हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
मकवानपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना चुनावी एजेन्डा र वडाको समग्र विकासका योजना सहित तिवारीले हेटौँडा–१२ का मतदाताहरुसंगको भोटघाटलाई तीव्रता दिएका हुन् ।
नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरूसँग अन्तरक्रिया गर्दै तिवारीले आफ्ना चुनावी कार्यक्रमहरू अघि बढाइरहेका छन् । भाषणमा भन्दा पनि काम गर्नुपर्ने भएकाले नागरिकहरूको आवश्यकता सम्बोधन गर्ने आफू मतदाताको घरघर पुगिरहेको उनले बताए ।
विगतमा पनि वडाको विकासमा आफूले पदमा नरहँदा समेत भूमिका खेलेको उनले नागरिकहरूको इच्छा अनुसारको वडा निर्माणमा अघि बढेको उनको भनाई छ । नागरिकका माग र समस्या सम्बोधन गर्न जरुरी रहेकाले वडाका २७ वटै टोल विकास समितिमा पुग्ने गरी आफूले कार्यक्रम तयार गरेको उनले बताए ।
‘विगतमा झिनो मतले पराजित हुन परेको थियो । पराजित भएपनि म नागरिकहरूको माझमा नै रहेर काम गरिरहे । विकासमा होस् वा समस्यामा नागरिकको साथ निरन्तर रहे । असमान बजेट विनियोजन प्रणालीलाई सन्तुलित गर्न आफूले सम्भव रहेसम्म पहुँच पुर्याएर सन्तुलित गरे । मैले कांग्रेसलाई वडामा विकास गर्ने पार्टीको रुपमा स्थापित गर्न भूमिका खेले’ उनले भने ।
नागरिकको आर्थिक अवस्था सुधार गर्ने आफ्नो प्रमुख एजेन्डा रहेकाले विशेषगरी कृषि उत्पादनमा वडालाई जोड दिने गरी कायक्रमहरु भइरहेको उनले बताए । युवा पुस्ताको माग र अग्रज नागरिकको अनुभवबाट वडाको आर्थिक सामाजिक सांस्कृतिक तथा पूर्वाधार विकासको काम अघि बढाउने उनले बताए । घरघर पुग्ने क्रममा नागरिकहरूको सकारात्मक सद्भाव प्राप्त भइरहेको उनको भनाई छ ।