स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
काठमाडौँ । २०७९ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेश र लुम्बिनी प्रदेशको स्थानीय तहमा मात्र जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा १६ स्थानमा उम्मेदवारी दिएको छ ।
यसअघि जनमत पार्टीले स्थानीय तहका विभिन्न ११२ सिट जितेको थियो । त्यसमध्ये मधेस प्रदेशमा पालिका प्रमुखमा एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्षमा एक सिट जितेको थियो । त्यसैगरी, लुम्बिनी प्रदेशमा वडाअध्यक्ष सहित अन्य सदस्यहरूमा जितेको थियो ।
उपनिर्वाचनमा जित्ने लक्ष्यसहित आफ्नो पकड भएको क्षेत्रमा पनि उम्मेदवारी दिएको जनमत पार्टीका उपाध्यक्ष ई. दीपक साहले बताए । ‘हाम्रो लक्ष्य त उम्मेदवारी दिएको सबै ठाउँमा जित्ने हो,’ उनले भने, ‘त्यसैले संगठन बलियो भएको र चुनाव जित्ने सम्भावना भएको ठाउँमा मात्र उम्मेदवारी दिन लगाएका छौँ ।’
सुनसरी, सप्तरी र रौतहटमा जित्ने लगभग पक्का रहेको उपाध्यक्ष साहले बताए । जनमत पार्टीले पहिलो पटक २०७९ को स्थानीय तह चुनावमा सहभागिता जनाएको थियो । पहिलो पटक भाग लिँदा पनि दुई पालिका प्रमुखसहित उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरू जिताउन सफल भयो ।
यस बिचमा संगठनले राम्रो काम गरेकाले विगतको चुनावभन्दा यो उपचुनावमा राम्रो परिणाम हासिल हुने अपेक्षा आफूहरूले गरेको उपाध्यक्ष साहले बताए ।
जनमत पार्टीले कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दिएको छ । पालिका प्रमुखमा केशव श्रेष्ठलाई सो पार्टीले उम्मेदवार बनाएको हो । जनमत पार्टीले २०७९ को चुनावमा कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएको थिएन । उपत्यकामा संगठन निर्माण भएका कारण कीर्तिपुरमा जित्ने सम्भावना रहेको जनमत पार्टीको दाबी छ ।
जनमत पार्टीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा पनि उम्मेदवारी दिएको छ । पालिका अध्यक्षमा विनोद कुमार माझीलाई उम्मेदवार बनाएको छ । जबकि २०७९ को चुनावमा जनमत पार्टी यहाँ छैटौँ स्थानमा सीमित थियो ।
त्यहाँ कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मतले जित्दा जनमत पार्टीले ९८ मतमात्र ल्याएको थियो ।
जनमत पार्टीले झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा सुकलाल राजवंशीलाई उम्मेदवार बनाएको छ । विगतको चुनावमा त्यहाँ जनमत पार्टीले उम्मेदवारी दिएको थिएन । त्यस्तै, सुनसरीको गढी गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा जनमत पार्टीबाट सिताराम यादव उम्मेदवार बनेका छन् । २०७९ को चुनावमा जनमत पार्टी यहाँ पाँचौँ स्थानमा सीमित भएको थियो । यसपटक जसरी पनि त्यहाँ जित्ने दाबी जनमत पार्टीको छ । जबकि, अघिल्लो निर्वाचनमा त्यहाँ एमालेका सदनन्द उराँव झागरले ७१२ मत ल्याएर निर्वाचित भएका थिए । जनमत पार्टीले २२४ मतमात्र पाएको थियो ।
सप्तरीको डाक्नेश्वरी वडा नम्बर १ को अध्यक्षमा शैलेन्द्र साहलाई जनमत पार्टीले उम्मेदवार बनाएको छ । विगतको चुनावमा जनमत पार्टी त्यहाँ पाँचौँ स्थानमा सीमित भएको थियो । कांग्रेसका प्रितमलाल चौधरी ५३५ मत ल्याएर जित्दा जनमत पार्टीका दीपन्द्र साहले ९६ मतमात्र पाएका थिए ।
सोही गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा उदय नारायण पंडितलाई जनमत पार्टीले उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा यहाँ तेस्रो स्थानमा रहेको जनतमत पार्टीका उदय पण्डितले १९७ मत पाएका थिए । जबकि ३३३ मत ल्याएर कांग्रेसका हरिप्रसाद राय निर्वाचित भएका थिए ।
जनमत पार्टीले धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा कुशेश्वर मण्डललाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा जनमत पार्टीले त्यहाँ १० औँ स्थानमा सीमित भएको थियो । कांग्रेसका विश्वनाथ यादव ६१८ मत ल्याएर जित्दा जनमतका रामजोती देवी यादवले ९ मत ल्याएकी थिइन् ।
त्यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा ललेन्द्र साहलाई जनमत पार्टीले उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा छैटौँ स्थानमा जनमत पार्टी थियो । कांग्रेसका मुकेश यादव ४३३ मतसहित निर्वाचित हुँदा जनमतका अशोक यादवले १७ मतमात्र पाएका थिए ।
रौतहटको ईशनाथपुर नगरपालिका–७ को अध्यक्ष पदमा जनमतले शेख समिरुल हकलाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा यहाँ एमालेका शेख खली उल्लाहले ६८३ मत ल्याएर जितेका थिए भने जनमत पार्टी पाँचौँ स्थानमा सीमित थियो । सो पार्टीका सेख मनिरले २० मत पाएका थिए ।
त्यस्तै राजपुर वडा नं. ६ को अध्यक्षमा जनमतले कमल मन्सुरीलाई उम्मेदवार बनाएको छ । २०७९ मा जनमत पार्टीबाट उम्मेदवार बनेका शेख मोहम्मद मुस्ताकले एक मत पनि प्राप्त गर्न सकेनन् । त्यहाँ कांग्रेसका सेख मोजरे आलमले ५३४ मत ल्याएर निर्वाचित भएका थिए ।
गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा जनमत पार्टीले सुरेन्द्र राउत कुर्मीलाई उम्मेदवार बनाएको छ । यसअघिको चुनावमा जनमत पार्टीले सो वडामा ८ मतमात्र पाएको थियो । यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित विजयी भएका थिए ।
काठमाडौँको कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा जनमत पार्टीले विकास प्रधान र वडा नम्बर ४ को अध्यक्षमा कृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । यसअघिको चुनावमा जनमतले त्यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन । त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पनि उम्मेदवार उठाएको छ ।
जनमत पार्टीले कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा सिताराम पटेललाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा जनमत पार्टी त्यहाँ तेस्रो स्थानमा थियो । त्यहाँ काँग्रेसका तिलकराम यादवले एक हजार ३२ मत ल्याएर चुनाव जितेका थिए भने जनमतका सीताराम पटेलले ५४७ मत पाएका थिए ।
त्यस्तै, जनमत पार्टीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा यादव बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । गत चुनावमा जनमतले त्यहाँ उम्मेदवारी दिएको थिएन । यसपटक संगठन बनेको कारण उम्मेदवारी दिइएको सो पार्टीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा जनमत पार्टीले प्रमोद मलाह सहनीलाई उ्रम्मेदवार बनाएको छ । गत चुनावमा त्यहाँ पनि जनमत पार्टीले उम्मेदवारी दिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान