एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
काठमाडौँ । नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभा गर्दा निस्किएको फोहोर व्यवस्थापन नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले सोही एक लाख जरिवाना तिर्नुपर्ने पत्र काट्यो । महानगरपालिकाले त्यस्तो पत्र काटेपछि एमालेका नेताहरूले मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको टिप्पणी गरे ।
महानगरपालिकाले काटेको पत्रपछि बालेन भर्सेस एमालेको लडाइँजस्तै देखिएको छ र गल्ती नै नगरी जरिवाना नतिर्ने एमाले नेताहरूको भनाइ सार्वजनिक भएको छ । यसैबिच काठमाडौँ महानगरपालिकाको टोली आइतबार पत्र बुझाउन च्यासलस्थित केन्द्रीय पार्टी कार्यालय पुग्दा एमालेले दर्ता गर्न मानेन । यस्तो अवस्थामा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई तपाईँहरू महानगरलाई जरिवाना कहिले तिर्नुहुन्छ भनेर प्रश्न गरेको छ । प्रस्तुत छ गौतमसँगको कुराकानी:
शुक्रबार काठमाडौँको दरबारमार्गमा कार्यक्रम गर्दा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेर पत्र काटेको छ । यो जरिवाना पार्टीले कहिले तिर्छ ?
मंसिर ७ गते हामीले दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हौँ । त्यो सभा सम्पन्न भएपछि हाम्रा स्वयंसेवकहरू, युवा विद्यार्थीहरू र महिलाहरूले कार्यक्रम गर्दा भएको सबै फोहोर एक ठाउँमा जम्मा गरेर महानगरपालिकालाई जम्मा भएको फोहोर हाल्ने कन्टेनर पठाइदिन भनेर आग्रह गर्यौँ । हाम्रो त्यो आग्रहलाई महानगरले ‘हुन्छ हुन्छ’ भन्यो तर कन्टेनर नपठाएर ‘इग्नोर’ गर्यो । बरु उसले हतारहतार एमालेले फोहोर गरेकाले महानगरका तर्फबाट एक लाख रुपैयाँ जरिवाना गरिएको छ भनेर पत्र सार्वजनिक भयो । यो भनेको एउटा मेयरले पोलिटिकल स्टन्टबाजी गरेर एमालेलाई बदनाम गर्न खोजेको हो भन्ने हाम्रो बुझाई हो । मेयर बालेन शाहको यो तरिकासँग नेकपा एमाले गम्भीर असहमति राख्छ । किनभने हामीले कार्यक्रम गर्दा जम्मा भएको फोहोर हामी आफैले उठाउनुपर्छ भन्ने नैतिक दायित्व महसुस गरेर फोहोर जम्मा नै गरिसकेका थियौँ ।
महानगरको पत्र बुझ्न किन नमानेको त ?
पत्रको औचित्य नभएकाले नबुझेका हौँ ।
यो घटनामा विधि र कानुन कार्यान्वयनको कुरा पनि जोडिएला । किनभने एउटा सरकारले गरेको निर्णयअनुसार जरिवाना तिरेर एमालेलाई उदाहरणीय बन्ने मौका पनि हुनसक्ला नि ?
नेकपा एमाले विधिको शासन र कानुनी राजको पक्षमा दृढ छ । व्यवहारबाटै आफ्नो प्रतिबद्धता व्यक्त पनि गरेको छ । तर एउटा मेयरको सन्कीको भरमा चिठी लेख्दैमा जरिवाना तिर्नुपर्छ भन्ने हुँदैन । जबकि गल्ती नै गरेको छैन भने जरिवाना तिरेर उदाहरण किन दिने ? कार्यक्रम गरेपछि फोहोर जम्मा हुन्छ भनेर नै उच्च चेत र सचेततापूर्वक फोहोर जम्मा गरिसकेपछि राजनीतिक उद्देश्य राखेर एमालेलाई बदनाम गर्ने हिसाबले एकलौटी रूपमा हाम्रा भनाइ समेत नपाई यो काम गरेको हो । सुनुवाइ गर्ने मौका नै नदिएर मैले दण्डित गरेँ, दण्ड जरिवाना दे भन्ने कुरा आफैँमा हठवादी सोच हो ।
अब एमालेले गर्छ चाहिँ के ?
बहस भइरहेको छ । एमालेले ठिक गर्यो कि बेठिक ? महानगरपालिकाले पपुलारिटीका लागि पोलिटिकल स्टन्टबाजी किन गरिरहेको छ ? मिडियाका लागि चासोको विषय भयो, पब्लिक कन्जम्सनको विषय भयो । पब्लिकले पनि बहस गर्छन् । यसमार्फत के ठिक हो र के बेठिक हो भन्ने ठाउँमा त हामी पुग्नैपर्छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै महानगरपालिकाले चिठी काटेको होइन र ? यसमा के बहस गरिरहनुपर्ला ?
काठमाडौँ महानगरपालिकाको मेयरजस्तो गरिमामय पदमा बसेको व्यक्तिले चिठी काट्न आदेश दिनुभन्दा अघि सम्बन्धित दरबारमार्ग क्षेत्रमा फोहोर छ कि छैन भनेर निरीक्षण र अनुगमन गर्नुपर्दथ्यो पहिलो कुरा त्यसो गरिएन । दोस्रो कुरा एमाले भन्ने पार्टीले आफ्नै स्वयंसेवक लगाएर फोहोर एक ठाउँमा थुपारिसकेपछि कन्टेनर माग्दा हुन्छ भनेर किन पठाइएन ? यो खोजी नीति हुनुपर्दछ ।
महानगरले चिठी काटेपछि हतारहतार एमाले कार्यकर्ता फोहोर सफा गर्न लागेका होइनन् ?
होइन । यो गलत कुरा हो । कार्यक्रम नसकी फोहोर उठाउने कुरा भएन । कार्यक्रम सकेलगत्तै कार्यक्रम सञ्चालकले नै उद्घोष गरेपछि हामी त्यही हुँदै स्वयंसेवकहरू फोहोर संकलन गर्न थालिसकेका थिए । त्यसकारण महानगरले चिठी काटेपछि फोहोर सफा गर्न लाग्यो एमालेले भनेर प्रचार गर्नु सरासर झुट हो ।
सरकारको नेतृत्वकर्ता दलले नै एउटा स्थानीय सरकारको निर्णय मान्दैन भने भोलि अरुअरुले पनि त्यसै गर्लान् । यसले त थप अराजकता बढ्दैन ?
नेकपा एमाले विधिको शासन र कानुनी राजका पक्षमा भएका कुराहरुलाई शिरोधार्य गर्न तयार छ । तर कुनै उद्देश्यमूलक ढंगले पोलिटिकल स्टन्टबाजी गर्ने र प्रतिशोध साँध्ने ढंगले एमालेलाई पेल्नुपर्यो के हँुदोरहेछ भनेर रमिता हेर्नका निम्ति गरिएको दुश्यप्रयत्नप्रति हाम्रो आपत्ति हो र यो विषय नागरिक तहमा छलफल हुनुपर्छ भनेको हो ।
यो भनेको एमाले महानगरको चिठी अनुसार जरिवाना तिर्दैन भन्ने हो ?
हामी चिठीको जवाफ पठाउँला । तर यसमा हामी नागरिक तहमा छलफल चलाउन चाहान्छाँै । एउटा मेयरले जथाभाबी अनधिकृत ढंगले पदमा छु भन्दैमा देशको एउटा प्रमुख सत्तारुढ पार्टी जो लोकतन्त्र र कानुनी राजमा विश्वास गर्ने पार्टी जसले आफूले गरेको फोहोर आफै उठाइरहेको छ, त्यस्तो बेलामा चिठी काट्नु स्टन्टमात्र हो ।
सरकारको नेतृत्व गर्ने एमाले जो सांसदको दोस्रो ठुलो दल पनि हो । तर यो पार्टी मेयर बालेन शाह, दुर्गा प्रसाईं र रवि लामिछानेहरूसँग जुधिरहनुपरेको छ । एमाले किन यसरी व्यक्ति र पार्टी विशेषमा अल्झिरहेको हो ?
एमाले जुधेको छैन । र एमाले कुनै पार्टी र व्यक्ति विशेषका विरुद्धमा खुलेको पार्टी पनि होइन । उनीहरूको विरोध गर्नुपर्ने आवश्यकता पनि ठान्दैन । तर एउटा अनवरत यात्रामा हिँडिरहेको पार्टीलाई अवरोध गर्न कोही आयो भने स्वाभाविक रूपमा बाटो पन्छाएर हिँड्नुपर्ने हुन्छ ।
त्यसकारण रवि लामिछानेको प्रशंग यहाँ जोड्न जरुरी छैन । रवि लामिछानेलाई त सार्वभौम संसद्ले बनाएको छानबिन रिपोर्टका आधारमा अदालतले दिएको पक्राउ पुर्जीको सामना गर्दै हिँडेको व्यक्तिको कुरा यहाँ आउँदैन ।
दरबारमार्गमा भएको कार्यक्रममा महासचिव र अध्यक्षले गरेको भाषण त उनीहरूप्रति पनि लक्षित थियो नि ?
एउटा व्यक्तिले आह्वान गरेर बैंकको ऋण नर्तिन् भन्छ भने त्यसमा त एमालेले प्रतिवाद गर्नैपर्छ । बैंकको ऋण तिर्दिन म खान्छु भन्दै हिँड्न मिल्छ त कानुनी राजमा ? मिल्दैन । त्यसकारण सवाल रवि,बालेन वा दुर्गा प्रसाईँको मात्र होइन । दुर्गा प्रसाईँ सोसल मिडिया दुरुपयोग गरेर प्रायोजित समाचार सम्प्रेषित गराएर हाम्रो पार्टीका अध्यक्षविरुद्ध लागेका हुन् । उनलाई हामीले कि आरोप पुष्टि गर कि कानुनको सामना गर्न तयार होऊ भनेका हौँ ।
समाजमा अराजकता भयो भनेर एमाले नेताहरू र प्रधानमन्त्री स्वयंले नै बारम्बार भन्ने गरेको सुनिन्छ । सरकारले अराजकता नियन्त्रण गर्नुपर्नेमा प्रतिपक्ष जस्तो आरोप लगाएर बस्न मिल्छ ?
प्रतिपक्षजस्तो आरोप लगाएको होइन । हाम्रो सरकार बनेपछि धमाधम सुशासनको पक्षमा काम गरिरहेको छ । उदाहरणका लागि सहकारी क्षेत्रमा भएका अपचलनका सवालमा समितिको प्रतिवेदनअनुसार कार्यान्वयन गर्न हाम्रो नेतृत्वको सरकार लागिरहेको छ । यही सिलसिलामा पाँच छ सय मानिस पक्राउ परिसकेका छन् । तीमध्ये एउटा रास्वपाको सभापतिले मलाई चाहिँ चलाउला, छोउँला भनेर बुरुकबुरुक उफ्रन मिल्छ ? पक्राउ पुर्जी अरुअरु जिल्लाबाट धमाधम काटिइरहेको अवस्था छ । सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम रास्वपाले गरिरहेको छ । त्यसो गर्दा आफैलाई लाग्छ भन्ने हेक्का रास्वपाले राख्नुपर्छ । बर्को ओढेर घिउ खाने काम बन्द गर्न रास्वपाका नेताहरूलाई आग्रह गर्छु ।
अरु पार्टीले सरकारको नेतृत्व गर्दा अराजकता बढ्यो, विधिको शासन कायम भएन भनेर एमाले नेताहरुले सरकारमाथि दोष थोपर्थे । तर अहिले आफ्नै सरकार भएपनि विधि र थिति अनुसार चल्नचलाउन एमालेले नसकेको त सत्य हो नि ?
एमाले नेतृत्वको सरकार कानुनी राज स्थापना र सुशासन कायम गर्नका निम्ति चालेका पाइलाहरूमा अवरोध सिर्जना गर्दै होहल्ला गर्ने, सडकमा रापताप बढाउने, हामीलाई कारबाही गर्न हुँदैन भन्ने, दिउँसोदिउँसो जुलुस लाउने, रातिराति प्रधानमन्त्रीलाई भेट दिनुस् भन्दै बालुवाटारमा धाउने प्रवृत्ति छ अहिले । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । त्यसकारण एमाले वा सरकार कुनै व्यक्ति विशेषविरुद्ध छैन । हाम्रो अभियान सुशासनको पक्षमा हो ।
भ्रम र निराशा चिर्ने तथा जनतामा आशा जगाउने भनेर दरबारमार्गमा शक्ति प्रदर्शन जे गर्नुभयो, अब जनतामा आशा जाग्यो त ?
राष्ट्रिय राजनीतिमा जुनजुन मुद्दा उठाएर यहाँको राजनीतिलाई धमिल्याउने कोसिस भइरहेको थियो त्यसमा हामीले केही प्रस्ट पार्ने कोसिस गर्यौ । र, ठुला दलहरूले आह्वान गर्दा जनताहरू सडकमा आउँदैनन् भन्ने अफवाहलाई चिर्ने काम गरेका छौँ ।
तर एक लाख मान्छे उतार्ने घोषणा गरेको एमालेले त्यति मानिस त उतार्न सकेनन् नि ?
हामीले त्यो कार्यक्रमका लागि बाहिरबाट मान्छे ल्याएनौँ । मान्छे यथेष्ट आए । ४० हजार मानिस आए । तर लाखौँ प्रभावित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत