भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
![भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा](https://npcdn.ratopati.com/media/news/pm-indian-army_7mXllDrafA.jpg)
काठमाडौँ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा भएको बताएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका थिए ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ताका उनले मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न पाउनु सौभाग्यको कुरा भएको बताएका हुन् । सो क्रममा उनले दुवै देश तथा सेनाबीचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
नेपालस्थित भारतीय दूतावासका अनुसार भारत र नेपालबीचको व्यापक सैन्य तथा द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्न द्विवेदीले रक्षामन्त्री मानवीर राईसँग पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो क्रममा द्विवेदीले दुई देशबीचको रक्षा सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्याउनुपर्ने कुरामा जोड दिएको बताइएको छ । यस्तै आजै भारतीय सेना प्रमुख द्विवेदीले शिवपुरीस्थित नेपाली आर्मी कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरेका छन् ।
त्यहाँ पुग्दा उनलाई नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका उपरथी ध्रुवप्रकाश शाह तथा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका कमाण्डेन्टले स्वागत गरेका थिए ।
द्विवेदीले आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थी अफिसरहरुलाई सम्बोधन समेत गरेका थिए । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।
सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । प्रधान सेनापति अशोक सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को अमेरिकी विमान सम्पर्कविहीन
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा