शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सिनेमा

पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?

शनिबार, ०८ मङ्सिर २०८१, १० : ३०
शनिबार, ०८ मङ्सिर २०८१

यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यतिखेर चर्चाको शिखरमा छ । नेपाली मौलिक परिवेशलाई समेटेर बनेको चलचित्रले चर्चा पाउनु स्वाभाविकै हो । विशेष गरी यसले एक रुवाउने चलचित्रका रूपमा चर्चा कमाएको छ । 

नेपाली समाजमा सम्पूर्ण ‘बा’को प्रतिनिधित्व गर्ने गरी ‘बा’ले भोगेका संघर्ष, दलित समुदायका ‘बा’ले भोगेका संघर्ष तथा विभेद र अझ विशेषगरी गन्धर्व ‘बा’ले भोगेका संघर्ष तथा बहुआयामिक विभेदलाई चलचित्रले मिहीन ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । 

मौलिक शैलीमा बनेको यस चलचित्रले आफ्ना छोराछोरीको लालनपालन तथा शिक्षा–दीक्षाका लागि एउटा ‘बा’ले जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् भन्ने सन्देश समेत दिन खोजेको छ । 

यस चलचित्रमा प्रस्तुत गरिएका धेरै दृश्यले मलाई निकै छोयो पनि, र आफूलाई विभेदले जिस्काइरहेको अनुभूति समेत भयो । चलचित्रमा भएका दृश्य र मेरो जीवनमा घटेका घटना धेरै मिल्दाजुल्दा छन् । 

यस चलचित्रमा पूर्णबहादुरले ‘बा’को उपचारका लागि पैसाको जोहो गर्न सक्दैन, पैसाकै अभावमा मेरा ‘बा’ले पनि २० वर्षकी छोरी गुमाउनुपरेको थियो । चलचित्रमा समाजले पूर्णबहादुरलाई लछारपछार गरी जीवनभर बोल्नै नसक्ने गरी यातना दिन्छन्, मेरै आँखाअगाडि कैयौँ गन्धर्व ‘बा’लाई दिएको शारीरिक तथा मानसिक यातनालाई मैले पुनः सम्झिएँ । यस चलचित्रमा पूर्णबहादुरले भोगेको विभेद र मैले जीवनमा भोगेका विभेद उस्तै प्रकृतिका छन् । 

चलचित्रको कान्छा पात्रले शिक्षककै दबाबमा स्कुलको पोसाक खोल्नुपरेको छ, यस्तै मैले पनि नयाँ कपडा लगाउँदा स्कुलमा पिटाइ खानुपरेको थियो, संयोगले कपडाको रङ निलो नै परेछ । चलचित्रमा पूर्णबहादुरले भोगेको विभेद र मैले जीवनमा भोगेका विभेद उस्तै प्रकृतिका छन् । 

चलचित्रमा पूर्णबहादुरले कान्छाको पढाइ खर्चका लागि सारङ्गी बेच्नुपरेको छ, मेरो पढाइ खर्चका लागि पनि मेरा बाले सारङ्गी नै बेच्नुपरेको थियो । यी मिल्दाजुल्दा घटनाक्रमले मलाई निकै छोयो र धेरै भावुक बनायो पनि । 

चलचित्रमा देखाइएको पीडाका कारण दर्शकले आँसुको खोला त बगाए, के त्यो आँसुले साँच्चिकै रूपान्तरणको काम गर्ला त ? कि ती आँसु आँसुमै सीमित हुन्छन् र हलबाट बाहिर निस्केपछि समाजले पुनः विभेद स्विकार्छ ?


यद्यपि यस चलचित्रले गन्धर्व आमा र सारा नेपाली आमाको भूमिकालाई ओझेलमा पारेको छ । विशेषतः गन्धर्व परिवारमा आमाको संघर्ष, सन्तानप्रतिको भूमिका तथा माया अहं हुन्छ । त्यसलाई संसारका कुनै पनि वस्तुसँग तुलना गर्न मिल्दैन । आमाको योगदान अपरम्पार छ ।

हो, गन्धर्व तथा सम्पूर्ण ‘बा’हरूको संघर्षलाई साधुवाद तर आमाको संघर्षले नै परिवारलाई अझ थप मजबुत बनाउने र सफल बाटोमा डोर्‍याउने कुरालाई नजरअन्दाज गर्न भने मिल्दैन । यसले के देखाउँछ भने उक्त चलचित्रले नेपाली समाजमा पितृसत्ताको पक्षपोषण गरेको छ र लैंगिक असमानतालाई पुनरुत्पादन गर्न ठुलो सहयोग गरेको देखिन्छ । 

शीर्षक र कथावस्तुबिच तारतम्य
गन्धर्व समुदायमा गन्धर्व र सारङ्गीलाई एकअर्काको परिपुरकका रूपमा मानिन्छ । सारङ्गीविनाको गन्धर्व र गन्धर्वविनाको सारङ्गीले गन्धर्व समुदायलाई बुझ्न र चिन्न निकै कठिन हुन्छ । 

वास्तवमा भन्ने हो भने गन्धर्व लोकजीवन र लोकवार्ता सारङ्गीविना अपुरो हुन्छ । वास्तवमा सारङ्गीलाई गन्धर्वको पूरै जीवनको प्रतीकका क्रममा हेरिन्छ । त्यसैले मैले यस लेखमा गन्धर्व लोकजीवन तथा लोकवार्तालाई सारङ्गीले कसरी प्रतिनिधित्व गर्छ भन्ने तथ्य प्रस्तुत गरेको छु । 

क) ज्ञान उत्पादनको प्रतीक 
सारङ्गीसँग सम्बन्धित ज्ञान, सीप, कला तथा संस्कृति सबै अमर छन् । सारङ्गीबाट उत्पादित ज्ञान तथा सङ्गीतले समाजको वस्तुगत यथार्थलाई चित्रण गर्न सहयोग गर्छ । यस कला तथा सङ्गीतले समाजमा भएका समस्याको पहिचान गर्न र समाज रूपान्तरण गर्न अहं भूमिका खेल्छ । 

चलचित्रमा कर्खाको संरक्षण गर्ने प्रसङ्ग निस्केको छ, तर यसका बारेमा केही चर्चा गरिएको छैन । कर्खा लगायत गन्धर्वका कैयौँ कृतिले समाज बुझ्न र समाज रूपान्तरण गर्न ठुलो भूमिका खेल्छन् । ती ज्ञानका स्रोतलाई चलचित्रले खासै उठान गर्न सकेको छैन ।

ख) संस्कृतिको प्रतीक 
सारङ्गी नेपालको राष्ट्रिय बाजा हो र यसले नेपालको राष्ट्रिय संस्कृतिको प्रतिनिधित्व गर्छ । गन्धर्व समुदायमा हुने रीतिरिवाज, चालचलन, जन्मकर्म, बिहेकर्म, मृत्युकर्म, चाडपर्व, दैनिक जीवनयापन तथा अन्य समयमा सारङ्गीको भूमिका एकदम महत्त्वपूर्ण हुन्छ । 

गन्धर्व कलाकार हुन्, एक कलाकारले आफ्नो प्रस्तुति दिएपछि पारिश्रमिक लिएजस्तै हो । बरु कलाकारले पारिश्रमिकमा सर्त राख्न सक्छन् तर गन्धर्व समुदायले श्रोताले स्वतःस्फूर्त दिएको चिजवस्तु स्वीकार गर्छन् । यस समुदायलाई माग्नेको संज्ञा दिनु विभेदको अर्को चरम रूपमा हेर्न सकिन्छ ।

गन्धर्व बालबालिकालाई समुदायमा गरिने औपचारिक तथा अनौपचारिक कर्म तथा क्रियाकलापमार्फत सङ्गीत तथा कलामा साक्षात्कार गरिने प्रचलन छ, तर चलचित्रले गन्धर्व समुदायको संस्कृति उजागर गर्न खासै चासो देखाएको देखिँदैन । केवल बिहेको प्रस्ताव गर्न जाँदा सारङ्गी बजाउन लगाउने र चौतारीमा ‘कान्छा’ पात्रलाई सारङ्गी सिकाइने जमर्कोबाहेक खासै अन्य परिदृश्य भेटिँदैन ।

ग) ऐतिहासिक महत्त्वको प्रतीक 
गन्धर्व समुदायको विभिन्न कालखण्डमा ठुलो योगदान छ । भाकाहरू बनाउन हिजो गन्धर्व सर्जकको विशेष भूमिका थियो । रेडियो तथा टेलिभिजनको आविष्कार हुनुभन्दा पहिला विभिन्न समाचार तथा सन्देश वाहकको भूमिका गन्धर्वले नै निभाउँथे । यस्तै, नेपालको ऐतिहासिक महत्त्व बोकेका विभिन्न कालखण्डमा गन्धर्वले ठुलो योगदान गरेको कुरा इतिहासले नै प्रस्ट पारेको छ । जस्तै : मनिराम गाइनेले नेपाल एकीकरणमा खेलेको भूमिका, हिरादेवी गाइनेले राणकालीन समयमा खेलेको भूमिका, प्रजातान्त्रिक आन्दोलनमा रुविन गन्धर्वको सङ्गीतले खेलेको भूमिका । साथै शासकको अन्याय तथा अत्याचारमा गन्धर्वहरूले सङ्गीत तथा विभिन्न माध्यमबाट प्रत्यक्ष तथा परोक्ष रूपमा खेलेको भूमिकाको चर्चा चलचित्रले कहीँकतै गरेको छैन ।

घ) अभिभावकत्वको प्रतीक 
सारङ्गी गन्धर्व समुदायको सहारा हो । यसले दुःख–सुखमा साथ दिने अभिभावकको भूमिका खेल्छ । यस विषयलाई भने चलचित्रले केही हदसम्म प्रस्तुत गरेको देखिन्छ । 
‘बा’ पात्रलाई सारङ्गीसहित प्रस्तुत गरिएको छ, जुन निकै उत्कृष्ट देखिएको छ, तर अभिभावकको अहं भूमिका रहने आमा पात्रको भूमिकालाई खुम्च्याउने प्रयत्न गरिएको छ ।

ङ) प्रकृतिको प्रतीक 
गन्धर्व एक प्रकृति पुजारी समुदाय हो । जसरी मानव सभ्यताको विकास प्रकृतिसँगको सामीप्यता तथा संघर्षबाट भएसँगै मानव जीवनको अपरिहार्य सङ्गीतको पनि विकास हुन्छ, त्यसैगरी गन्धर्व समुदायको संस्कृति तथा सङ्गीत (सारङ्गी)को विकास भएको मानिन्छ । 

purna-bahadur-ko-sarangi-final

सारङ्गीबाट निस्किने धुन तथा गीतहरूले फरक–फरक मौसमको आगमन तथा गमनका बारेमा सूचित गर्छन् । साथै सारङ्गीबाट निस्किने आवाज तथा सूचनाले पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्छन् । सारङ्गीको शिरमा सारस चराको टाउकोको कृति राख्ने चलनले पनि सारङ्गीलाई प्रकृतिको प्रतीकका मानिन्छ । यसलाई चलचित्रले समेत आत्मसात गरेको देखिन्छ । 

च) दया, माया तथा करुणाको प्रतीक 
गन्धर्वहरूले दया, माया तथा करुणाको भाव सङ्गीत तथा सारङ्गीमार्फत नै व्यक्त गर्ने गर्छन् । त्यसैले पनि सारङ्गीलाई दया, माया र करुणाको प्रतीकका रूपमा हेरिन्छ । यस पाटोलाई समेत चलचित्रले राम्रोसँग न्याय गरेको देख्न सकिन्छ । जसरी पूर्णबहादुरको ‘बा’को मृत्यु तथा श्रीमतीसँगको विछोड हुँदा सारङ्गीले पीडाको भाका गाएको छ र माया पिरती साट्ने बेलामा माया–पिरतीका भाका गुन्जाएको छ ।

छ) उपचार विधिको प्रतीक 
गन्धर्व समुदायको सारङ्गी सङ्गीतले थेरापीका रूपमा काम गर्ने मान्यता छ । वेदनामा परेकाहरूलाई सङ्गीतका माध्यमबाट वेदनामुक्त गराउनका साथै परिस्थिति अनुसारका गीत रच्ने तथा गाउने कला भएको समुदाय एक आशुकविकै रूपमा लिन सकिन्छ । 

साथै गन्धर्व समुदायले मन्त्रमार्फत पनि उपचार गर्ने प्रचलन छ र यसले पनि थेरापीको रूपमा काम गर्ने विश्वास गरिन्छ । यस पक्षलाई भने चलचित्रमा खासै चर्चा गरेको देखिँदैन ।

ज) नेपाली साहित्यको जगको प्रतीक
गन्धर्व समुदायको सङ्गीतको आफ्नै शास्त्र छ, जसलाई ‘पिङगुल शास्त्र’ भनिन्छ । गन्धर्वहरूले सिर्जना गर्ने सङ्गीत यसै शास्त्रबाट निर्देशित हुन्छ । 

गन्धर्व समुदाय कृति, सङ्गीत तथा भाकाहरूका सर्जक हुन् । नेपाली साहित्यमा प्रचलित दुईवटा कृति— नेवारी कृति (जि वया लछि मदुनी) र लक्ष्मीप्रसाद देवकाटाको मुनामदन खण्डकाव्यभन्दा गन्धर्व समुदायको ‘डाँफे र मुरली चरी’ नामक कृति अघि रचिएको मानिन्छ । 

साथै यही कृतिको कथा, भाव, विषय, परिवेश, चरित्र चित्रण तथा लयसँग उल्लिखित नेपाली र नेवारी साहित्यका कृति मिलेको देखिन्छ । यसले के उजागर गर्दछ भने नेपाली साहित्यमा उच्चकोटिका मानिएका कृति समेत गन्धर्व साहित्य तथा कृतिबाट प्रभावित भएको देखिन्छ । 

‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली ग्रामीण परिवेशको चित्रण गरे पनि गन्धर्व समुदायको लोकजीवन, लोकवार्ता र सारङ्गीले बोकेको गहन विषय तथा मर्मलाई प्रस्तुत गर्न सकेको छैन । यसरी गन्धर्व समुदायमा आधारित चलचित्र निर्माण गर्दा यस विषयमा अझ बढी अनुसन्धान र सम्बन्धित समुदायसँग अन्तक्र्रिया र छलफल गर्नुपर्ने देखिन्छ ।


नारायणगोपालले गाएको पहिलो लोकगीत गन्धर्व समुदायकै लोकगीत भएको देखिन्छ । साथै स्वर्गीय गायक धर्मराज थापा, नारायण रायमाझी लगायत अन्य कलाकारले गाएका अधिकांश गीत तथा सङ्गीत समेत गन्धर्व समुदायका गीत तथा सङ्गीत भएको गन्धर्व समुदायका व्यक्तिहरू दाबी गर्छन् । 

कतिपय कलाकारले गन्धर्वका गीत तथा सङ्गीतलाई जस्ताको तस्तै आफ्नो बनाएको भेटिन्छ भने कतिपयले थोरै तोडमोड गरी आफ्नो बनाएको भेटिन्छ । यसरी स्रोत उल्लेख नगरी कुनै पनि समुदायको परम्परागत ज्ञान तथा सम्पत्तिलाई आफ्नो बनाउनु बौद्धिक चोरी मानिन्छ । तर नेपालमा आवश्यक ऐन–कानुन तथा नीतिको अभावमा गन्धर्वका संस्कृति तथा सङ्गीतको चोरी अझै मौलाएको छ । यसले कालान्तरमा गन्धर्व समुदायलाई आफ्नो संस्कृति तथा सङ्गीतबाट विभक्त गराउने र उनीहरूलाई एक लोपोन्मुख समुदाय बनाउनुका साथै उनीहरूलाई सांंस्कृतिक हस्तक्षेपबाट सिध्याउने खतरा बढको छ । यस्ता सवाललाई समेत यस चलचित्रले उठान गर्न सकेको भए गन्धर्व समुदायको सङ्गीत तथा सांस्कृतिक संरक्षणमा ठुलो योगदान पुग्ने थियो ।

एउटा चलचित्रका आफ्नै सीमितता हुन सक्छन् । उल्लिखित सबै विषयवस्तु एउटा चलचित्रले सम्पूर्ण रूपमा सम्बोधन गर्न कठिन छ । तर ‘सारङ्गी’ शीर्षक राखिसकेपछि यस्ता विषयवस्तुको गहनतालाई बुझ्नु जरुरी हुन्छ, तर चलचित्रले यसलाई महत्त्व दिएको छैन । त्यसैले पूर्णबहादुरको सारङ्गी नामक चलचित्र गन्धर्व समुदायको लोकजीवन तथा लोकवार्ताको कथा नभई एउटा संघर्षशील ‘बा’को कथाको चलचित्र मान्नु बढी न्यायोचित देखिन्छ । 

सामाजिक संरचनाको भूमिका
नेपाली समाजमा विभेदको सुरुवात नै सम्बोधनबाट हुने गर्छ । अहिले पनि समाजले गन्धर्व समुदायलाई हेलाहोँचो गरी अनादरार्थी (तँ, ऊ) सम्बोधन गर्छ । यदि प्रयोग गरिएको भाषा तथा लगाइएको काम नगरेको खण्डमा शारीरिक तथा मानसिक यातना दिने गरिन्छ । जुन कुरा चलचित्रले देखाउने कोसिस गरेको छ ।

चलचित्रमा विश्वकर्मा पात्रले आफ्नी छोरी गन्धर्वको छोरासँग बिहे गर्दा छोरीको सांकेतिक किरिया गरी मृत्यु भएको घोषणा गर्नु र परियार पात्रले गन्धर्वको गरिबीमा अर्काको पुरानो कपडा लगाउनुपर्ने बाध्यतालाई उडाउनुले दलित–दलितबिच हुने भेदभावलाई समेत देखाउन खोजेको छ । 

दलित–दलितबिच भेदभावना छ नै, एकले अर्कालाई सहयोग नगर्ने यथार्थलाई समेत राम्रैसँग प्रस्तुत गरेको छ । जनताले तिरेको करबाट चल्ने विद्यालय र तलब खाने शिक्षकले विभेदलाई प्रश्रय दिनुले अहिलेको यथार्थलाई झल्काएको छ ।

Purna_Bahadur_Ko_Sarangi

नेपाली समाज अनौठो छ । यसले विभेदलाई उन्मूलन हुन दिँदैन र विभेद छ भनेर पनि स्विकार्दैन, यद्यपि विभेद गर्न भने कहिल्यै छाड्दैन । तथापि चलचित्रमा देखाइएको पीडाका कारण दर्शकले आँसुको खोला त बगाए, के त्यो आँसुले साँच्चिकै रूपान्तरणको काम गर्ला त ? कि ती आँसु आँसुमै सीमित हुन्छन् र हलबाट बाहिर निस्केपछि समाजले पुनः विभेद स्विकार्छ ? यस्तो वस्तुगत यथार्थ बोकेको समाजलाई यस चलचित्रको प्रस्तुतिले गतिलो झापड हानेको देख्न सकिन्छ ।

गन्धर्व के हो, के होइन ?
गन्धर्व समुदाय एउटा छुट्टै पहिचान, अस्तित्व, इतिहास, संस्कृति तथा भाषा भएको समुदाय हो । यो गाएर हिँड्ने र घुमन्ते जाति होइन । यो गायन पेसा भएको र पेसालाई परम्परागत शैलीमा गर्दै आएको एउटा रैथाने सभ्यता भएको समुदाय हो । 

गन्धर्व समुदायको पेसा माग्नु होइन र यो माग्ने जाति पनि होइन । माग्नेको जात तथा समुदाय हुँदैन । माग्नेले माग्छ मात्र, केही दिँदैन, तर गन्धर्व समुदायको गायन पेसामा लिने र दिनेको सम्बन्ध छ । गन्धर्वले सङ्गीत प्रस्तुत गर्छन् र त्यसको सट्टामा खुसीसाथ श्रोताले पैसा वा अन्नबाली दिने अपेक्षा गर्छन् । 

वास्तवमा भन्नुपर्दा गन्धर्व कलाकार हुन्, एक कलाकारले आफ्नो प्रस्तुति दिएपछि पारिश्रमिक लिएजस्तै हो । बरु कलाकारले पारिश्रमिकमा सर्त राख्न सक्छन् तर गन्धर्व समुदायले श्रोताले स्वतःस्फूर्त दिएको चिजवस्तु स्वीकार गर्छन् । तसर्थ अहिलेको आधुनिक समाजमा जस्तो सङ्गीतको व्यवसाय भन्दा पनि परम्परागत शैलीमा पेसा गर्ने भएकाले यस समुदायलाई माग्नेको संज्ञा दिनु विभेदको अर्को चरम रूपमा हेर्न सकिन्छ । कथित माथिल्लो जातले गन्धर्वका ज्ञान, कला, सीप लगायत सांंस्कृतिक पुँजीलाई हेयका दृष्टिले हेर्नुलाई विभेदको पुनरुत्पादन मान्न सकिन्छ । 

गन्धर्व लोपोन्मुख जाति होइन । उनीहरूको संस्कृतिमाथि हस्तक्षेप गरी सङ्गीतको बौद्धिक चोरी गर्दै लोपोन्मुख बनाउन खोजिएको एउटा समुदाय हो । यसरी सभ्यता तथा संस्कृतिका धनी समुदायको नाममा बनेको चलचित्रले यसका गहन विषय उठान गर्नुको सट्टा व्यावसायिकतालाई केन्द्रबिन्दुमा राख्दा समुदायको पहिचान गलत तरिकाले प्रचारित हुने खतरा झनै बढ्छ । 

अन्त्यमा, चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली ग्रामीण परिवेशको चित्रण गरे पनि गन्धर्व समुदायको लोकजीवन, लोकवार्ता र सारङ्गीले बोकेको गहन विषय तथा मर्मलाई प्रस्तुत गर्न सकेको छैन । यसरी गन्धर्व समुदायमा आधारित चलचित्र निर्माण गर्दा यस विषयमा अझ बढी अनुसन्धान र सम्बन्धित समुदायसँग अन्तक्र्रिया र छलफल गर्नुपर्ने देखिन्छ । 

(लेखक गन्धर्व समुदायका अभियानकर्ता तथा त्रिभुवन विश्वविद्यालयका विद्यावारिधि शोधकर्ता हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार गन्धर्व
राजकुमार गन्धर्व
लेखकबाट थप