१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
आज मिति २०८१ साल मंसिर महिनाको ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. ओलीको गर्जन, बालेनको जरिवाना
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले समाजमा फैलाएको भ्रम चिर्न भन्दै शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलयको ठीक अगाडि जागरण सभाका नाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले नेता कार्यकर्ताहरू भद्रकालीमा जम्मा भएर र्यालीसहित वीर अस्पताल, जय नेपाल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएका थिए ।
नारायणहिटीको आँगनको उक्त सभामा सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपहरूको खण्डन मात्रै गरेनन् समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने तथा जनतालाई भ्रममा पार्ने काम भइरहे पनि जनता भ्रमित नहुने तर्क गरे । उनले आफ्नो आलोचना गर्ने प्रचण्डदेखि दुर्गा प्रसाईंमाथि कटाक्ष गर्दै एमाले सही पार्टी भएको जिकिर गरे ।
काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
यसैगरी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि सत्तारूढ दल नेपाली कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गरेको छ । सर्कुलरमा सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।
२. राष्ट्रिय परिचयपत्र विवाद
राष्ट्रिय परिचयपत्र विवादमा सरकारको भ्याकेटबारे सर्वोच्च अदालतमा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सरकारका तर्फबाट कात्तिक २० गते दर्ता भएको भ्याकेट पछिल्लो एक महिनादेखि पेसी चढ्ने तर हरेक पटक पालो नआउने हुँदै आएको थियो ।
आज (शुक्रबार) न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भ्याकेटको पेसी तोकिएको थियो । उक्त मुद्दा नौ नम्बरमा पेसी थियो । तर न्यायाधीश श्रेष्ठले हेर्न नमिल्ने भएपछि स्थगित भयो ।
यसैबीच नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट पनि हालसम्म पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ।
३. जोगियो सांसदको पद
जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् ।
४. धरहरा चढ्न अब पैसा लाग्ने
सरकारले यही मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिई मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
५. अदालतमा दुर्गा
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।
६. नमुना मतपत्र
निर्वाचन आयोगले मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ।
उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
७. क्रेडिट रेटिङ
नेपालको इतिहासमै पहिलोपटक ‘सार्वभौम क्रेडिट रेटिङ’ सम्पन्न भएको छ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले गरेको रेटिङसम्बन्धी रिपोर्ट बिहीबार सार्वजनिक गरेको हो । यस अनुसार नेपाललाई ‘डबल–बी माइनस’ रेटिङ प्रदान गरिएको छ ।
अहिले सार्वभौम रेटिङका लागि एस एण्ड पी ग्लोबल, मुडिज र फेच लगायत रेटिङ एजेन्सी विश्वमा प्रचलित छन् । यी एजेन्सीले दश वटा ग्रेडसहितको स्केल निर्धारण गर्ने गरेका छन् । फेचले रेटिङका लागि ‘ट्रिपल–ए’ देखि ‘डी’ सम्म रेटिङ प्रदान गर्ने गरेको छ । त्यस्तै ‘सी’सम्मका ग्रेडलाई ‘प्लस’ र ‘माइनस’मा छुट्ट्याएर थप परिस्कृत गर्ने गरिएको छ । नेपालले पाएको यो रेटिङ १०–स्केलमा पाँचौँ र १९ स्केलमा १०औँ हुन आउँछ ।
८. फ्राइडे रिलिज
शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा दुई नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । फिल्म हुन् – ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एक–अर्कोसँग प्रतिस्पर्धा गर्न उत्रिएका हुन् ।
९. सेयर बजारमा गैरआवासीय नेपाली
शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत