बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट

आइतबार, ०९ मङ्सिर २०८१, ११ : ०८
आइतबार, ०९ मङ्सिर २०८१

नोम पेन्ह । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका छन् ।

भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिएका छन् । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए ।

‘नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयता सहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ,’ सभामुखले भने ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको छ ।

सभामुखले घिमिरेले गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।’

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबिच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले जनताबिचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुनमानेट र माथिल्लो सदनसिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गरेका छन्  । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेट पछि हुने जनाइएको छ ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख घिमिरे आगामी मङ्सिर ११ गते मङ्गलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप