शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती

आइतबार, ०९ मङ्सिर २०८१, १३ : ५९
आइतबार, ०९ मङ्सिर २०८१

नयाँ दिल्ली । वायनाडमा उपनिर्वाचन हुनुअघि कंग्रेसकी उम्मेदवार प्रियङ्का गान्धीले चुनावी प्रचार प्रसारको समयमा सर्वसाधारण जनता सामु आफ्नो लागि मत माग्दै ‘जनताको योद्धा थिएँ, अब जनप्रतिनिधि बन्ने बाटोमा छु, पहिलो पटक आफ्नो लागि भोट माग्दैछु...’ भनेकी थिइन् । 

सो क्षेत्रको जनताले उनलाई धेरै माया पनि दिए । प्रियंकाले यो सिट पूर्वसांसद र उनका भाइ राहुल गान्धीभन्दा झन्डै ४ लाख ११ हजार बढी मतले जितेकी थिइन् ।  अहिले उनी कांग्रेसको नेतृत्वकर्ता बन्लिन् त भन्ने चर्चा चर्किएको छ । प्रियंकाले संसदमा प्रवेश गरेपछि अब गान्धी परिवारका तीन सदस्य एकसाथ संसदमा हुनेछन् । 

उनी पार्टीलाई कठिनतम् समयबाट बाहिर निकाल्न सफल होलिन् कि भन्नेमा कांग्रेस नेताहरू आशावादी छन् । हरियाणाको हार र पार्टीले महाराष्ट्रमा राम्रो प्रदर्शन गर्न नसकेकै समयमा प्रियङ्का संसदमा छिर्न लागेकी छिन् ।

हजुरआमा इन्दिरा गान्धी जस्तो जोसिलो छवि

अनुहार–हाउभाउ अनि बोल्ने शैलीमा समानताको कारण प्रियंकाको तुलना प्रायः हजुरआमा इन्दिरा गान्धीसँग हुने गरेको छ । यति मात्र होइन, जनतासँग जोडिने, भीडसँग राम्रोसँग कुराकानी गर्ने र कयौँ मुद्दामा पार्टीको दृष्टिकोण प्रस्ट रूपमा प्रस्तुत गर्ने कुरामा पनि उनी विज्ञ मानिन्छन् ।

सेप्टेम्बर १९९९ मा प्रियंकाले एक पत्रकारलाई राजनीतिमा प्रवेश गर्न निकै समय लाग्न सक्ने बताएकी थिइन् । करिब २० वर्षपछि २०१९ मा उनी सक्रिय राजनीतिमा प्रवेश गरिन् । त्यसको पाँच वर्षपछि मात्रै उनले निर्वाचित जनप्रतिनिधिको रूपमा आफ्नो यात्रा सुरु गर्दैछिन् ।

‘पहिलो पटक आफ्नो लागि भोट माग्दैछु,’

सक्रिय राजनीतिमा आउनुअघि प्रियंकाले आमा र भाइका लागि मात्र प्रचार गरिरहेकी थिइन् । सन् २००४ को लोकसभा चुनावमा सोनिया गान्धीको चुनावी अभियानकी उनी प्रबन्धक थिइन् । सन् २०१९ को जनवरी २३ मा पार्टी महासचिवको पद ग्रहण गरेर राजनीतिमा प्रवेश गरिन्  र पूर्वी उत्तर प्रदेशको प्रभारी बनिन् । सन् २०२० को सेप्टेम्बर ११ मा उनलाई पार्टीले उत्तर प्रदेशको प्रभारी बनायो ।

सन् २०२२ को यूपी विधान सभाको निर्वाचन कांग्रेसले प्रियंकाको नेतृत्वमा लडेको थियो । तर जोरदार प्रचारका गर्दा गर्दै पनि कांग्रेसले प्रदेशमा दुई सिट मात्रै जित्यो । 

वायनाडमा उपनिर्वाचन क्रममा प्रियंकाले आफूले पहिलो पटक आफ्नो लागि भोट माग्न लागेको बताएकी थिइन् । यसले पनि प्रभाव पारेको थियो र उनले मतदाताबाट धेरै माया पाइन् पनि । यतिबेला प्रियङ्का सामु आफैँलाई साबित गर्ने चुनौती छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप