सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
काठमाडौँ । जनमत पार्टीले सभामुख देवराज घिमिरेले दलको सर्वोच्चतालाई लत्त्याएको आरोप लगाएको छ । आफूहरूले पटक पटक पार्टी नेतृ तथा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको र सांसद पद निलम्बनको सूचना टाँस गर्न अनुरोध गर्दा सभामुखले अटेर गर्दा दलीय सर्वोच्चता हनन् भएको जनमतको टिप्पणी छ ।
पार्टी केन्द्रीय प्रवक्ता शरदसिंह यादवले रातोपाटीसँग कुरा गर्दै सभामुख घिमिरेले गोमा लाभ सापकोटाको सांसद पदको विषयमा गरेको निर्णय दुर्भाग्यपूर्ण भएको बताए । सभामुख घिमिरेले शुक्रवार सांसद गोमा लाभ सापकोटालाई पदबाट निष्कासन गरेको सूचना टाँस्न नसकिने निर्णय गरेका थिए ।
सोही विषयमा प्रतिक्रिया दिँदै प्रवक्ता यादवले कानुनले नै दलले चाहे सांसद पद मुक्त गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरे । यसअघि सरिता गिरी‚ ढाकाकुमार श्रेष्ठको उदाहरण दिँदै उनले सभामुख घिमिरेले नयाँ उदाउँदो दललाई तहसनहस गर्न र दबाउन लागि परेको उल्लेख गरे ।
‘ढाकाकुमार माथि एक दिनमा कारबाही भयो‚ सरिता गिरीलाई पनि उस्तै भएको थियो‚’ यादवले रातोपाटीसँग भने‚ ‘हामी आठ महिनादेखि कराइहेका छौँ । सभामुखले दलको सर्वोच्चता स्वीकार गर्नुभएन ।’
प्रवक्ता यादवले पार्टीले चाहे जुनसुकै नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्न सक्ने र कानुन अनुसार रित पुर्याएर निवेदन दिँदा सभामुखबाट असहयोग हुनु विडम्बना भएको पनि उल्लेख गरे । सांसद लाभले पार्टीको अनुशासन उल्लङ्घन गरेको‚ पार्टी अध्यक्षमाथि झुटा आक्षेप लगाएको लगायत कारण देखाउँदै जनमतले कारबाही गर्दै सांसदबाट हटाएको सूचना टाँस गर्न पटक–पटक पत्र पठाएको थियो ।
सभामुख घिमिरेले भने राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी सङ्घीय संसद्को सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानुनले परिभाषित गरेको कसुर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरू विश्वसनीय नदेखिएकोले कारबाही अगाडि नबढाउने निर्णय गरेको बताएका छन् ।
‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्युत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुऱ्याउँछ‚’ निर्णय पश्चात् सभामुख घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान