आफ्नै गाउँ (लघुकथा)
आइते आफ्नो दुर्गम गाउँबाट एउटा गाडी समातेर लामो दुरी तय गरेर सहरमा आइपुग्यो। उ सहरमा आएपछि आफ्नो गाउँभन्दा फरक ठूला ठूला घर, रङ्गीचङ्गी ठाउँ र वरिपरि ठुलठुला मोटरहरू देख्यो । त्यो ठाउँ देखेर उसले गाउँभन्दा सहर पो राम्रो हुँदो रहेछ भन्दै आफ्नो गाउँलाई धिक्कार्न थाल्यो।
केही समयपछि आइते आफन्तको डेरामा पुग्यो। आइतेका आफन्तहरू कामका सिलसिलामा डेराभन्दा निकै टाढा गएका थिए । उ एक्लै डेरा बाहिर पर्खिएर बस्यो । झमक्क साँझ पर्यो । वरिपरि कुकुरहरू भुक्न थाले । सबै ठाउँ सुनसान हुन थाल्यो। केही समयपछि आइतेका आफन्त डेरामा आइपुगे।
आइतेलाई आफ्नो गाउँघरको खबर सोधे। केही बेरपछि कुराकानी भयो र खाना खाएर सबै जना सुते। भोलिपल्ट बिहान आइते उठ्नुभन्दा अगाडि नै उनका आफन्तहरू जीवन निर्वाहका लागि आ–आफ्नो काममा बाहिर निक्लिसक्नुभएको थियो। आइते कोठामा बस्दा बस्दा दिक्क हुन थाल्यो र बाहिर आफ्नो लागि पनि काम खोज्न हिँड्यो।
उ एउटा ठुलो इट्टा कारखानामा पुग्यो। त्यहाँ उसले आफ्नो लागि काम पनि पायो। आइते इमानदारीका साथ काम गर्थ्यो तर उसको पढाइ बिचमै छुटेको थियो ।
एक दिन उ काम गर्दागर्दै उसकै उमेरको साथी पढ्न गइरहेको देख्यो। त्यसपछि उसलाई पनि पढ्ने इच्छा जाग्यो। भोलिपल्ट ऊ कामबाट छुट्टी लिएर आफ्नो पढाइको लागि कलेज खोज्न गयो। उसले एउटा राम्रो सरकारी कलेज भेट्यो।
त्यहाँ उसले अध्ययन गर्न थाल्यो र काम पनि गरिरहेको थियो । केही समयपछि पढाइको र कामको तनावले गर्दा ऊ निकै बिरामी पर्यो। उता गाउँमा भने उसकी आमा आफ्नो छोराले गरिबीलाई मेटाएर चुहेको छानोलाई टाल्छ भन्ने आशामा बाटो कुरिरहेकी थिइन् ।
उता सहरमा छोरो निकै बिरामी परेको थियो। आइतेलाई सहयोग गर्ने कोही पनि थिएनन् । उसलाई आफ्नो गाउँको झलझली याद आइरहेको थियो। उसले सोच्यो कि म गाउँमा भएको भए तल्ला घरे काका र सबै जना गाउँका छिमेकीहरू मिलेर मलाई अस्पताल लैजान्थे । सबैले माया गर्थे होला । थुक्क यो सहर ।
बिरामी भएकै बेला उसले आमालाई फोन गर्यो । आइतेले सहरका पीडाहरू आमालाई पोख्यो । त्यस्तो सुनेपछि आमाले आफ्नो घर फर्किन अनुरोध गरिन् । उसले अब गाउँमै बसेर मेहनत गरी आफ्नो जीवन अगाडि बढाउनु पर्छ भन्ने अठोट लियो र गाउँ फर्कियो ।
आइतेले गाउँमै कृषि ,पशुपालन जस्ता व्यवसाय सुरु गर्यो । आफ्नो बाँकी रहेको पढाइ पनि गाउँकै कलेजमा सुरु गर्यो । ऊ जन्मभूमि फर्केर आफ्नो गाउँ सुन्दर बनायो। आफ्नी एक्ली आमाको सहारा बन्दै गाउँमै धेरै आर्थिक उन्नति गरी खुसी भई बाँच्यो।
-शङ्कर नेसनल इङ्लिस स्कुल, सूर्यविनायक-४ भक्तपुर
कक्षा : ६