एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शिवप्रसाद दुङ्गाना विजयी भएका छन् । उनी पार्टी अध्यक्ष केपी ओली इतर समूहका मानिन्छन् । दुङ्गानाले संस्थापन पक्षले समर्थन गरेका गोविन्दराज श्रेष्ठलाई पराजित गरेका हुन् । दुङ्गानाले २३६ मत प्राप्त गर्दा श्रेष्ठले भने २०४ मत मात्रै ल्याएका थिए ।
दुङ्गानालाई रोक्न यसअघि एमाले संस्थापन पक्षले जिल्ला अधिवेशन स्थगन गरायो । छनौट भइसकेका अधिवेशन प्रतिनिधि खारेज गर्यो । भएको जिल्ला समितिका सदस्यहरूलाई प्रतिनिधि छनौट गर्न पुनः वडामा पठायो । जनसङ्गठनमा आफू अनुकूलका व्यक्तिहरू प्रतिनिधिको रूपमा छनौट गरिए । प्रतिनिधिसंख्या बढाइयो र जित सुनिश्चित भएपछि निर्धारित समयभन्दा झन्डै ६ महिना पुग्न लागेपछि अधिवेशन गराइयो । यद्यपि अधिवेशनबाट ढुङ्गानालाई रोक्न संस्थापन समूह सफल भएन ।
अधिवेशनबाट दुङ्गाना समूहका बहुमत सदस्य विजयी भएको एमाले स्रोत बताउँछ । पदाधिकारीमा निर्विरोध निर्वाचित भएका सन्तोष तिगेला पनि दुङ्गाना समूहकै हुन् । यद्यपि उनलाई अन्तिम समयमा निर्विरोध गराउन संस्थापनले नै अर्को उम्मेदवार ब्याक गराएको थियो ।
यस्तै सचिवमा विजयी तारामान मादेनले २२८ मत ल्याए । उनी भने संस्थापन समूहका हुन् । प्रतिस्पर्धी छत्रप्रसाद रिमालले २०२ मत ल्याएका थिए । रिमाल दुङ्गाना प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उपसचिव यादवबहादुर खापुङ (२२०) ढुङ्गाना प्यानलका हुन् । उनी मेरिङदेन गाउँपालिकाका अध्यक्ष पनि हुन् । उनले संस्थापन पक्षका अर्जुन ढुङ्गानालाई पराजित गरेका हुन् । यस्तै उपसचिव महिलामा तारा ढकाल (१७५) विजयी भएकी छिन् । उनी श्रेष्ठ प्यानलकी हुन् । उनले ढुङ्गाना प्यानलकी सरिता खड्कालाई पराजित गरेकी हुन् । यस्तै स्वतन्त्र रूपमा उठेकी तारा कार्कीले तेस्रो स्थान ल्याएकी थिइन् ।
तेह्रथुम एमाले ९१ सदस्यीय समिति निर्वाचित भएको छ । उक्त समितिका बहुमत सदस्य ढुङ्गाना प्यानलका रहेको बताइएको छ । ‘जिल्ला समिति मिश्रित जस्तो छ । तर, प्यानलगत हिसाबले बहुमत भने ढुङ्गानाकै छ,’ एमाले तेह्रथुमका एक नेताले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद भएका श्रेष्ठलाई सघाउन पार्टी उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरूले खुलेआम लबिङ गरेको त्यहाँका नेता बताउँछन् । ढुङ्गानालाई भने प्रदेश कमिटीका सदस्य लछुमन तिवारीलगायत स्थानीय नेताहरूले समर्थन गरेका थिए ।
एमालेले यसअघि २०८१ साल असार मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनेको थियो । यद्यपि कोशी प्रदेशका तेह्रथुम, इलाम र मोरङमा भने अधिवेशन हुन सकेको थिएन । केही दिन अगाडि इलामको अधिवेशन सम्पन्न भएको छ भने मोरङको कहिले हुने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।
तेह्रथुम एमालेमा गुटगत अवस्था
तेह्रथुम एमालेमा पहिलेदेखि नै ओली पक्ष कमजोर थियो । जिल्लामा भवानी खापुङ, लछुमन तिवारी, शिवप्रसाद ढुङ्गाना, गजेन्द्र कन्दङ्वा, विष्णु विक्रमहरूको टिम माधवकुमार नेपाल समूहमा थियो । यस्तै अनुभूति बम नेपाली पनि नेपाल पक्षमै थिए । ओली अध्यक्ष भएपछि त्यहाँको टिम यताउता हुन थालेको हो । यद्यपि २०७४ सालभन्दा अगाडि भएको अधिवेशनबाट जिल्लाको अध्यक्ष नेपाल समूहबाट तेजमान कन्दङ्वा निर्वाचित बने । उनले ओली समूहका किशोरचन्द्र दुलालाई पराजित गरेका थिए । उक्त कार्यकालमै शिवप्रसाद ढुङ्गेल सहसचिव बनेका थिए ।
कन्दङ्वापछि भएको अधिवेशनमा लछुमन तिवारी ओली पक्षमा गए । ओली पक्षबाट अध्यक्षमा लडेका तिवारीले नेपाल पक्षका विष्णु विक्रम कन्दङ्वालाई पराजित गरे । २०७४ सालको निर्वाचनमा तिवारी कोशी प्रदेशको प्रदेश सांसदमा निर्वाचित भए । तिवारीको कार्यकालमा पनि ढुङ्गाना तेह्रथुमको सचिव थिए ।
सांसद बनेपछि तिवारी फेरि माधव नेपाल समूहमा आए । संस्थापन पक्षबाट कोशी प्रदेशमा शेरधन राईको विपक्षमा र भीम आचार्यको पक्षमा खुल्दा तिवारी कर्नरमा परे । तर, पछि भीम आचार्य मुख्यमन्त्री हुँदा केही दिनका लागि तिवारी पनि पर्यटन, वन तथा वातावरण मन्त्री बने ।
पार्टी विभाजन भएपछि २०७९ सालमा भएको जिल्ला अधिवेशनबाट तिवारी अध्यक्ष बन्न चाहन्थे । तर, विभिन्न आरोप लगाएर उनलाई स्पष्टीकरण सोधियो र संस्थापन पक्षका नेताहरूको दबाबमा सर्वसम्मतको नाममा तेजमान कन्दङ्वालाई पुनः अध्यक्ष बनाइयो । कन्दङ्वाको नेतृत्वको एमाले तेह्रथुममा पनि पुनः शिवप्रसाद ढुङ्गाना सचिव बने ।
हालको जिल्ला सङ्गठन समितिमा सञ्जयकुमार तुम्बाहाम्फे उपाध्यक्ष थिए । उनी म्याङ्लुङ नगरपालिकाको प्रमुख पनि हुन् । स्थानीय सरकारको कार्यकारी प्रमुख भएको कारण उनलाई पार्टी अध्यक्ष बन्न नमिल्ने अवस्था आयो । त्यसपछि अध्यक्षको स्वाभाविक दाबेदार ढुङ्गाना नै थिए । तर उनलाई रोक्न अनेक बहाना गरिएको एमाले कार्यकर्ता नै बताउँछन् ।
‘उनलाई रोक्नका लागि सर्वसम्मतिको नाममा विभिन्न बहाना गरियो । अधिवेशन रोकियो । भूगोलबाट छनौट सकिएको थियो । जनसङ्गठन र मनोनीत बाँकी थियो,’ तेह्रथुमका एक एमाले कार्यकर्ताले भने, ‘तर, निर्वाचन हार्ने परिस्थिति सिर्जना हुने देखिएपछि पहिलेको प्रतिनिधिहरू सबै खारेज गरियो । अहिले ३२८ जना भूगोलबाट र अरू जनवर्गीय सङ्गठनबाट र मनोनयन गरेर ४५५ जना प्रतिनिधि बनाइयो ।’
त्यसबेला जिल्ला समितिका पदाधिकारी र सदस्यहरू १०७ जना थिए । अघिल्लो समयमै अधिवेशन गरेको भए जिल्ला समितिका सबै पदाधिकारी र सदस्यहरू प्रतिनिधि हुन्थे । त्यसो हुँदा आफ्नो पक्ष हार्ने भएकोले संस्थापन समूहले प्रतिनिधि चयन नै खारेज गरेर अधिवेशन लम्ब्याउँदै गयो ।
जिल्ला समितिलाई खारेज गरेर जिल्ला सङ्गठन कमिटी मात्रै भयो । त्यहाँ भएका सबैले वडाबाटै चुनिएर आउनु पर्ने प्रावधान राखियो । त्यसपछि फेरि प्रतिनिधि छनौट गरियो । ‘पुनः प्रतिनिधि छनौट गर्दा जनसङ्गठनहरूमा आफू अनुकूलका प्रतिनिधि छनौट गर्ने मापदण्ड बनाइयो र प्रतिनिधि बढाएर ४५५ जना पुर्याइयो । यो उनीहरूको जित सुनिश्चित गर्ने प्रयास भएको थियो । तर, हारे,’ ढुङ्गाना पक्षका एक एमाले नेताले भने ।
तर, ढुङ्गाना भने अधिवेशन सार्नुमा प्राविधिक कमजोरी भएको बताउँछन् । ‘त्यसलाई प्राविधिक कमजोरीको रूपमा लिनुपर्छ । यसलाई पक्ष विपक्ष भन्न मिल्दैन । अहिले त्यसलाई मिलाएर ल्याइयो भनौँ न,’ उनले भने, ‘अहिले मैले जितेको हिसाबले भन्दा सबै जिल्ला समितिका सदस्यहरू नै मेरो पक्षका हुन् । एमालेको पक्षका हुन् ।’
तर, यत्रो षड्यन्त्रका बिच जित्नु त भयो कति गाह्रो भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘कार्यकर्ता र जनतासँग भिजेको भएको कारण मैले धेरै कसरत गर्नु परेन । सहजै भयो ।’ एमालेको जिल्ला समिति छनौट गर्दा ६ वटा पालिकाबाटै छनौट गर्ने निर्वाचन आयोगको विधि छ । त्यही आधारमा जिल्ला समितिमा छनौट हुने व्यवस्था छ । जसमध्ये फेदाप गाउँपालिका र म्याङ्लुङ नगरपालिकामा मात्रै निर्वाचन भयो । अन्य चार पालिकाबाट सर्वसम्मत जिल्ला सदस्यहरू चुनिएर आएको ढुङ्गानाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !