मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता

शनिबार, ०८ मङ्सिर २०८१, १७ : ५९
शनिबार, ०८ मङ्सिर २०८१

जुम्ला ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्ला पुगेर स्याउ किसानसँग छलफल गरेका छन् । कर्णाली यात्रा अन्तर्गत माथिल्लो कर्णाली पुगेका कँडेलले शनिवार जुम्लामा व्यावसायिक खेती गरिरहेका ७० भन्दा बढी किसानहरूसँग छलफल गरेका हुन् । 

कार्यक्रममा स्याउ खेतीको लागि नेपालमा सबैभन्दा धेरै सम्भावना भएको जुम्ला जिल्लामा किसानहरूले भोग्नु परेका समस्या र समाधानमा प्रदेश सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे कँडेलले छलफल गरेका थिए । किसानहरूले कँडेलसँग सुरुमा केही गुनासाहरू राखे ।

पातारासीका किसान लक्ष्मण बोहोराले महामारीको रूपमा स्याउमा किराहरू लागेकोले जुम्लाको स्याउ बेच्न नसकिने अवस्था आउन सक्ने बताए । बोहोराले गुणस्तरीय नर्सरीको अभावमा बिरुवाको गुणस्तरीयता नहुँदा स्याउको गुणस्तरमा समस्या देखिएको भन्दै राज्यले सहयोग गर्नुपर्ने कुरा मुख्यमन्त्री कँडेलसँग राखे । 

उनले भने, ‘स्याउ खेतीमा प्राविधिकको अभाव रहेकोले प्राविधिक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्दछु ।’ अर्का स्याउ किसान गोविन्द शाहीले सरकारले एक अर्बको ग्रेडिङ मेसिन स्थापना गरे पनि बत्तीको अभावमा त्यसको सञ्चालन नभएको बताए । जसका कारण किसानलाई समस्या भइरहेको गुनासो उनको थियो । 

मुख्यमन्त्री कँडेलले जुम्लाको स्याउले राष्ट्रियस्तरमै बजार लिँदै गएकोमा खुसी व्यक्त गर्दै स्याउको उत्पादन र बजार प्रर्बद्धनमा प्रदेश सरकारको भूमिका बढाउन स्थानीय स्तरमै छलफल चलाइएको बताए । उनले भने– ‘स्याउ खेती प्रबद्र्धनमा सहयोग गर्ने विभिन्न निकायहरू छन्, तपाईँहरू आफै पनि गरिरहनुभएको छ, तर यसलाई व्यवस्थित र एकीकृत रूपमा कसरी राम्रो गर्न सकिन्छ भन्ने उद्देश्यले तपाईंहरु सबैलाई राखेर छुट्टै छलफल चलाइएको हो ।’

प्रदेश सरकारले स्याउमा अहिले गरिरहेको काम बाहेक थप राम्रो गर्न सकिने साझा प्रस्ताव आए प्रदेश सरकारले त्यसतर्फ अगाडि बढ्ने बताए ।

साथै कँडेलले जुम्लाको सबैभन्दा ठुलो स्याउ बगैँचा रहेको सानो गुठीचौर पुगेका थिए । त्यहाँ हिमाली टी एन्ड एग्रो फार्म हाउसको निरीक्षण गरेका थिए ।  यो वर्ष जुम्लाबाट मात्रै ६१ करोड भन्दा बढीको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप