बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
धितोपत्र बोर्डको आठौँ संशोधन निर्देशिका

सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो

शुक्रबार, ०७ मङ्सिर २०८१, १५ : ०२
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो । 

बोर्डले शुक्रवार जारी गरेको निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको शेयर निष्कासन गर्नुअघि शेयर बोर्डमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डको स्वीकृतिपछि कम्तीमा चार दिनदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सकिने व्यवस्था गरिएको छ ।

यसरी आईपीओमार्फत् खरिदबिक्री हुने शेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद शेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी निष्कासन हुने शेयरमा धितोपत्रको प्रत्याभूतिकर्ता नियुक्त गर्नुपर्ने छैन । यो निर्देशिकाले यसअघि गैर आवासीय नेपालीले लगानी गर्न सक्नेगरी ल्याइएका विभिन्न कानुन अनुसार भइरहेका काममा भने असर नगर्ने निर्देशिकामा उल्लेख गरिएको छ । 

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता पाएका नेपालीलाई पुँजी बजारमा आकर्षित गर्न निर्देशिका संशोधन गरेर लगानी खुला गरिएको उल्लेख गरे । यसले  त्यसरी सङ्कलित पुँजी नेपालमा परिचालन गर्न सहयोग पुग्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप