बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अर्थ

क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय

शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ०१
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्ताहरूमा उत्साह सिर्जना गरेको बताएको छ । शुक्रवार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको जनाएको हो ।

‘दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपाल सन् २०२६ मा मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने मन्त्रालयले जनाएको छ । 

नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले र विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठुला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गर्न सक्ने मन्त्रालयले जनाएको छ । 

‘नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ’, मन्त्रालयले भनेको छ, ‘यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।’

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको भन्दै  नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।

‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सबल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौँ’, मन्त्री पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप