केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका
राज्य सञ्चालनमा बसेका प्रधानमन्त्री, मन्त्री, कर्मचारी, दलका ठुल्ठुला नेताहरू नै भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका समाचार आइरहेका छन् । पछिल्लो समय राज्यका उपल्लो तहमा पुगेका व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, दलका नेताहरू, धार्मिक अभियन्ताहरूमा नैतिकता हराउँदै गएको विश्लेषण हुन थालेको छ ।
अझ आफूलाई जनवादी केन्द्रीयताको बलिया पहरेदार दाबी गर्ने नेपाली कम्युनिस्ट पार्टीहरूमा त पछिल्लो समय विचारहीन, संस्कारहीन प्रवृत्ति बढ्दै गएको देखिन्छ । यी पार्टीका ठुला नेताहरू नै मानव तस्करी, सुन तस्करी, भ्रष्टाचार, नैतिक पतनजस्ता गम्भीर अपराधमा जोडिएका छन् । नेताहरूको पछिल्ला प्रवृत्तिले श्रम र उत्पादन छाडेर कमिसनको चक्करमा लोभिँदै गएको प्रस्ट पार्दै लगेको छ ।
कम्युनिस्ट पार्टीमा श्रम र उत्पादन संस्कृति किन हराउँदै गयो ? वर्गमुक्ति आन्दोनलमा संघर्षमा होमिएका नेताहरू नै अपराध कर्ममा किन जोडिन थाले ? केपी ओली, प्रचण्ड, माधव नेपालले भाषणमा भनेजस्तै समाजवादमा पुग्न सक्छन् ? यसै विषयमा केन्द्रित रहेर रातोपाटीका संवाददाता गणेश पाण्डेले अर्थ– राजनीतिक विश्लेषक हरि रोकासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, रोकासँग गरिएको कुराकानीको सम्पादित अंशः
कम्युनिस्ट पार्टीमा श्रम र उत्पादन नीति बलियो हुनुपर्ने होइन र ?
सबैभन्दा पहिला नेपालका वामपन्थी पार्टीहरू, जसले आफूलाई कम्युनिस्ट भन्छन्, उनीहरूको अहिलेसम्मको अवस्था हेर्दा अध्ययनको अभाव देखिन्छ । राजनीतिक रूपमा ठुल्ठुला गफ गर्ने तर आर्थिक नीति के हुन्छ भन्नेबारे जानकारी नै नभएका जमात पार्टीको नेतृत्व तहमा पुगे । त्यसले गर्दा श्रम र उत्पादन नीति कमजोर भएको देखिन्छ ।
सत्ताको नेतृत्व गरेको एमालेकै कुरा गर्दा पार्टीको उत्पादन नीति कमजोर देखिन्छ । माओवादी केन्द्रको सातौँ महाधिवेशनले उत्पादन बिग्रेड बनाउने नीति ल्यायो तर कार्यान्वयन हुन सकेन, किन होला ?
सबैभन्दा पहिला उनीहरूलाई समाजवाद के हो भन्ने कुराको जानकारी छैन । यसबारे दस्ताबेजमा परिभाषा गरेको पनि छैन । मिश्रित अर्थतन्त्र के हो भन्ने कुरा थाहा पनि छैन । कार्ल मार्क्सले अगाडि सारेका समाजवादको आइडिया के थियो भन्ने कुरा पनि थाहा छैन । यसको कार्यक्रम के हुनुपर्छ ? उदारवाद, नयाँ उदारवाद, बजार अर्थशास्त्रीहरूले भनेको भन्दा समाजवादमा के फरक छ ? समाजवादमा कुन पक्षको काम गर्नुपर्छ ? नेताहरूलाई यसबारेमा जानकारी नै छैन । जानकारी नै नभएपछि कार्यक्रम कसरी ल्याउँछन् ?
खासमा कम्युनिस्ट पार्टीमा श्रम र उत्पादन नीति कस्तो हुनुपर्छ ?
मैले वैकल्पिक अर्थतन्त्रबारे आलेख नै लेखेको छु । नेपालको सन्दर्भमा वैकल्पिक अर्थतन्त्र भनेको दिगो र विश्वकै सन्दर्भमा नयाँ परिभाषित गर्नु जरुरी छ किनकि विगतदेखि अहिलेसम्म खासगरी सन् १९७० यता हामी नवउदारवादी बजार अर्थतन्त्रमा छौँ ।
नेपालमा यसलाई १९८५ देखि लागु गरेका छौँ । त्यहाँदेखि अहिलेसम्म नवउदारवादी बजार अर्थतन्त्र अन्तर्गत छौँ । त्यसको विरोध गरेर समाजवादी अर्थतन्त्र वा जनवादी अर्थतन्त्रको नारा लगाएर नेपालका वामपन्थी यहाँसम्म आइपुगे । तर उनीहरूले वैकल्पिक परिभाषा दिन सकेनन् । चुरो कुरा के हो ? श्रम भनेको के हो ? श्रमजीवी भनेको के हो ? श्रमवर्ग के हो ? आफ्ना मतदाता के हो ? कसको पक्षमा काम गर्नुपर्ने थियो भन्ने बारेमा न व्याख्या छ, न त विश्लेषण छ । न वर्गीय चिन्तन भएका मानिसहरू प्रधानमन्त्री–अर्थमन्त्री हुँदा लागु गर्छन् । अलि अगाडि माओवादीबाट बाबुराम भट्टराई अर्थमन्त्री हुँदा समाजवादी अर्थतन्त्रबारे व्याख्या गरेनन् । वर्षमान पुन अर्थमन्त्री भए, उनले पनि गरेनन् । त्यस्तै एमालेबाट धेरै मान्छे अर्थमन्त्री भए । तर उनीहरूलाई समाजवादी अर्थतन्त्र भनेको के हो ? समाजवाद के हो ? समाजवाद वा सामाजिक काम के गर्नुपर्छ ? त्यसका लागि नीति निर्माण के हुन्छ भन्ने कुरा नै थाहा छैन ।
अहिले प्रधानमन्त्री केपी ओली छन् । उनलाई नै समाजवाद के हो भन्ने थाहा छैन । उनीहरू पुँजीवादको मतियार भएका छन् । ओलीमात्र होइन, प्रचण्डको कुरा पनि त्यही हो । समाजको नयाँ तप्का, पुराना तप्का वा सामान्य श्रम गरेर खाने श्रमजीवीको पक्षमा उनीहरूको कुनै नीति र कार्यक्रम छैन, विश्वास पनि छैन । यिनीहरूलाई कम्युनिस्ट पार्टीको ब्राण्डमात्र चाहिएको छ । तर यिनीहरू कम्युनिस्ट पार्टी नै होइनन् । त्यसकारण उनीहरूलाई समाजवाद चाहिएको विषय पनि होइन । यसो देखाउने ब्राण्डजस्तो मात्र खोजेका हुन् ।
देशको अर्थतन्त्र आत्मनिर्भर हुनका लागि पहिला पार्टीहरू नै आत्मनिर्भर हुनुपर्ने होइन र ?
दलहरूले आफ्ना मतदातालाई गणना गरेको हो । वास्तवमा कार्यकर्ता कोही नै छैनन् । उनीहरू सैद्धान्तिक, वैचारिक रूपमा प्रतिबद्ध छैनन् । नेकपा एमाले भन्छन् तर नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी, लेनिनवादीको आधारभूत सिद्धान्त के हो भनेर जानकारी नभएका मानिसहरू पार्टी सदस्य छन् । पार्टी सदस्यमात्र होइन, माथिल्लो तहमा पुगेका छन् । यस्तै माओवादीमा पनि छन् । त्यसकारण उनीहरूको बारेमा धेरै ठुलो चियोचर्चो गरिराख्न आवश्यक छैन । यिनीहरू पुँजीवादी पार्टी पनि होइनन् । सामन्तवादी पार्टी हुन् । हैकम चलाउँछन् । एमालेमा ओली महाराजजस्ता भएका छन् । माओवादीमा प्रचण्ड ‘महाराजा’ भएका छन् ।
विप्लवले कृषिमा अहिले आत्मनिर्भर उत्पादन नीति ल्याएका छन् । केन्द्रीय सदस्यहरूको कमाण्डमा देशभर सक्रिय भएर लागेका छन् । यो बुझेर गरेका हुन् वा सत्ता प्राप्तिको अर्को प्रयासमात्र हो ?
उनीहरूले काम गरिराखेको भए राम्रो कुरा हो । पार्टी टिकाउनका लागि उत्पादनमा जोड दिनु राम्रो कुरा हो । तर मुख्य कुरा, राजनीतिक दर्शन नभएसम्म चल्दैन । कुनै पनि पार्टी चल्न ऊसँग दर्शन हुनुपर्छ । दर्शन अनुसारको राजनीति हुनुपर्छ । पैसा कमाउने, थन्क्याउने कामले पछि झगडा हुन्छ ।
नेपालको हावापानी, परिवेश, भौगोलिक अवस्था, राज्यको नीति हेर्दा कृषिमा कुनै पनि पार्टी आत्मनिर्भर बन्न सक्छ कि विकल्प खोज्नुपर्ने अवस्था छ ?
यो समष्टिमा खोज्नुपर्ने हुन्छ । कृषिमात्र खोजेर हुँदैन । पुरानै कृषि व्यवस्थामा फर्किन मान्छे पनि चाहियो । विद्यमान अवस्थाबाट कृषिबाट आत्मनिर्भर बन्न सक्दैन । यसबाट उत्पादन र मानिसको आकर्षण हुन सक्दैन । श्रम र प्रविधिलाईलाई नयाँ ढाँचाबाट परिचालन गर्नुपर्छ । कृषि र उद्योगलाई जोडेर वैदेशिक व्यापारको कुराकानी गर्नुपर्ने हुन्छ । बिजुली, पर्यटन व्यवसायमा जोड दिनुपर्छ । हामीले इन्डिकेटेड नयाँ एप्रोचबाट नयाँ खालको अर्थतन्त्रको विकास गर्नुपर्ने हुन्छ । त्यो विकास गर्न एउटा नयाँ भिजन चाहिन्छ । अहिलेका कम्युनिस्ट वा प्रजातान्त्रिक भनिएका पार्टीसँग त्यस्तो भिजन देखिँदैन ।
समाजवादी तथा कम्युनिस्ट देशहरूमा कस्तो खालको अर्थव्यवस्था लागु भएको छ ? ती देशमा उत्पादन नीति कस्तो छ ?
सबैभन्दा पहिला हामीले उत्पादन शक्ति बलियो बनाउनुपर्छ । उत्पादन शक्ति बलियो हुनुको अर्थ उपयोग गर्ने र उपभोग गर्ने दुवै कुरा बलशाली हुनुपर्छ । उत्पादनका साधनमाथि उसको स्वामित्व हुनुपर्यो । त्यसपछि राज्यले कसरी व्यवस्थापन गर्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्याउने ? हामीले के उत्पादन गर्न सक्छौँ ? यसका लागि कसरी योजना बनाउने ? यी सबै कुरा जोडिएर आउँछन् ।
कोही प्रारम्भिक चरणमा छन् । जस्तै भेनुजुएलामा उनीहरूले प्रयत्न गरिरहेका छन् । त्यहाँ धेरै लामो अभ्यास भएको छैन । क्युवामा ‘सस्टेन’ गरिरहेको छ । उनीहरूले भरसक मिश्रित अर्थतन्त्रतर्फ जाउँ भनेका छन् । उनीहरूसँग अमेरिकाले लगाएको प्रतिबन्धले चुनौती छ । चिनियाँहरूले जति गरिराखेका छन्, उनीहरूले सबैभन्दा पहिला प्रारम्भिक चरणमा शिक्षा र स्वास्थ्यका लागि ठुलो काम गरे । समाजवादको भौतिक पूर्वाधार विकास गरे । दोस्रो चरणमा आफूसँग भएका पुँजीको अभाव, प्रविधिको अभाव पूरा गर्न मिश्रित अर्थतन्त्रमा गए । बजारसँग उनीहरूको सामिप्यता बढ्यो । अहिले ठुलो क्षमता निर्माण गरेका छन् । यो हिसाबले उनीहरू अहिले नयाँ गतिसाथ अगाडि बढेका छन् ।
मुख्य कुरा, राज्य नियन्त्रित पुँजीवादमा चिनियाँ लागिपरेका छन् । रुस अब समाजवादी मुलुक रहेन । तर पनि त्यहाँ राज्य नियन्त्रित पुँजीवाद छ । त्यसकारण हामीले नेपालको सन्दर्भमा समाजवाद खोज्ने हो । हाम्रो प्रिमिटिभ सोसाइटी जस्तो छ, पुँजीवादको विकास पनि भएको छैन । यसलाई उत्पादित पुँजीवादतर्फ जानुपर्छ । त्यसपछि ठुलो उत्पादन शक्ति तयार पार्ने दिशातर्फ जानुपर्छ ।
मुलुकमै उत्पादन बढाउनेतर्फ उन्मुख हुनुपर्ने हाम्रो अर्थतन्त्र हो । त्यसका लागि योजना चाहिन्छ । पहिलो कुरा अनुसन्धान, खोजी हुनुपर्छ । दोस्रो, त्यसलाई व्यवस्थित गर्ने पुँजी, प्रविधि, श्रम लगायत उत्पादनका साधनलाई व्यवस्थित गर्नुपर्नेछ । तेस्रो, आम मानिसलाई उत्पादन पद्धतिमा कसरी जोड्न सकिन्छ भन्नेतर्फ कुराकानी गर्नुपर्छ । यी सबै योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्छ । त्यसका लागि चिन्तन गर्ने न खुबी छ, न त उनीहरू त्यसलाई प्रमोट गर्न चाहन्छन् । न उनीहरूसँग त्यस्ता बुद्धिजीवीहरू नै गाँसिएका छन्, न त सुक्ष्म दृष्टिकोण भएका नेताहरू नै छन् । खाली खान र आफ्ना परिवारका लागि माथि उठाउनमात्रै लागिरहेको देखिन्छ ।
ठुला नेता, मन्त्रीहरू नै भ्रष्टाचार, ठगी, तस्करी लगायत विभिन्न काण्डमा जोडिएका छन्, किन ?
जब दर्शनबाट च्यूत हुन्छन्, विचारधारा बाँकी रहँदैन । उनीहरूसँग नैतिकता पनि हुँदैन । विचार नभएको मान्छेलाई, समाज कसरी रूपान्तरण हुन्छ भन्ने ज्ञान नभएको मान्छेलाई पैसामा विश्वास हुन्छ । पैसा जसरी पनि कमाउनुपर्छ भन्ने सोच भएका मान्छे भ्रष्टाचारमा जाने नै भए । दिनैपिच्छे नेता, मन्त्री, कर्मचारी, सांसद भ्रष्टाचारमा नजोडिएको पाउनै मुस्किल भइसक्यो । भ्रष्टाचार सांस्कृतिक रूपमै विकास भइरहेको छ । अहिले कांग्रेस, एमाले, माओवादी, रास्वपा सबै त्यस्तै देखिए । यी सबै विचारहीन, संस्कारहीन हुनुको अर्थ हो ।