मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटस्थ अर्वपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा ठगीविरुद्धको कारबाही प्रक्रियाअघि बढेको खबरले अडानी समूहका कम्पनीको शेयर मूल्य एकैदिन ३४ अर्ब डलरले घटेको छ ।
बिहीबार मात्रै अडानी समूहका कम्पनीको शेयर मूल्य ३४ अर्ब डलर कम भएको थियो । कम्तिमा १० कम्पनीको संयुक्त बजार पूँजीकरण घटेर १२७ अर्ब डलर कायम भएको बताइन्छ । अडानीविरुद्धको पक्राउ पुर्जीलाई अमेरिकी अदालतले ‘ओपन’ गरिदिएको समाचारहरु बाहिरिएका बेला अडानी समूहको ग्रीन इनर्जी थप धरापमा पर्ने देखिएको छ ।
यसले भारतको व्यापार तथा राजनीति समेतमा असर पारेको अड्कल गर्न थालिएको छ । जसले सिंगो भारतीय अर्थव्यवस्था प्रभावित पार्ने ठानिएको छ । कारणः अडानी भारतीय अर्थव्यवस्था तथा पूर्वाधार निर्माण क्षेत्रका टाइकून मानिन्छन् ।
बन्दरगाहमा अडानी समूहको ३० प्रतिशत हिस्सेदारी छ भने हवाई अड्डामा २३ प्रतिशत र भारतको दोस्रो सबैभन्दा ठूलो सिमेन्ट व्यवसायमा २० प्रतिशत कब्जा छ । विद्युत् उत्पादनका क्षेत्रमा पनि अडानी भारतको सबैभन्दा ठूलो खेलाडी रहेको मानिन्छ । उनले हरित हाइड्रोजनमा ५० अर्ब डलरको लगानी गर्ने र आठ हजार किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन सञ्चालनमा ल्याउने बाचा समेत गरेका छन् ।
४५ हजारभन्दा बढीलाई रोजगारी दिएका अडानीले भारतकै सबैभन्दा ठूलो एक्सप्रेस वे निर्माण गरिरहेका छन् भने सबैभन्दा ठूलो एकीकृत बस्तीको पुनःनिर्माण समेत गराउँदै छन् ।
जसको १६९ अर्ब डलरको विशाल साम्राज्य बन्दरगाह तथा नविकरणीय ऊर्जासम्म फैलिएको छ । तर, हालै अमेरिकाले लगाएको ठगीको संगीन आरोपले भारतसहित अन्तर्राष्ट्रिय जगतमा अडानीको महत्वकांक्षालाई संकटमा पार्ने अनुमान गरिएको छ ।