१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. निजी मेडिकल कलेजको उद्घोष
निजी मेडिकल कलेजका सञ्चालकले स्नातकोत्तर तहमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने उद्घोष गरेका छन् । शनिबार आयोजित पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवा सुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ ।
२. पोखरामा भारतीय सेना प्रमुख
नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन् । त्यस दौरान उनले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरे ।
उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसँग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना)की अध्यक्ष सुनीता द्विवेदीले कुराकानी समेत गरे । भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरेका छन् ।
३.मुख्यमन्त्रीको दैलोमा शहीद परिवार
मधेस आन्दोलनका शहीद परिवारका सदस्यले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहीद भएका थिए । सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवार आन्दोलित भएका हुन् ।
४. माओवादी नेता राईको निधन
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गरे । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उनी हाल केन्द्रीय सदस्य थिए । राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई साथ दिएका थिए ।
५. एनआरएनएभित्रको विवाद
विश्वभरका गैरआवासीय नेपालीहरूको छाता संस्था ‘गैरआवासीय नेपाली संघ (एनआरएनए) थप संकटको डिलमा पुगेको छ । देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको गैरआवासीय नेपालीको उक्त संगठन एकपछि अर्को आन्तरिक विवादमा फस्दा अहिले गम्भीर संकटको अवस्थामा पुगेको हो । नेपालको संविधानमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने उल्लेख छ भने त्यसका लागि सरकारले प्रमुख त एनआरएनएसँगै सहकार्य गर्दै आएको छ ।
६. डेंगु सङ्क्रमण दर घटे पनि जोखिम कायमै
गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
७. माइतीघरमा प्रदर्शन
इजरायलले प्यालेस्टाइनमा गरेको बर्बर नरसंहारविरुद्ध संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार सो नरसंहारविरुद्ध संयुक्त अभियान नेपालले माइतीघर मण्डलमा संयुक्त जनप्रदर्शन गरेको हो । माइतीघर मण्डलाबाट सुरु भएको नाराजुलुस बिजुली बजार हुँदै पुनः माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।
८. नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरेका छन् । शनिवार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गरे ।
उनले भने, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन ।’ ‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ’ उनले भनेका छन् ।
९. पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
१०. विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग
संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरुलाई विवाह गर्ने न्यूनतम उमेर घटाउनुपर्ने माग आएको बताएकी छिन् । समितिले देशभरका कारागार तथा बाल सुधारगृह भ्रमण गर्दा यस्तो माग आएको उनले बताएकी हुन् । बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति सुवेदीले समितिले केही समय अघि देशभरका १० कारागार तथा ३ बाल सुधारगृहको अनुगमन गर्दा बालविवाहकै कारण धेरै बालबालिका जेलमा परेको पाएको र सो क्रममा उमेर घटाउन माग आएको उनको भनाइ थियो ।
११. प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा निर्माण गरिएको भगवती मन्दिर र नागरिक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता सुनिश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराए ।
१२. मोदीको प्रतिक्रिया
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् । महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित