शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्किजल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रवारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दुई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा.शैल रुपाखेतीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुति रहनेछ । यस्तै २५ भन्दा बढी सर्किजल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उनले बताए ।
कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उनको भनाई छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्य चिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिवारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ ।
“देश विदेशका शल्य चिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा.रुपाखेतीले भने, “सम्मेलनका अवसरमा शल्य चिकित्सका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।”
सम्मेलनमा अतिथिका रूपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए । “सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।”
अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुर्व्यवहारका घटना निन्दनीय रहेको भन्दै उनले त्यस प्रकृतिका क्रियाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गरे । प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताए । गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ ।
उनले शल्य चिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गरे । सम्मेलनमा ‘साउन एसियन सर्किजल केयर सोसाइटी’का अध्यक्ष डा.सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्त्व र आयामबारे विचार व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भुटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्य चिकित्सक सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै