भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
काठमाडौँ । भारतविरुद्धको पहिलो बोर्डर–गावस्कर टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यानहरुले झनै निराशाजनक प्रदर्शन गरेका छन् । पहिलो पालीमा भारतलाई सस्तोमा समेटेपछि उत्साही बनेको अस्ट्रेलिया आफ्ना ब्याट्सम्यानको निराशाजनक प्रदर्शनपछि फेरि दबाबमा परेको छ ।
पहिलो दिन शुक्रबारको खेल समाप्त हुँदासम्म घरेलु टोली अस्ट्रेलिया आफ्नो पहिलो पालीमा सात विकेट गुमाएर केवल ६७ रनमात्र बनाउन सकेको छ । त्यसअघि भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५० रन बनाउँदै अलआउट भएको थियो ।
भारतीय ब्याट्सम्यानहरु ४९.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । पहिलो पालीमा भारतले बनाएभन्दा अस्ट्रेलिया अझै ८३ रनले पछाडि छ । पहिलो दिन शुक्रबार दुबै टोलीको गरेर कुल १७ विकेट खस्यो ।
पहिलो पालीमा कुनै पनि अस्ट्रेलियन ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । १४ रनको कुल स्कोरमै अस्ट्रेलियाले पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान नाथन म्याकस्विनी १० रन बनाउँदै पेभेलियन फर्किए ।
टोलीको कुल स्कोर १९ रन रहँदा अस्ट्रेलियाले लगातार दोस्रो र तेस्रो विकेट गुमायो । दोस्रो विकेटका रुपमा अर्का ओपनर उस्मान ख्वाजा केवल आठ रन बनाउँदै आउट भए । लगत्तै तेस्रो विकेटका रुपमा स्टिभन स्मिथ खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
अस्ट्रेलियाले ३१ रनको कुल स्कोरमा चौथो विकेट गुमायो । चौथो विकेटका रुपमा ट्राभिस हेड ११ रन बनाउँदै आउट भए । पाँचौँ विकेटका रुपमा मिचेल मार्स ६ रन बनाउँदै पेभेलियन फर्कँदा टोलीको कुल स्कोर ३८ रन थियो ।
यसैगरी, अस्ट्रेलियाले छैटौँ विकेटका रुपमा मार्नस लाम्बुसेनलाई दुई रनको व्यक्तिगत स्कोरमा गुमायो । त्यतिबेला टोलीको कुल स्कोर ४७ रन थियो । कप्तान प्याट कमिन्स पनि केवल तीन रन बनाउँदै सातौँ विकेटका रुपमा पेभेलियन फर्किए । त्यतिबेला अस्ट्रेलियाको कुल स्कोर ५९ रन थियो ।
पहिलो दिनको खेल समाप्त हुँदासम्म अस्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी अविजित १९ रन बनाउँदै क्रिजमा छन् । मिचेल स्टार्क पनि अविजित ६ रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । अस्ट्रेलियाले पहिलो पालीमा २७ ओभरमात्र ब्याटिङ गरेको छ ।
भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १७ रन खर्चिए । मोहम्मद सिराजले पनि दुई विकेट हात पारे । हर्षित राणाले एक विकेट लिए । अस्ट्रेलियाले अतिरिक्त रुपमा केवल दुई रन पाएको छ ।
त्यसअघि पर्थमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका पनि कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । टोलीको कुल स्कोर केवल पाँच रन रहँदा भारतले ओपनर यशस्वी जैसवाललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । उनले खातासम्म खोल्न सकेनन् ।
टोलीको कुल स्कोर १४ रन रहँदा भारतले दोस्रो विकेट गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका देवदत्त पाडिकल पनि शून्य रनमै आउट भएका थिए । भारतले ३२ रनको कुल स्कोरमा तेस्रो विकेट गुमायो । अनुभवी ब्याट्सम्यान विराट कोहली केवल पाँच रन बनाउँदै आउट भए ।
यसैगरी, ४७ रनको कुल स्कोरमा भारतले आफ्नो चौथो विकेट गुमायो । ओपनर ब्याट्सम्यान केएल राहुल २६ रन बनाउँदै आउट भएका थिए । एक सय नौ मिनेटसम्म क्रिजमा टिकेका उनले ७४ बलको सामना गरी तीन चौका हिर्काएका थिए ।
भारतले ५९ रनमा आफ्नो पाँचौँ विकेट गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका ध्रुव जुरेल ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । छैटौँ विकेटका रुपमा वासिङ्टन सुन्दर पेभेलियन फर्किएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
यसैगरी, टोलीको कुल स्कोर एक सय २१ रन रहँदा सातौँ विकेटका रुपमा ऋषभ पन्त आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान पन्तले टोलीको खातामा ३७ रन थपे । उनले ७८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । टोलीको स्कोरलाई एक सय रनभन्दा अगाडि बढाउन उनको भूमिका महत्त्वपूर्ण रह्यो ।
त्यसलगत्तै आठौँ विकेटका रुपमा हर्षित राणा आउट भएका थिए । उनी सात रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट हुँदा भारतको कुल स्कोर एक सय २८ रन थियो । उनलाई पछ्याउँदै नवौँ विकेटका रुपमा जसप्रित बुमराह पनि आउट भए ।
कप्तानको भूमिकामा रहेका बुमराहले आठ रन बनाए । उनी आउट हुँदा भारतको कुल स्कोर एक सय ४४ रन थियो । भारतले अन्तिम विकेटका रुपमा नितिश कुमार रेड्डीलाई गुमायो । उनी टोलीका लागि सर्वाधिक ४१ रन बनाउँदै आउट भए ।
उनले केवल ५९ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए । मोहम्मद सिराज भने शून्य रनमा अविजित रहे । भारतीय टोलीले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । समग्रमा भारतीय ब्याट्सम्यानको प्रदर्शन निकै निराशाजनक रह्यो ।
अस्ट्रेलियाका बलर जस हेजलउड एक्लैले चार विकेट लिए । ३३ वर्षीय मध्यमतेज गतिका बलर हेजलउडले १३ ओभरमा पाँच मेडन राख्दै केवल २९ रन खर्चिए । बायाँहाते तीव्र गतिका बलर मिचेल स्टार्क र दायाँहाते मध्यमतेज गतिका बलर मिचेल मार्सले पनि दुई–दुई विकेट हात पारे । अर्का तीव्रगतिका बलर प्याट कमिन्सले पनि दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
-
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार