आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी

आइतबार, ०९ मङ्सिर २०८१, ०६ : ३९
आइतबार, ०९ मङ्सिर २०८१

विराटनगर । कोशी प्रदेशको चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ५ अर्ब ९२ करोड ५० लाख खर्च भएको छ । जसमध्ये ३ अर्ब ५१ करोड १ लाख चालू र १ अर्ब ३२ करोड ७२ लाख पुँजीगत तथा १ अर्ब ८ करोड ७७ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको छ । 

प्रदेशले गरेको यो खर्च कूल विनियोजित बजेटको १६.८ प्रतिशत हो । जसमा चालूतर्फ २४.३ र पुँजीगततर्फ ८.२ प्रतिशत रहेको छ । यस्तै स्थानीय तह अनुदानमा २३.६ प्रतिशत खर्च भएको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारको कूल खर्चमध्ये सबैभन्दा बढी असोज महिनामा भएको छ । उक्त महिनामा २ अर्ब २९ करोड ५९ लाख खर्च भएको छ भने सबैभन्दा कम खर्च भदौ महिनामा ७७ करोड २ लाख रुपैयाँ भएको छ । 

यस्तै गत वर्षको तुलनामा चालू आर्थिक वर्षको कार्तिक महिनासम्म प्रदेशको राजस्व सङ्कलन र खर्चमा वृद्धि भएको छ । सङ्घबाट प्रदेशलाई प्राप्त हुने अनुदानमा भने कमी हुँदा प्रदेशको समग्र आयमा भने गत वर्षको तुलनामा कम देखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 

कार्तिक सम्ममा सङ्घीय राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक राजस्व गरी ३ अर्ब ४८ करोड ३८ लाख राजस्व सङ्कलन र प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको २० प्रतिशत हो । यस्तै सङ्घ अनुदानबाट जम्मा ३ अर्ब ५१ करोड ४ लाख निकासा प्राप्त भएको मन्त्रालयले जनाएको छ । जुन वार्षिक लक्ष्यको २४.१ प्रतिशत हो । आर्थिक वर्षको प्रथम चौमासिकसम्म प्रदेश सञ्चितकोषमा राजस्व र अनुदान गरी जम्मा ६ अर्ब ९९ करोड ४२ लाख प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको २१.९ प्रतिशत हो । 

यस्तै गत आर्थिक वर्षको कार्तिक महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको प्रदेशको कुल राजस्व सङ्कलन १८.६ प्रतिशतले वृद्धि भएको छ । अनुदान प्राप्तिमा भने २२.१ प्रतिशतले कमी भएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा सङ्घ सशर्त, समपूरक र विशेष अनुदानको बजेट ७ अर्ब ३३ करोड ३२ लाख थियो । चालू आर्थिक वर्षमा तीनवटै अनुदानको लक्ष्य ५ अर्ब ५९ करोड ९४ लाख रहेको छ । 

प्रदेशमा बढेको राजस्वमध्ये घरजग्गा रजिस्ट्रेसन शुल्क ७६ प्रतिशत, सवारी साधन कर ७४ प्रतिशत, चालक अनुमतिपत्र र यातायात क्षेत्रको आम्दानी ६ प्रतिशत, अनुदान निकासा फिर्ता, बेरुजू ९ प्रतिशत, स्थानीय तहबाट प्राप्त राजस्व १९ प्रतिशत, विविध शुल्क अन्य राजस्वबाट ८८ प्रतिशत, व्यवसाय रजिस्ट्रेसन दस्तुर २७ प्रतिशत र आन्तरिक राजस्व जम्मा ४० प्रतिशतले बढेको हो । यस्तै सङ्घीय राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र रोयल्टी पनि ११ प्रतिशतले बढेको छ । यसरी हेर्दा जम्मा राजस्व १८.६ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । कोशी प्रदेश सरकारले आन्तरिक राजस्व ४ अर्ब ९८ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । प्रथम चौमासिकमा भने १ अर्ब ११ करोड १८ लाख जम्मा भएको छ । 

यस्तै समानीकरण अनुदान २ प्रतिशतले वृद्धि हुँदा सशर्त अनुदान ५४ प्रतिशत, समपूरक अनुदान १२ प्रतिशत र विशेष अनुदानमा भने ९ प्रतिशतले कमी आएको छ । प्रदेश सरकारले कूल राजस्व र अनुदान ३१ अर्ब ९२ करोड ३४ लाख प्राप्त हुने अनुमान गरेको छ । यस्तै नगद मौज्दात ३ अर्ब २५ करोड र वैदेशिक अनुदान सोझै भुक्तानी १० करोड ५९ लाख प्राप्त हुने अनुमान गर्दै ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप