कमजोर कम्पनीको महँगो सेयर मूल्य !
काठमाडौँ । विराटनगरमा कर्पोरेट कार्यालय भएको एउटा प्रदेशस्तरको विकास बैंक छ, सप्तकोशी डेभलपमेन्ट बैंक । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा उक्त वित्तीय संस्था प्रतिसेयर ४२.०९ रुपैयाँले नोक्सानमा देखिन्छ । ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक एकै त्रैमासमा करिब १२ करोड नोक्सानमा गएको हो ।
उक्त संस्थाको प्रतिसेयर नेटवर्थ ७०.३२ रुपैयाँ छ । निष्क्रिय कर्जा अनुपात १४ प्रतिशतभन्दा माथि छ । तर, उक्त कम्पनीको सेयर दोस्रो बजारमा ८५० रुपैयाँ भन्दा धेरैमा कारोबार भइरहेको छ । प्रथम त्रैमासमा प्रतिसेयर ४२ रुपैयाँ नोक्सानमा भएको रिपोर्टपछि मात्रै उक्त कम्पनीको मूल्य ५० प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।
काठमाडौँमा मुख्य कार्यालय भएको नेपाल फाइनान्स त सबैभन्दा चर्चामा आउने गरेको कम्पनी हो । कुनै बेला २४०० सम्म पुगेको उक्त कम्पनीको सेयर मूल्य अहिले १५०० रुपैयाँ हाराहारीमा छ । सो वित्त कम्पनी प्रथम त्रैमासमा प्रतिसेयर ३.२९ रुपैयाँ नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ १३५.८६ रुपैयाँ भएको समस्याग्रस्त सूचीबाट बाहिर आएको केही वर्ष मात्रै भएको छ ।
वित्तीय क्षेत्रकै सबैभन्दा कम प्रतिसेयर नेटवर्थ भएको नारायणी डेभलपमेन्ट बैंकसँग अहिले २३.८८ रुपैयाँ नेटवर्थ छ । पहिलो त्रैमासको रिपोर्ट अनुसार यो कम्पनी अझै नोक्सानमा छ । तर, सेयर मूल्य भने १ हजार रुपैयाँभन्दा पनि माथि छ ।
नेपालगञ्जमा मुख्य कार्यालय भएको कर्णाली डेभलपमेन्ट बैंकले पनि पहिलो त्रैमासमा प्रतिसेयर ३.९४ रुपैयाँ नोक्सान व्यहोर्यो । यो संस्थाको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा तल झरेको छ । ७ प्रतिशतभन्दा धेरैको निष्क्रिय कर्जाबिच बैंकको सेयर मूल्य अहिले ८०० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ ।
पोखरामा मुख्य कार्यालय भएको ग्रिन डेभलपमेन्ट बैंकको अवस्था उस्तै छ । प्रथम त्रैमासको रिपोर्टमा प्रतिसेयर २.१९ रुपैयाँ नोक्सानी देखिएको वित्तीय संस्थाको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ छ । उक्त कम्पनीको सेयर अहिले ९०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको छ ।
यी त उदाहरण मात्रै हुन् । नेपाल राष्ट्र बैंकको नियमनमा अहिले ५५ बैंक तथा वित्तीय संस्था छन् । त्यसमध्ये एउटा पूर्वाधार बैंक, २० वटा वाणिज्य बैंक ८ वटा राष्ट्रिय स्तरका विकास बैंक र केही फाइनान्स कम्पनीलाई छाड्ने हो भने अरु कम्पनीले वित्तीय क्षेत्रमा न खासै ठुलो योगदान दिन सकिरहेको देखिन्छ, न त लगानीकर्तालाई प्रतिफल । दोस्रो बजारमा मूल्य चलखेल गर्न मात्रै यी वित्तीय संस्थाहरू सञ्चालन भइरहेको जस्तो देखिन्छ । आधारभूत अवस्थाको आधारमा यसको सेयर मूल्यलाई विश्लेषण गर्नै नसकिने अवस्था छ ।
फाइनान्सको क्षेत्रमा अवस्था उस्तै छ । आधारभूत विश्लेषण हेर्ने हो भने पनि सबैजसो कम्पनीको मूल्य ओभरभ्यालुड जस्तै देखिन्छ । राष्ट्रिय स्तरमा सञ्चालित केही फाइनान्स कम्पनी बाहेक अरु कम्पनीको त झन् अनुमान नै गर्न नसकिने मूल्य छ ।
फाइनान्स कम्पनीमध्ये दोस्रो सर्वाधिक मूल्य भएको कम्पनी जानकी फाइनान्स हो । एक हजार हाराहारीमा कारोबार भइरहेको कम्पनीको नेटवर्थ भने जम्मा ६७ रुपैयाँ मात्रै छ । अर्को सबैभन्दा धेरै मूल्य भएको रिलायन्स फाइनासको नेटवर्थ पनि ७० रुपैयाँ मात्रै छ । यो कम्पनी पहिलो त्रैमासमा प्रतिसेयर ४२ रुपैयाँ नोक्सानीमा थियो ।
सेयरको अंकित मूल्यभन्दा पनि कम नेटवर्थ भएको समृद्धि फाइनान्स पनि फाइनान्स कम्पनीमध्ये चौथो धेरै सेयर मूल्य भएको कम्पनीको रूपमा रहेको छ । ५६ रुपैयाँ हाराहारीमा प्रतिसेयर नेटवर्थ रहेको उक्त कम्पनी पहिलो त्रैमासमा ४.८३ रुपैयाँ नोक्सानमा रहेको थियो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको विवरण हेर्दा अहिले सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये तीन वटाको नेटवर्थ एक सय रुपैयाँ भन्दा पनि कम छ । त्यस्तै, ६ वटा कम्पनी नोक्सानमा चलिरहेका छन् । तर, यी कम्पनीहरूको मूल्य नै बजारमा सबैभन्दा धेरै देखिन्छ ।
सेयर विश्लेषक देव गुरागाईँ अहिले केही वित्तीय कम्पनीको सेयरमूल्यमा कर्नरिङ भइरहेको बताउँछन् । सीमित व्यक्ति र समूहले सेयर किनबेच गर्ने र मूल्यमा नियन्त्रण गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । मूल्यमा धेरै उतारचढाव हुने यस्ता कम्पनीको आधारभूत वित्तीय अवस्थालाई प्रतिनिधित्व गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
केही फाइनान्स कम्पनीमा भने त्यस्तो अवस्था देखिँदैन । आईसीएफसी फाइनान्स, गुडबिल फाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स लगायत कम्पनीहरूको मूल्य भने तुलनात्मक रूपमा स्थिर देखिन्छ । कारोबार र योगदानको आधारमा राम्रो भएका यी कम्पनीको मूल्य भने कमजोर कम्पनीको तुलनामा कम छ । सेयर विश्लेषक गुरागाईँ यी कम्पनीहरूमा पुँजी धेरै भएको र कर्नरिङ गर्नसक्ने अवस्था कम भएकोले मूल्यमा धेरै उचारचढाव नहुने बताउँछन् । जोखिम लिन नचाहने लगानीकर्तालाई संस्थाको आधारभूत अवस्था र मूल्यको उतारचढाव दुवैलाई हेरेर लगानी गर्न उनको सुझाव छ ।
अहिले नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) ले कारोबार गर्नसक्ने कम्पनीको सूची सार्वजनिक गरेको छ । त्यसमा प्रादेशिक विकास बैंकहरुमध्ये ग्रिन डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीहरूमा आईसीएफसी, मञ्जुश्री, पोखरा, सेन्ट्रल र बेस्ट फाइनान्स मात्रै कारोबारका लागि योग्य देखिएका छन् । संस्थाको वित्तीय अवस्था तथा कम्प्लायन्समा आधारित भएर यस्तो सूची सार्वजनिक गर्नसक्ने भएकोले यस्तो सूचीले पनि सुरक्षित कम्पनी छनौट गर्न मद्दत गर्ने विश्लेषकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति