बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

शुक्रबार, ०७ मङ्सिर २०८१, ०९ : ३१
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

नेपाल, अमेरिका, बेलायत, मलेसिया, बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागितामा मङ्सिर २१ र २२ गते विराटनगरको बिग होटलमा सम्मेलन आयोजना गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए।

पोखरेलले यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य रहेको बताए । उनले भने “प्रारम्भिक शिक्षामा नवीनतम् विषयहरू आएका छन् । बालबालिकाको शिक्षा पाउने अधिकार, राज्यका साथै शिक्षक र अभिभावकको दायित्वको विषयमा पनि हाम्रा धारणाहरुमा पनि परिवर्तन आएको छ ।” उनले थपे “यस परिदृश्यमा विश्वविद्यालयले बालबालिकासँग सम्बन्धित विषयलाई तत्काल सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।”

विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलियाले सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी खोलिन लागेको “Special Centre for the Study of ECD”  अध्ययन-अनुसन्धान केन्द्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने “बालबालिका लक्षित यस सम्मेलन हाम्रो लागि एउटा महत्त्वपूर्ण सुरुवात हो । यसले बालबालिकालाई न्याय, समता र अधिकार सुनिश्चित गर्न सघाउ पुग्नेछ ।” यस सम्मेलनले बालविकासका क्षेत्रमा नयाँ एवं बजारको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरूप कार्यक्रमहरू थप गर्न सघाउ पुग्ने विश्वविद्यालयको विश्वास छ ।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धानको प्रस्तुति, बालबालिका लक्षित विषयमा कार्यशाला एवं प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा बेलायतबाट प्रोफेसर करेन ग्रहाम, अमेरिकाबाट इल्सा चाहिन, लोरेन वेब्राइट र क्रिष्टिन हैगेन, भारतबाट चिराश्री घोस, नेपालबाट मिनाक्षी दाहाल, मलेसियाबाट ली जेन यून र आनी शिवानाथान लगायत मुख्य वक्ताहरुले बालविकास र प्रारम्भिक शिक्षा लगायतका विषयमा मन्तव्य दिने कार्यक्रम छ ।

सम्मेलन आयोजनाका लागि काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नवील बैंक,  प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका विभिन्न सङ्घ संस्थाको सहयोग रहेको छ । सम्मेलन कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा मङ्सिर २१ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप