महजात्रा २०८१ : केरा इन्डियाको, स्याउ चाइनाको, यमराज को ?
‘म र ह मिलेर बनेको, ४५ वर्षसम्म नचुँडिएको, एकदमै बलियो उदाहरणीय गाँठोलाई महगाँठो भनिन्छ ।’
आफ्नो प्रस्तुति (प्रहसन)मा मास्टरको भूमिकामा देखिएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गाँठोका प्रकारबारे पढाउँदा महगाँठोका बारेमा समेत व्याख्या गरे । गाँठोका अनेक प्रकार सुनेर हाँसिरहेका दर्शकले जब ‘महगाँठो’ शब्द सुने, अनायसै ताली बजाए, श्रद्धास्वरूप चिच्याउँदै । अझ उनले जब महगाँठोको परिभाषा दिए— ताली, सिटी र श्रद्धाको आवाजले हल गुन्जियो ।
यतिखेर काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा ‘महजात्रा २०८१’ चलिरहेको छ, कात्तिक २९ देखि सुरु भएको महजात्रा मंसिर १८ गतेसम्म चल्नेछ । अब भने मंसिर १२, १३, १७ र १८ गते प्रहसन चल्नेछ ।
पछिल्ला साढे चार दशकयता नेपाली राजनीतिक र बौद्धिक जगतमा महको चर्चा घटेको छैन, झनै चुलिएको छ, त्यस चर्चामा स्नेहभाव, आदरभाव र सम्मानभाव अझ घुलिएको छ ।
आजभन्दा करिब ३६ वर्षअघि, स्वरसम्राट नारायणगोपालले मदनकृष्ण र हरिवंशका बारेमा भनेका थिए— ‘नेपाली रंगमञ्चको क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंंश आचार्यलाई मैले केही वर्षयता निकै सशक्त एवं सफल कार्यक्रम गर्ने कलाकारका रूपमा चिन्दै आएको छु । यी दुईको जोडी आज नेपाली हास्यव्यंग्यको क्षेत्रमा जति लोकप्रिय छ, त्यति सायद अरु छैनन् । यो जोडी बेजोड छ ।’
यसपालिको ‘यमलोक’ले नेताहरूलाई यमराजको संज्ञा दिएको छ । नेताहरू वा उनीहरूका ठेकदारले सडक समयमा नबनाउँदा दुर्घटना भयो र मरे जनता— यमराज को ? नेताहरूले देशको कलकारखाना बन्द गरे, वा खोलेनन् तर युवालाई विदेशमा बेचे, अनि कति युवा बाकसमा फर्केका छन्— यमराज को ?
२०४६ सालमा प्रकाशित कैलाश भण्डारीको पुस्तक ‘मदनकृष्ण र हरिवंश’मा बुद्धिजीवी वर्गले यी दुई कलाकारलाई कसरी हेर्छ भन्नेबारे पनि समेटिएको छ ।
यस पुस्तक अनुसार, २०४५ सालमा छापिएको ‘रूपरंग’ मनोरञ्जन मासिकको एउटा अंकमा नारायणगोपालले महजोडीलाई सुझाव समेत दिएका थिए— ‘खासगरी समसामयिक राजनीतिक व्यंग्य प्रदर्शनमा यिनीहरू बढी सफल देखिन्छन् । यसमा अझ सामाजिक व्यंग्यात्मक नाटक–प्रहसनहरू पनि मञ्चन गरे भने झन् राम्रो हुने थियो ।’
यसपालि साढे दुई घन्टाको कार्यक्रममा दुईवटा गीत र एउटा कवितासहित सातवटा प्रहसन रहेका छन् । प्रस्तुत प्रहसनहरूले देशको विकृत राजनीतिक अवस्था, कमजोर भूराजनीतिक सम्बन्ध, कमजोर आर्थिक अवस्था र त्यसैको प्रभाव परेको सामाजिक पक्षमाथि तिखो व्यंग्य गरेका छन् । ‘किन केही फल्दैन र हाम्रो देशको माटोमा’ बोलको गीतबाट सुरु भएर अस्पतालको विकृतिमा गएर टुङ्गिने यसपालिको महजात्रा हेर्दा देशको एउटा पाटो मजैले देखिएको आभास हुन्छ । महिलाका छोटो कपडामाथि अलिकति कुण्ठा व्यक्त गरिएको शैलेन्द्र सिम्खडाको कविताबाहेक सबै प्रस्तुति सशक्त छन् ।
पहिलो प्रस्तुति गीतमा नेपाली उत्पादनको अवस्था देखाइएको छ—
केरा इन्डियाको, स्याउ चाइनाको ।
हिमालमा फल्या स्याउलाई भावै दिन्नन् भो ।
हुन त हामीले आफूलाई कृषिप्रधान देशको नागरिक भन्छौँ, तर उत्पादन नहुँदा वा भएको उत्पादनले बजार नपाउँदा हामी परनिर्भर हुँदै गएका छौँ । हामी किन र कसरी भयौँ परनिर्भर ? यस प्रश्नको जवाफ मह जोडीले ४३ वर्षअघि नै दिएको थियो । त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा भएको गाईजात्रामा मह जोडीको ‘यमलोक’ नामक प्रहसनमा देशको बजेट, विकास, न्याय आदि मरेर यमलोक पुगेको भन्दै व्यंग्य गरिएको थियो ।
मह जोडीले पञ्चायतकालमा गरेको व्यंग्यले देशमा बहुदल हुँदै गणतन्त्र आउँदासम्मलाई हानेको छ ।
भण्डारीको उपरोक्त पुस्तक अनुसार, प्रहसन ‘यमलोक’को शक्तिबारे कवि वासु शशिले भनेका छन्, ‘मदनकृष्ण र हरिवंशको यमलोक अन्त्यन्तै उत्कृष्ट थियो । त्यो बेलाको नेपालको वातावरणलाई त त्यसले एटम बम फुटेको भन्दा पनि चौभाग पारेको थियो । मेरो विचारमा त्यसले हजारौँ मान्छेलाई विद्रोहको भावना जागृत गर्यो होला ।’
यस्तै, डा. ध्रुवचन्द्र गौतमले भनेका छन्, ‘यमलोक हेरेपछि त लाग्यो, यी दुई कलाकारसँग केही छ, जसले मान्छेलाई केवल हँसाएर थकाउँदैनन्, केही सोच्नलाई पनि बाध्य गर्छन् ।’
यसपालि पनि महजात्रामा ‘यमलोक’ नामक प्रहसन रहेको छ । यसपालिको प्रहसनमा पात्र, समाजको प्रवृत्ति र कथाका पत्र (तह) फरक छन् । पहिलेजस्तो यसपालि ‘यमलोक’मा महजोडी देखिँदैनन् । कलाकारमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल र दिनेश काफ्ले रहेका छन् । यमलोकमा मह जोडीले कलाकार परिवर्तन गरेर यस्तो सन्देश दिएको आभास हुन्छ— राष्ट्रिय राजनीतिमा पात्रहरू परिवर्तन भएका छन् तर प्रवृत्ति उही छ ।
स्वरसम्राट नारायणगोपालले मदनकृष्ण र हरिवंशका बारेमा भनेका थिए— ‘नेपाली रंगमञ्चको क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंंश आचार्यलाई मैले केही वर्षयता निकै सशक्त एवं सफल कार्यक्रम गर्ने कलाकारका रूपमा चिन्दै आएको छु । यी दुईको जोडी आज नेपाली हास्यव्यंग्यको क्षेत्रमा जति लोकप्रिय छ, त्यति सायद अरु छैनन् । यो जोडी बेजोड छ ।’
अर्कोतिर, आफूहरूको सेखपछि पनि अन्य कलाकारले विभिन्न कथावस्तुमा ‘यमलोक’ नामक प्रहसन गरिरहून् भन्ने महजोडीको चाहना हो कि जस्तो पनि लाग्छ ।
यसपालिको ‘यमलोक’ले नेताहरूलाई यमराजको संज्ञा दिएको छ । नेताहरू वा उनीहरूका ठेकदारले सडक समयमा नबनाउँदा दुर्घटना भयो र मरे जनता— यमराज को ?
नेताहरूले देशको कलकारखाना बन्द गरे, वा खोलेनन् तर युवालाई विदेशमा बेचे, अनि कति युवा बाकसमा फर्केका छन्— यमराज को ?
‘यमलोक’ले यस्ता प्रश्न गरेका छन्, जसको जवाफ दिन सक्ने जिम्मेवार नेता देशमा छैनन् र देशको यो हबिगत छ । देश बिग्रनु वा खस्कनुको पछाडिका हरेक क्रियाकलापमा कोही न कोही जिम्मेवार हुने हो भने देशले कोल्टे फेर्न समय लाग्दैन । हामीकहाँ त जे भए पनि जिम्मा लिने कोही छैन ।
यमलोक प्रहसनले भन्छ— देश पूरै सेटिङमा चलेको छ वा माफियाले चलाएका छन्, सबै मिलेका छन्, अनि जिम्मा कसले लिने ?
यतिसम्म कि प्रहसनमा गृहमन्त्रीले यमराजलाई फोन गर्छन्, आशीर्वादका लागि । यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ— गृहमन्त्रीले फोन गर्ने ‘यमराज’ को होला ? कहाँ होला ?
वैदेशिक रोजगारीका कारण समाजमा विकृति पनि देखिएको छ । अवैध सम्बन्धहरू देशदेखि विदेशसम्म फैलिएका छन्, यसको केही पाटोलाई प्रहसनले देखाएको छ ।
यसपछि तेस्रो प्रस्तुति छ, भजनको । यमन श्रेष्ठले प्रभुलाई प्रार्थना गर्छन्— ठग्न सिकाइदेउ प्रभु लुट्न सिकाइदेउ ।
आज देशमा अलिकति टाठाबाठालाई छिटो धनी हुनुपरेको छ, उनीहरू कुनै न कुनै किसिमले लुट्न अभ्यस्त छन् । तर सोझासाझाले केही मेसो पाइरहेका छैनन् । यसैको व्यंंग्यमा यो गीत आएको छ ।
चौथो प्रस्तुति छ— मःम पसल उद्घाटन । जसमा मन्त्रीको भूमिकामा देखिने हरिवंशले नेताहरूको व्यर्थ र बकम्फुसे भाषणप्रति व्यंग्य गरेका छन् ।
मन्त्रीले कुनै कामै नपाएझैँ सुत्केरीको उद्घाटन गर्छ, जनताले उसलाई सामाजिक सञ्जालमा उडाउँछन् तर ऊ उद्घाटनका लागि हवाइजहाजमा उडिरहेकै हुन्छ । यस प्रस्तुतिले ग्लोबल वार्मिङदेखि भारतले सिमाना मिचेको जस्तो गम्भीर मुद्दालाई उठाएको छ । प्रहसनमा यी मुद्दालाई झट्ट सुन्दा हल्का ढंगले उठाएझैँ लाग्छ तर गुन्दा गम्भीर भारीले थिचिएको आभास हुन्छ ।
प्रहसनमा एउटा प्रसंग छ— मिचेको भूभाग फिर्ता माग्दा भारतले भन्छ, तिमीहरूले मःम बनाएर खाएका हाम्रा भैँसीहरू फिर्ता दे ।
कतै हामी जनता तथा नेता खाएर मात्रै भुलिरहेका छौँ कि ! हामीलाई समाजका गम्भीर मुद्दामा चासो छैन कि ! यस प्रस्तुतिले यी र यस्ता थुप्रै प्रश्नतिर संंकेत गर्छ ।
पाँचौँ प्रस्तुति मास्टरको कक्षामा मदनकृष्णले नमस्कारदेखि गाँठोसम्मका विषय पढाउँछन् ।
‘पर्खाले नमस्कार’ अर्थात् चुनावका बेला नेताले फोटोमा गर्ने नमस्कारदेखि घुस्याहा कर्मचारीलाई गर्नुपर्ने ‘हाक्कथुक्क नमस्कार’सम्मको चर्चा यस प्रस्तुतिमा आउँछन् ।
छैटौँ प्रस्तुति शैलेन्द्र सिम्खडाको कवितापछि सातौँ प्रस्तुति ‘होल बडी चेकअप’ रहेको छ । जसमा मदनकृष्ण, हरिवंश, किरण केसी र नरेन्द्र कंशाकार विभिन्न पात्रको भूमिकामा छन् ।
यस प्रस्तुतिमा पैसाका लागि ‘जे पनि’ गर्ने हस्पिटललाई व्यंग्य गर्न पैसाका लागि जे पनि गर्ने व्यक्ति ‘होल बडी चेकअप’का लागि आउँछन् । यस प्रहसनमा बुलेट ट्रेनको सपनादेखि नेपालको विकासमा परेको चीन र भारतको प्रभावलाई समेत ल्याइएको छ ।
भण्डारीको उपरोक्त पुस्तकमा मदनकृष्णले भनेका छन्, ‘खासमा हामीले प्रोग्राम दिँदा विशेषगरी राजनीतिक कमजोरी राजनीतिक त्रुटिहरूलाई औँल्याउने गर्छौं । दर्शकले पनि भन्न चाहिरहेका र भन्न नपाइरहेका कुराहरू हामीले कार्यक्रमहरूमा समावेश गर्ने गर्दछौँ ।’
त्रुटिहरूलाई सच्याउँदै व्यक्ति, राष्ट्र र राजनीति अगाडि बढ्ने हो । यद्यपि विकास र परिवर्तनका लागि हामी कराएरै दशक बितिसक्यो । पछिल्लो करिब शताब्दी नै हामी राणाशासन फाल्न, पञ्चायत फाल्न, राजतन्त्र फाल्न करायौँ, यतिखेर भ्र्रष्टाचारी र माफियालाई फाल्न कराइरहेका छौँ ।
यसपालिको मह जात्राले मिडियालाई अनुसन्धान गर्ने थुप्रै विषयवस्तु दिएको छ, नेतालाई काम गर्ने बाटो देखाएको छ भने जनतालाई आइन्दा सही नेता चुन्नका लागि र अहिले राजनीतिक नेतृत्वलाई दबाब सिर्जना गर्नका लागि सोच्न बाध्य पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा