शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

शुक्रबार, ०७ मङ्सिर २०८१, १९ : ३९
शुक्रबार, ०७ मङ्सिर २०८१

धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ । 

पटकपटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्राध्यानापक प्रेमकुमार निधिले बताए । उनका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् । 

बडादसैँ, तिहार तथा छठपर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिको भनाइ छ । “भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन । पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ”, उनले भने । 

यहाँ नगरप्रमुख र उपप्रमुख फरक पार्टीका भएकाले सुरुदेखि नै समस्या हुँदै आएको छ । यहाँ नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधि छन् । यसपटक पनि २०८१-८२ को नगरसभासमेत हुनसकेको छैन । नगरप्रमुख विजय यादवले नगरसभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउनसमेत नसकिएको बताए । 

उपप्रमुख राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा बस्न सकेको छैन । उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान दोहोर्‍याए । 

स्थानीय रामेश्वर यादवले नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको आन्तरिक विवादका कारण नगरपालिकाले समस्या भोगिरहेको बताए । आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप