा कायमै रहेपछि आगामी वर्ष आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफी विवाद थप पेचिलो बन्दै गएको छ ।

बीसीसीआई र पीसीबीले आ–आफ्नो अडान नछाडेपछि प्रतियोगिताको आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि अप्ठ्यारोमा परेको छ । त्यसैले यो विवादको समाधान निकाल्न आईसीसीले आफ्नो आपतकालीन बोर्ड बैठक बोलाएको छ ।

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुने तय भएको छ । तर, अन्तिम समयमा आएर बीसीसीआईले भारतीय टोलीलाई पाकिस्तान नपठाउने निर्णय लिएपछि विवाद सुरु भएको हो ।

बीसीसीआईले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएको दाबी गरेको छ । बीसीसीआई ‘हाइब्रिड मोडल’ मा प्रतियोगिता आयोजना गरिनु पर्ने पक्षमा देखिएको छ । अर्थात, भारतीय टोली च्याम्पियन्स ट्रफीको आफ्नो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्न चाहन्छ ।

पीसीबी भने प्रतियोगिताको तयारीमा आफ्नो ठुलो धनराशी खर्च भइसकेकाले ‘हाइब्रिड मोडल’ को विपक्षमा देखिएको छ । पीसीबी कुनै पनि हालतमा प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने पक्षमा देखिएको छैन ।

बीसीसीआई र पीसीबी आ–आफ्नो अडामा कायम रहेपछि समस्यामा परेको आईसीसीले यसको समाधान खोज्न बोर्डको आपतकालीन बैठक बोलाएको हो । अब आईसीसीको बोर्ड बैठकमा ‘हाइब्रिड मोडल’ को बारेमा छलफल गरिने बताइएको छ ।

समाचारमा जनाइए अनुसार, बोर्ड सदस्यहरुले प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने वा नगर्ने भन्ने विषयमा मतदान पनि गर्ने भएका छन् । मंगलबार हुने आईसीसीको आपतकालिन बोर्ड बैठकमा सदस्यहरुले ‘हाइब्रिड मोडल’ को विषयमा मतदान गर्ने बताइएको छ । बोर्ड बैठक भर्चुअल रुपमा हुने बताइएको छ ।

आईसीसीको बोर्डमा हाल १५ सदस्य छन् । बोर्डमा आईसीसीका पूर्णकालीन १२ सदस्य राष्ट्रका अतिरिक्त तीन एसोसिएट्स सदस्य राष्ट्रका प्रतिनिधि रहन्छन् । अब यी बोर्ड सदस्यबिच ‘हाइब्रिड मोडल’ को विषयलाई लिएर मतदान हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप