बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
फिल्मी संवाद

फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना

नीता होइन नारायणी भनेर बोलाउँछन्
शनिबार, ०८ मङ्सिर २०८१, १६ : ००
शनिबार, ०८ मङ्सिर २०८१

नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री हुन् नीता ढुंगाना । बाल कलाकारबाटै अभिनय सुरु गरेकी उनले अभिनेत्रीको रूपमा डेब्यु गरेको फिल्म ‘अजम्बरी नाता’ हो । उनको पछिल्लो फिल्म ‘ह्रस्व दीर्घ’ हो । यसबिचमा करिब डेढ दर्जन फिल्ममा उनले नायिकाकै रूपमा काम गरिसकेकी छन् ।

‘ह्रस्व दीर्घ’ मार्फत उनले आफूलाई निर्माताको रूपमा पनि अगाडि ल्याएकी छन् । दक्षिण भारतीय कलाकारसमेत समेटेर ५ करोडभन्दा बढी लगानीमा उनले यो फिल्म बनाएकी हुन् । फिल्म निर्माणको पहिलो पाइलामा उनले केही तिता र केही मिठा अनुभव सँगालेकी छन् । फिल्म ‘ह्रस्व दीर्घ’को निर्माण र अभिनयको विषयमा रातोपाटीले अभिनेत्री नीतासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश– 

  • ‘ह्रस्व दीर्घ’ मार्फत फिल्म निर्माणमा पनि देखिनु भयो । निर्माता बन्दाको अनुभव कस्तो रह्यो ?

– एकदमै गाह्रो र बिर्सिन नसकिने छ । धेरै नयाँ कुरा सिक्न पाएँ । २ वर्ष दिनरात नभनेर मेहनत गरेको फिल्मको रिजल्ट एक दिनमा देखिने रहेछ । निर्माताका रूपमा पहिलो फिल्म पार लगाउनु निकै चुनौतीको यात्रा जस्तो रहेछ ।

  • फिल्मले कस्तो व्यवसाय गरिरहेको छ ?

– रिलिज अगाडिसम्म फिल्मको व्यवसाय के होला, कस्तो होला भन्ने निकै डर थियो । त्यो डर बल्ल हराएयो । फिल्मको व्यवसाय राम्रै भइरहेको छ । दिन प्रतिदिन दर्शक बढ्दो छन् । म उत्साहित छु ।

  • केहीअघि सबैतिरबाट असहयोग मिल्यो भनेर गुनासो गर्नु भएको थियो । कस्तो असहयोग भयो ?

– म कलाक्षेत्रमा लामो समयदेखि छु । पहिलेका सिनियरदेखि अहिलेका कलाकारसँग समेत काम गरिसकेकी छु । फिल्म निर्माणको पहिलो प्रयासमा सिनियरबाट सकेको साथ, सहयोग र बाटो देखाउने अपेक्षा मेरो थियो । त्यो हुनु स्वाभाविक हो तर, भएन । हौसला प्रदान गर्नुको साटो विभिन्न नकारात्मक टिप्पणी गरेर पीडा पु¥याउने काम भयो । त्यो नगरिदिएको भए हुन्थ्यो भन्ने गुनासो गरेकी हुँ ।

अहिले भने सबैबाट साथ मिलिरहेको छ । त्यसले आगामी दिनमा अगाडि बढ्न हौसला मिलेको छ । फिल्म उद्योगका मानिस चिन्न निर्माणमा आउनुपर्ने रहेछ भन्ने अनुभव गरेँ ।

  • अभिनयमै राम्रो थियो, निर्माणमा आउन किन मन लाग्यो ?

– म सानैदेखि यो क्षेत्रमा छु । मैले सिकेको, जानेको सबै यो क्षेत्रमै हो । बाल कलाकारदेखि अभिनेत्रीसम्म थुप्रै फिल्ममा अभिनय गरेको छु । यो क्षेत्रले मलाई नाम, दाम, इज्जत सबैथोक दिएको छ । मैले श्रीमान् पनि फिल्म क्षेत्रमा रुचि राख्ने नै पाएँ । उहाँको फिल्म क्षेत्रमा केही गरौँ भन्ने इच्छा छ । अभिनयमा अब कति वर्ष टिकिएला र ? अभिनयपछि पनि सक्रिय हुन सकिन्छ भनेर निर्माणमा होमिएको हो ।

  • पहिलो फिल्ममै ५ करोड बढी लगानी गर्नुभयो । नेपाली फिल्मको बजार अनुसार यो लगानी धेरै भएन र ?

– नेपाली बजारमात्र हेर्ने हो भने यो लगानी निकै धेरै हो । हामीले यो फिल्म अन्तर्राष्ट्रिय बजारका लागि पनि मध्यनजर गरेर बनाएका हौँ । फिल्म राम्रो बनाउँदा खर्च हुन्छ ।

  • फिल्मको लगानी सुरक्षित होला त ?

– नेपालबाट लगानी उठ्छ भनेर यो फिल्म बनाएको होइन । अर्काे कुरो, भारतका र नेपालका कलाकार राख्नुको कारण नेपालमा चलाउनमात्र पनि होइन । विदेशमा प्रदर्शन गर्न, बेच्न पनि हो । जी सिनेमाले हाम्रो फिल्म तीन करोड भारतीय रुपैयाँमा किनेको छ ।

पहिलो साता राम्रो व्यवसाय गर्दै फिल्म दोस्रो सातामा प्रवेश गरिसकेको छ । अहिलेसम्म हामी आर्थिक रूपमा लगभग सुरक्षित भइसक्यौँ । विश्वबजारका लागि फिल्मको माग भइरहेको छ । दक्षिण भारतका थिएटरमा पनि यो फिल्म रिलिज हुँदैछ । अहिलेसम्म हेर्दा फिल्मबाट २४/२५ करोड आम्दानी हुने देखिन्छ । केही दिन अगाडिसम्म डर थियो, अब त्यस्तो छैन ।

133095736_3681577245234362_6569977945398270592_n

  • दक्षिण भारतीय कलाकार थुपार्नु भयो, किन ?

– नेपालको मार्केटका लागि पक्कै पनि होइन । अन्तर्राष्ट्रिय मार्केटलाई ध्यान दिएर लिइएको हो । यसले नेपाल र भारतीय फिल्म उद्योगसमेत जोडेको छ । भारतीय कलाकार नलिएको भए साउथ इन्डियामा चलाउन र जी सिनेमामा बिक्री गर्न कसरी सकिन्थ्यो र ?

  • फिल्ममा तपाईंको चरित्रको नाम ‘नारायणी’ छ । अभिनयको प्रतिक्रिया कस्तो छ ?

– अहिले दर्शकले मलाई जहाँ गए पनि नीताभन्दा पनि फिल्मको चरित्र ‘नारायणी’ भनेर बोलाउँछन् । यसो हुनुको कारण भूमिका धेरैले रुचाउनुभयो भनेर भन्न सकिन्छ । फिल्म क्षेत्रकै कतिपय साथीभाइ सिनियरदेखि जुनियरसम्मले तपाईंको भूमिका लोभलाग्दो छ भनेका छन् । मेरो चरित्र मानिसले दिमागमा राख्नु नै मेरो अभिनयको सफलता होइन र भन्या ?

  • कहिले चल्छ त दक्षिण भारतमा यो फिल्म ?

– दक्षिण भारतमा अहिलेको प्रतीक्षा भनेको अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ हो । यो फिल्म रिलिज भएको केही सातापछि मात्र हामीले रिलिज गर्ने सोच बनाएका छौँ । त्यही अनुसार तयारी भइरहेको छ ।

  • निर्माणमा निरन्तरता रहन्छ कि पुग्यो ?

– अब फिल्म निर्माण गरिरहने हो । ‘ह्रस्व दीर्घ’को क्लाइमेक्स हामीले अर्काे पार्ट निर्माण गर्ने गरी टुङ्ग्याएका छौँ । यो फिल्ममा नपुगेको, बिग्रिएको सबै सुधारेर अर्काे फिल्म बनाउँछौँ । करिब ४/५ महिनापछि अर्काे प्रोजेक्ट सुरु गर्ने योजना छ ।

  • यो फिल्म हेर्न बाँकी दर्शकका लागि के भन्नुहुन्छ ?

– मेरो फिल्म शत प्रतिशत राम्रो भनेर मैले कहिल्यै पनि भनेकी छैन । फिल्ममा राम्रा पक्ष धेरै छन् । केही नराम्रो पक्ष पनि होला । त्यो अबको फिल्ममा सुध्रिन्छ । फिल्मको छायाङ्कन, एक्सन, कलाकारदेखि धेरै कुरामा मेहनत गरेका छौँ, जसका कारण फिल्मको रिजल्ट राम्रो आउन सफल भएको हो ।

फिल्म भारतमा पनि रिलिज हुँदैछ भनेपछि केही न केही त छ । दर्शकले पनि आजसम्म साथ दिनुभएको छ । हेर्न बाँकी दर्शकलाई ‘ह्रस्व दीर्घ’ हेरेर राम्रो, नराम्रो के लाग्छ, भनिदिनु होला भन्न चाहन्छु । तपाईंहरूको उपयुक्त प्रतिक्रियाले मेरो आगामी दिनलाई मार्ग निर्देशन गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप