शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

कृष्ण सेन ‘इच्छुक’का तीन कविता

शनिबार, ०८ मङ्सिर २०८१, १६ : ५२
शनिबार, ०८ मङ्सिर २०८१

१) इतिहासको यस घडीमा

यस बेला केही निस्तेज शिरहरू झुकेर 

सभक्ति अभिषेक चढाइरहेछन्

म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु 

यस बेला केही दुर्बल मुट्ठीहरू फुकेर

विनीत भावले जुम्लेहात जोडिरहेछन्

म तिम्रो बज्र मुट्ठीलाई झन् सबल देख्न चाहिरहेछु 

यस बेला केही थकित पाइलाहरू गलेर

माझ बिसौनीमै बास मागिरहेछन्

म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु

यस बेला केही कर्णकटु स्वरहरू काँपेर

प्रशस्ति वाचन गरिहेछन्

म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।

व्यथित देशको चिन्ताले

आहत जनताको पीडा र सुस्केराले

हरदम अभिभूत तिमी

ए, मेरो युगको तरुण नायक !

यस बेला मैले कविता लेखूँ–नलेखूँ फरक पर्दैन

तर तिम्रो आँधी–बेहरीमय महायात्रा भनेर रोकिनुहुन्न 

इतिहासको यस सङ्क्रमणशील घडीमा

भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई

निधारबाट रगतका बाछिटाहरू पुछेर

दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष 

तिमी भने झुक्किनुहुन्न

कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लालीगुराँस 

तिमी भने यो फँदीमै अलमलिनुहुन्न ।

२) उत्तरतिर

उत्तरतिर

एक हुल चराहरू 

आकाशमाथि हान्निएर उडिरहे 

प्रिय पन्छीहरू

कतै जङ्गलभित्र फर्जी मुठभेड भयो कि ?

उत्तरतिर अग्लो पहाडमाथि

धुवाँको बाक्लो मुस्लो उडिरह्यो

प्रिय पर्वतहरू

कतै तिम्रो काखमा

भयानक बमवर्षा भयो कि ?

उत्तरतिर

आँधीमय गतिमा

कालो बादल मडारिइरह्यो

प्रिय हावाहरू

कतै सिङ्गो गाउँ नै घेरामा पर्‍यो कि ?

यतिखेर फगत आँखाहरू 

हेरिरहन्छन् उत्तरतिर

यतिखेर फगत कानहरू 

फर्किरहन्छन् उत्तरतिर 

प्रिय हिमालहरू

कतै तिम्रो हिमपाखामा

कुनै विदेशी बुटले कुल्चियो कि ?

उत्तरतिर छङछङ खस्ने छहराहरूमा 

उत्तरतिर कलकल बग्ने खोलाहरूमा 

नदीहरूमा÷नालाहरूमा

प्रिय माडी र राप्तीहरू 

कतै रगतको सुनकोसी बगेर

तिम्रो जलधारा नै रगताम्य भयो कि ?

हरपल दुखिरहेछ आशङ्काको शूल

हरघडी फुटिरहेछ संवेदनाको मूल

कहिले फुल्ला जीवनमा प्रशन्नताको फूल

प्रिय गुराँसहरू भन !

यसपल्ट त तिम्रो मधुर लालीले 

सिङ्गो देश नै रातै होला कि !

३) जेल

म पर्खालभित्र छु 

तिमी पर्खालबाहिर छौ

म पहराभित्र छु, तिमी पहराबाहिर छौ 

म यातना–गृहमा छु 

तिमी खुला शिविरमा छौ 

सिकारीले बाँधेको छाँद होस्

अथवा त्यो उसको फाँद होस्

के फरक पर्‍यो र ?

मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी 

जहाँ काटनुपरे पनि त्यो जेल हुन्छ ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ 

जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ 

जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन् 

जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ 

अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि 

निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ 

बन्दुकको पहरा होस्

अथवा त्यो कानुनको घेरा होस् 

के फरक पर्‍यो र ?

मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी

जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ । 

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ

जहाँ कारण–अकारण साइरन बजिरहन्छ 

सडकमाथि बेलगाम घोडाको टापजस्तै 

जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ 

अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर 

सधैँ रगतको झरी परिरहन्छ 

पर्खालभित्र होस्

अथवा त्यो पर्खालबाहिर होस् 

के फरक पर्‍यो र ?

मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी 

जहाँ गुजार्नुपरे पनि त्यो जेल हुन्छ ।

उही दिन सधैँ, उही रात सधैँ 

उही बिहान र साँझ साथ छ 

उही स्वप्नभङ्ग विवश जिन्दगी 

उही गतिहीन समय साल छ 

निकासबिनाको बन्द तालजस्तै

जहाँ गन्दा समाजसाथ अँधेरो बास छ

कुनै अनाम देश होस्

अथवा त्यो प्रिय स्वदेश होस्

के फरक पर्‍यो र ?

मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी 

जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप