महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् ।
महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ ।
त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जित्ने अनुमान गरिएको छ ।
झारखण्डमा विपक्षी भाजपाले २२ सिट जित्ने देखिएको छ भने उसको सहयोगी अल झारखण्ड स्टुडेन्ट्स पार्टी (आजसू), लोक जनशक्ति पार्टी (रामविलास) र जनता दल (युनाइटेड) ले एक–एक सिट जित्ने अनुमान गरिएको छ । यहाँका धेरै सिटमा अझै मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार हेमन्त सोरेनले भाजपाका गामलियाल हेम्ब्रोमलाई ३९ हजार ७९१ मतको अन्तरले पराजित गर्दै बरहैतमा निर्वाचित भएका छन् । सोरेनलाई ९५ हजार ६१२ मत प्राप्त भएको छ भने हेमब्रोमले ५५ हजार ८२१ म्त प्राप्त गरेका छन् ।
सोरेन अब जेएमएम नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा देखिएका छन् ।
प्रधानमन्त्री मोदीद्वारा आभार प्रकट
सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिएका छन् ।
सन्देशमा उनले लेखेका छन्, “विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौँ । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेष गरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”
उनले थपे, “यो स्नेह र न्यानोपन अतुलनीय छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ। जय महाराष्ट्र !”
प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिएका छन् ।
काङ्ग्रेस सामाजिक न्यायका लागि लड्ने अध्यक्ष खड़गेको भनाइ
काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले पनि झारखण्ड र महाराष्ट्रको चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गर्दै एक्समा गरिएको पोस्टमा खड्गेले झारखण्डका लागि लेखेका छन्, ‘झारखण्डका जनताले आफ्नो सार्वजनिक अधिकार, पानी, जङ्गल, भूमिको मुद्दालाई प्राथमिकताका साथ रोजेका छन् ।’
उनले ‘विभाजनकारी र झूटको राजनीतिलाई अस्वीकार गर्दै’ भने, ‘हामीले संवैधानिक संस्थाहरूको दुरुपयोगको खेललाई परास्त गरेका छौँ ।’ उनले हेमन्त सोरेन र गठबन्धनका सबै नेतालाई धन्यवाद दिएका छन् भने सबै काङ्ग्रेस कार्यकर्तालाई हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
उनले भने, ‘हामीले सामाजिक न्यायका लागि लड्नुपर्छ, जनताको आवाजलाई उच्च राख्नुपर्छ, जवाफदेही सरकार बनाउनुपर्छ । विश्वास अक्षुण्ण छ ।’
महाराष्ट्रको चुनावी परिणामबारे कांग्रेस अध्यक्ष खड्गेले लेखेका छन्, “महाराष्ट्रको परिणाम अनपेक्षित छ । पार्टीले यी परिणामहरूको तहसम्म पुग्न र वास्तविक कारणहरू बुझ्न प्रयास गरिरहेको छ। हामी हाम्रा नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिन्छौँ। हामी छत्रपति शिवाजी, शाहूजी, फुले र बाबासाहेब अम्बेडकरको विचारधाराका सच्चा प्रतीक हौँ ।’