मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । मेजर लिग सकर (एमएलएस) खेल्न सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका ३७ वर्षीय मेस्सी कम्तीमा एक सिजन अझ फ्लोरिडामै रहने छन् ।
आफू इन्टर मियामीमा आबद्ध भएयता मेस्सीले क्लबलाई केही महत्त्वपूर्ण उपलब्धि दिलाए पनि घरेलु लिगको उपाधि भने चुमाउन सकेका छैनन् । त्यसैले मेस्सी आफ्नो खेलजीवनभन्दा पनि कान्छो क्लब इन्टर मियामीलाई घरेलु लिगको उपाधि चुमाउने धुनमा छन् ।
तर, ‘दी सपोटर्स शिल्ड’ विजेता इन्टर मियामी भने पछिल्लो समय नयाँ प्रमुख प्रशिक्षकको खोजीमा रहेको छ । हालका प्रशिक्षक टाटा मार्टिनोले इन्टर मियामी छाड्ने निश्चित भइसकेको छ । मार्टिनोले व्यक्तिगत कारण देखाउँदै क्लब छाड्न लागेका हुन् ।
त्यसैले इन्टर मिलामी नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो । क्लबमा आउने नयाँ प्रशिक्षकका लागि कीर्तिमानी रूपमा आठपटकका बालोन डी’ओर विजेता मेस्सीसँगै सर्जियो बुस्केट्स, जोर्डी अल्बाजस्ता प्रभावशाली खेलाडीसँग तालमेल मिलाएर अगाडि बढ्ने क्षमता पहिलो सर्तका रूपमा रहने छ ।
यसैगरी, इन्टर मियामीमा आउने नयाँ प्रशिक्षकले उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजसँग नयाँ सम्झौता गर्ने वा नगर्ने भन्ने गम्भीर निर्णय पनि लिनु पर्नेछ । इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्याम आफै पनि आफ्नो समयका चर्चित फुटबलर भएकाले उनीसँग तालमेल मिलाउँदै अगाडि बढ्ने क्षमता पनि नयाँ प्रशिक्षकसँग हुनु पर्नेछ । इन्टर मियामीको प्रमुख प्रशिक्षक बन्ने दौडमा रहेका केही नामको बारेमा यहाँ चर्चा गरिएको छ ।
जाभी (स्पेन)
अहिले इन्टर मियाको नयाँ प्रशिक्षकका रूपमा केही नामहरू चर्चामा देखिएको छ । आफ्नो समयका चर्चित फुटबलरहरू पनि यो सूचिमा छन् । इन्टर मियामीको आगामी प्रशिक्षकको रूपमा चर्चामा रहेको एउटा नाम जाभी पनि हो ।
आफ्नो समयका प्रभावशाली स्पेनिस मिडफिल्डर जाभी बार्सिलोनाका पूर्वखेलाडी पनि हुन् । उनले बार्सिलोनामा रहँदा मेस्सीसँगै लामो समय फुटबल खेलेका थिए । सन् १९९८ देखि सन् २०१५ सम्म बार्सिलोनाबाट खेलेका उनी खेलजीवनबाट सन्न्यास लिएपछि बार्सिलोनाकै प्रशिक्षक पनि बनेका थिए ।
जाभी सन् २०२१ देखि सन् २०२४ सम्म बार्सिलोनाका प्रशिक्षक थिए । त्यसअघि उनी कतारी क्लब अल सादको प्रशिक्षक थिए । उनले अल सादमा सन् २०१९ देखि सन् २०२१ सम्म बिताएका थिए । जाभी र मेस्सीले बार्सिलोनामा रहँदा एकसाथ तीन सय खेल खेलेका थिए ।
इन्टर मियामीमा आउने नयाँ प्रशिक्षकका लागि कीर्तिमानी रूपमा आठपटकका बालोन डी’ओर विजेता मेस्सीसँगै सर्जियो बुस्केट्स, जोर्डी अल्बाजस्ता प्रभावशाली खेलाडीहरूसँग तालमेल मिलाएर अगाडि बढ्ने क्षमता पहिलो सर्तका रूपमा रहने छ । नयाँ प्रशिक्षकले उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजसँग नयाँ सम्झौता गर्ने वा नगर्ने भन्ने गम्भीर निर्णय पनि लिनु पर्नेछ ।
जाभी र मेस्सीले सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनल पनि सँगै खेलेका थिए । त्यतिबेला अल्बा, स्वारेज र बुस्केट्स पनि बार्सिलोनामै थिए । त्यसैले जाभीलाई इन्टर मियामीको नयाँ प्रशिक्षक बन्न योग्य व्यक्तिका रूपमा हेरिएको छ ।
उनी मेस्सी, अल्बा, स्वारेजजस्ता आफ्ना पूर्वसहकर्मीहरुको खेलबाट राम्ररी परिचित छन् । उनी प्रशिक्षकको भूमिकामा पनि सफल देखिएका छन् । उनले बार्सिलोनालाई प्रशिक्षकको भूमिकामा सन् २०२२–२३ सिजनमा स्पेनिस ला लिगा र स्पेनिस सुपरकपको उपाधि पनि चुमाइसकेका छन् ।
यसैगरी, कतारी क्लब अल सादमा पनि उनी सफल प्रशिक्षकको रूपमा दरिएका थिए । तीन वर्ष अल सादमा प्रमुख प्रशिक्षकको भूमिकामा रहँदा ४४ वर्षीय जाभीले कतारी क्लबलाई सातवटा महत्त्वपूर्ण उपाधि पनि चुमाएका थिए ।
जिनेदिन जिदान (फ्रान्स)
यसैगरी, आफ्नो समयका प्रभावशाली फ्रान्सेली खेलाडी र हालका सफल प्रशिक्षक जिनेदिन जिदान पनि यो दौडमा रहेका छन् । ५२ वर्षीय जिदान कुनै समय इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामका सहकर्मी थिए ।
जिदान र बेकह्यामले स्पेनिस क्लब रियल म्याड्रिडबाट लामो समय एकसाथ व्यावसायिक फुटबल खेलेका थिए । त्यसैले बेकह्याम जिदानको क्षमताबाट राम्ररी परिचित छन् । आफ्नो समयका प्रभावशाली मिडफिल्डर जिदानले पछिल्लो समय प्रशिक्षकको भूमिकामा पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।
जिदानले आफ्नो व्यावसायिक खेलजीवन पनि रियल म्याड्रिडबाटै टुंग्याएका थिए । उनले सन् २००१ देखि सन् २००६ सम्म रियलका लागि खेलेका थिए । उनी फ्रान्सको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी थिए ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनी रियल म्याड्रिडकै प्रशिक्षक बनेका थिए । सुरुमा रियल म्याड्रिडको दोस्रो दर्जाको क्लब समालेका उनी त्यसपछि सिनियर टोलीका प्रमुख प्रशिक्षक बनेका थिए । उनी दुई कार्यकाल रियलको प्रशिक्षक बनेका थिए ।
पछिल्लो पटक उनी सन् २०२१ सम्म रियल म्याड्रिडको प्रशिक्षकको भूमिकामा थिए । सन् २०२१ मा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएयता भने उनी अन्य कुनै पनि क्लबमा यो जिम्मेबारीमा फर्किएका छैनन् ।
आफ्नो प्रशिक्षकत्वमा जिदानले रियल म्याड्रिडलाई तीनपटक च्याम्पियन्स लिग, दुईपटक स्पेनिस ला लिगा, दुईपटक स्पेनिस सुपरकप र दुईपटक क्लब विश्वकपको उपाधि चुमाएका थिए । यो नतिजाले पनि उनको प्रशिक्षण क्षमतालाई स्पष्ट पार्छ ।
त्यसैले इन्टर मियामीले प्रशिक्षकको भूमिकामा उनीमाथि पनि आँखा लगाएको छ । तर, पछिल्लो समय जिदान फ्रान्सेली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने समाचार पनि बाहिरिएको छ । यदि जिदान इन्टर मियामीमा आबद्ध भएमा समकालिन विश्व फुटबलमा दुई महान खेलाडी मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैलाई प्रशिक्षण गर्ने उनी पहिलो प्रशिक्षक बन्ने छन् ।
फेड्रिको हिग्वेन (अर्जेन्टिना)
यसैगरी, इन्टर मियामीकै पूर्वखेलाडी फेड्रिको हिग्वेनको नाम पनि नयाँ प्रशिक्षकका रूपमा अगाडि आएको छ । आफ्नो समयका क्षमतावान अर्जेन्टिनी मिडफिल्डर हिग्वेनले आफ्नो व्यसायिक खेलजीवनको अन्तिम खेल इन्टर मियामीबाटै खेलेका थिए ।
उनले सन् २०२०–२१ सिजनमा इन्टर मियामीबाट खेलेका थिए । उनले अर्जेन्टिनी क्लब रियल प्लेटबाट व्यावसायिक खेलजीवन सुरु गरेका थिए । खेलजीवनबाट सन्न्यास लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए ।
सुरुमा इन्टर मियामी एकेडेमीको प्रशिक्षक बनेका उनले त्यसपछि इन्टर मियामीको दोस्रो श्रेणीको क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी अहिले पनि इन्टर मियाकीको दोस्रो श्रेणीको क्लबको प्रशिक्षक हुन् । त्यसैले ४० वर्षीय हिग्वेनलाई पनि इन्टर मियामीको सिनियर टोलीको सम्भावित प्रशिक्षकका रूपमा हेरिएको छ ।
जाभियर मास्चेरानो (अर्जेन्टिना)
यसैगरी, अर्जेन्टिनाका पूर्वखेलाडी जाभियर मास्चेरानोको नाम पनि इन्टर मियामीको नयाँ प्रशिक्षकका रूपमा चर्चामा आएको छ । ४० वर्षीय मास्चेरानो आफ्नो समयका प्रभावशाली खेलाडी थिए । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पनि एक सय ४० भन्दा बढी खेल खेलेका छन् ।
रिभर प्लेट, वेस्टहाम युनाइटेड, लिभरपुल, बार्सिलोनाजस्ता चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका उनी सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि भने प्रशिक्षण कार्यमा जुटेका थिए । उनी हाल अर्जेन्टिनाको यू–२० टोलीको प्रशिक्षकको भूमिकामा सक्रिय छन् । उनले सन् २०२१ मा यो जिम्मेवारी सुरु गरेका थिए ।
इन्टर मियामीमा प्रशिक्षक बन्न उनको सबैभन्दा सबल पक्ष भनेको उनले बार्सिलोनामा मेस्सीसँगै व्यावसायिक फुटबल खेलेका थिए । उनी सन् २०१० देखि सन् २०१८ सम्म बार्सिलोनामा रहँदा मेस्सी पनि सोही क्लबमा थिए । यसका अतिरिक्त उनी सन् २००३ देखि सन् २०१८ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पनि थिए ।
मास्चेरानो र मेस्सीबिचको सम्बन्ध पनि निकै सुमधुर रहेको छ । अन्तर्राष्ट्रिय फुटबलमा मास्चेरानोलाई मिलनशार ब्यक्तित्वका रूपमा पनि हेरिन्छ । खासगरी मेस्सीसँगको सुमधुर सम्बन्धका कारण उनलाई पनि मियामीको आगामी प्रशिक्षकका रूपमा हेरिएको छ ।
थियरी हेनरी (फ्रान्स)
यसैगरी, आफ्नो समयका प्रभावशाली स्ट्राइकर थिएरी हेनरीको नाम पनि इन्टर मियामीको नयाँ प्रशिक्षकका रूपमा चर्चामा आएको छ । हालै घरेलु मैदानमा आयोजित ओलम्पिक खेलकुदको फुटबलमा फ्रान्सको यू–२३ टोलीले हेनरीकै प्रशिक्षकत्वमा स्वर्ण पदक जितेको थियो ।
फ्रान्सलाई ओलम्पिकमा स्वर्ण पदक दिलाएपछि हेनरी अझ राम्रो अवसरको खोजीमा छन् । सक्रिय खेलजीवनमा उनले युभेन्ट्स, आर्सनल, बार्सिलोनालगायतका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।
उनले अमेरिकी क्लब न्यु योर्क रेड बुल्सबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । उनले फ्रान्सको राष्ट्रिय टोलीबाट एक सय २० भन्दा बढी खेल खेल्दै ५० भन्दा बढी गोल गरेका थिए । खेलजीवनबाट सन्न्यास लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय छन् ।
हेनरीले बार्सिलोनामा रहँदा करिब तीन वर्ष मेस्सीसँगै व्यावसायिक फुटबल खेलेका थिए । हेनरी र मेस्सीबिचको सम्बन्ध पनि निकै राम्रो रहेको छ । उनले यसअघि फ्रान्सेली लिग खेल्ने चर्चित क्लब मोनाकोमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
यसका अतिरिक्त उनले सन् २०१९ देखि सन् २०२१ सम्म क्यानेडियन क्लब मोन्ट्रियल इम्प्याक्टमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी सन् २०२३ देखि सन् २०२४ सम्म फ्रान्सको यू–२१ टोलीका प्रशिक्षक थिए । यी चर्चित व्यक्तित्वहरूमध्ये स्टार खेलाडी मेस्सीको प्रशिक्षकको भूमिका निर्वाह गर्ने जिम्मेवारी कसको काँधमा आउँछ त्यो त समयले नै देखाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली पर्सामा, पार्टी प्रवेश गर्नेहरूलाई स्वागत
-
चिनी किन नखाने ?
-
हठ गर्ने पार्टी र नेताहरु सकिन्छन् : वर्षमान पुन
-
काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन, तस्बिरहरु
-
समाजवादी विद्यार्थी युनियनको महाधिवेशन चैत ७–८ गते
-
परराष्ट्रमन्त्री राणासँग भेटघाट कार्यक्रम राखेपछि राम माधवलाई सोधियो स्पष्टीकरण