गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधारको काम समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । हेटौँडामा निर्माणाधीन रङ्गशालाको अनुगमन गर्दै मन्त्री महर्जनले ठेक्का लागेका सबै आयोजनाको काम समयमा नै सक्न निर्देशन गरेका हुन् ।
ठेक्का लिएर अलपत्र छाड्ने प्रवृत्तिका कारण प्रदेश सरकारको आलोचना भइरहेकाले निर्माण कम्पनीलाई निरन्तर खबरदारी गरेर समय सीमा भित्रै काम सम्पन्न गर्न र निर्माणको काममा गुणस्तरीयता कायम गर्न उनले निर्देशन गरेका हुन् । मन्त्रालय अन्तर्गतका खेलकुद महाशाखा, प्रदेश खेलकुद विकास परिषद्का कर्मचारीहरूलाई आवश्यक नियमन सहित काम सम्पन्न गराउने उनले आग्रह गरे ।
मन्त्री महर्जनले खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन समस्या भएको उल्लेख गर्दै जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न जोड दिए । ठेक्का लिएर विभिन्न बहानामा काम नगर्ने निर्माण कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत मन्त्री महर्जनले दिए । जिम्मेवार ढङ्गबाट काम गर्न र मन्त्रालय, परिषद् तथा कर्मचारीबाट असहयोग भएको खण्डमा आफूलाई सम्पर्क राख्न उनले निर्माण कम्पनीहरूलाई आग्रह गरे ।
‘प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको छ । राज्यका निकायका कमीकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयदेखि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन । सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई पटक–पटक ताकेता गरेपछि निर्माणको कामले गति लिएको हो ’ मन्त्री महर्जन भने ।
१६ वर्षदेखि निर्माणाधीन गौरीटार रङ्गशालामा फुटबल मैदानसँगै पौडी पौखरी, क्रिकेट मैदानको पूर्वाधार निर्माण कार्य भइरहेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
‘हाल फुटबल रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र चाँडै निर्माण कार्यले पूर्णता पाउने छ । अन्य संरचना निर्माणको कार्यले पनि तीव्रता दिइएको छ’ उनले भने ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणको कार्यले गति लिन सकेको थिएन ।
२८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए । सङ्घीय संरचना कार्यान्वयन पश्चात् २०७६ बाट प्रदेश सरकार अन्तर्गत रहेको उक्त आयोजनामा युवा तथा खेलकुद मन्त्रालय मार्फत क्रमगत आयोजना कायम गरी बजेट विनियोजन गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप महिला क्रिकेट : कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित
-
अध्यादेश जारी गर्नुपर्ने कारणबारे मुख्यसचिवको प्रष्टीकरण
-
पर्यटन क्षेत्रको विकासका लागि सर्वपक्षीय भेला गर्दै सरकार
-
युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने
-
रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास
-
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)