शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’

एक वर्षमा ७९ अर्ब ७८ करोड आम्दानी, प्रोत्साहन खर्चको भारजति बैंकलाई
शुक्रबार, ०७ मङ्सिर २०८१, ०७ : ४५
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । नेपाली नागरिकले विदेशमा गएर पसिना बगाउँदा नेपाल राष्ट्र बैंक ‘मालामाल’ बन्दै गएको छ । पछिल्लो समयमा बढ्दै गएको रेमिट्यान्ससँगै बढेको विदेशी विनियम सञ्चितिका कारण राष्ट्र बैंकले विदेशी बजारमा गरेको लगानीको प्रतिफल उच्च दरमा बढाउँदै गएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै यस्तो लगानीबाट राष्ट्र बैंकले ७९ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा झण्डै ६५ प्रतिशत बढी हो । 

दुई वर्षअघि विदेशी मुद्राको सञ्चिति घट्दै गएर बाह्य क्षेत्र संकटको डिलमा पुगेको थियो । त्यसयताको दुई वर्षमा भने देशमा भित्रिने रेमिट्यान्स बढ्दै गएको छ । यसले सञ्चितिलाई समेत बढाउँदै लगेको छ ।

विदेशी विनिमय सञ्चितिको त्यही रकमलाई लगानी गरेर राष्ट्र बैंकले यस्तो आम्दानी बढाउँदै लगेको हो । आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ७२ करोड रुपैयाँ रहेको आम्दानी २ वर्षमै चार गुणा भन्दा धेरै पुगेको हो । 

table

राष्ट्र बैंकले कसरी कमाउँछ पैसा ?

कुनै पनि व्यक्तिले विदेशबाट सम्बन्धित देशको मूल्यमा पठाएको रकम रेमिट्यान्स कम्पनी वा बैंकले नेपाली रुपैयाँमा ‘कन्भर्ट’ गरेर दिन्छ । त्यसरी आएको विदेशी मुद्रामध्ये धेरैजसोलाई राष्ट्र बैंकसँग सटही गर्छन् भने केही पैसा भने आफैँसँग राख्ने गर्छन् । कुल विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग ८०/८५ प्रतिशत र बैंकिङ क्षेत्रसँग १५/२० प्रतिशत हुने गरेको छ । गत असार मसान्तमा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब सञ्चिति रहँदा बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब रुपैयाँ सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणको हातमा भएको विदेशी मुद्रालाई भने सञ्चितिमा गणना गरिँदैन । 

राष्ट्र बैंकले आफूसँग आएको जुनसुकै मुद्रालाई तत्कालै अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यमा बिक्री गरेर डलरमा रूपान्तरण गर्छ । त्यसबाटै विभिन्न देशका केन्द्रीय बैंकको टर्म डिपोजिटमा विभिन्न सेक्युरिटिज किन्न खर्च गर्ने गर्छ । कतिपय अवस्थामा सुन, तेल जस्ता अन्तर्राष्ट्रिय कमोडिटिज बजारमा समेत राष्ट्र बैंकले लगानी गर्ने गरेको छ । यसबाट राष्ट्र बैंकले प्रशस्त आम्दानी गरिरहेको छ । 

आर्थिक वर्ष २०८०/८१ को रिपोर्ट हेर्ने हो भने राष्ट्र बैंकले एक वर्षभित्र १ खर्ब १५ अर्ब रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यसमध्ये सुन तथा विदेशी मुद्राको रिभ्यालुएसनबाट देखिएको ४१ अर्ब ५९ करोडलाई छाडेर बाँकी ७३ अर्ब ७५ करोड रुपैयाँलाई राष्ट्र बैंकले आम्दानीको रुपमा देखाएको छ । यहाँ विदेशमा गरिएको लगानीबापत मात्रै ७९ अर्ब ७८ करोड कमाएको राष्ट्र बैंक आन्तरिक कारोबारमा भने नोक्सानमा रहेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम पोखरेल राष्ट्र बैंकले गर्ने आम्दानीको प्रमुख हिस्सा विदेशी विनिमयबाटै प्राप्त हुने गरेको बताउँछन् । बढ्दै गएको विदेशी विनिमय सञ्चिति र अन्तर्राष्ट्रिय बजारमा बढेको ब्याजदरका कारण राष्ट्र बैंकले प्राप्त गरेको आम्दानी पछिल्लो समय बढेको उनको भनाइ छ । 

फाइदा लिने, जिम्मेवार नबन्ने प्रवृत्ति

विदेशमा गएर नेपालीले पसिना बगाइदिँदा सरकारकै अंग मानिने केन्द्रीय बैंकले प्रशस्त लाभ लिइरहेको छ । तर, राष्ट्र बैंकले आफूलाई फाइदा हुने कामका लागि भएको प्रवर्द्धनात्मक खर्चको भार भने अरुलाई थोपरिदिने गरेको देखिन्छ । 

राष्ट्र बैंकले हुन्डी कारोबार नियन्त्रण गर्दै वैधानिक च्यानलबाट हुने कारोबारलाई प्रोत्साहन गर्न यो व्यवस्था गरेको थियो । यो व्यवस्थाको सकारात्मक असर देखिए पनि अधिक तरलताको अवस्थाबिच बैंकको कस्ट अफ फण्ड घटाउन यसले अवरोध गरिरहेको बैंकर्सहरु बताउँछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा विदेशबाट रेमिट्यान्समार्फत् पठाएको रकममा एक प्रतिशत बढी ब्याज दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । उदाहरणका लागि कुनै बैंकले बचत खातामा दिने अधिकतम ब्याजभन्दा थप १ प्रतिशत विन्दुले ब्याज बढी हुनैपर्छ । यसले बैंकहरुको लागत घटाउन अवरोध गरिरहेको बैंकरहरू बताउँछन् । 

राष्ट्र बैंकले हुन्डी कारोबार नियन्त्रण गर्दै वैधानिक च्यानलबाट हुने कारोबारलाई प्रोत्साहन गर्न यो व्यवस्था गरेको थियो । यो व्यवस्थाको सकारात्मक असर देखिए पनि अधिक तरलताको अवस्थाबिच बैंकको कस्ट अफ फण्ड घटाउन यसले अवरोध गरिरहेको बैंकर्सहरु बताउँछन् । आर्थिक संकटसँगै ऋण उठ्ने समस्याका कारण बैंकिङ क्षेत्र नै समस्यामा परेको बेला बैंकहरुमाथि भार थपेर राष्ट्र बैंकले भने यसको लाभ लिइरहेको उनीहरूको भनाइ छ । 

त्यसो त, बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफाको निश्चित प्रतिशत रकम पंस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । झण्डै ७४ अर्ब नाफा गरेको राष्ट्र बैंकले यसमा कुनै पनि खर्च गर्ने गरेको छैन । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल राष्ट्र बैंकले नाफाको निश्चित अंश सीएसआरमा खर्च गर्नेगरी कुनै व्यवस्था नै नरहेको बताउँछन् । 

‘राष्ट्र बैंकले गर्ने खुद आम्दानीलाई विभिन्न कोषमा छुट्याएर बाँकी रहेको रकम हामीले नेपाल सरकारलाई दिने गरेका छौँ, सीएसआर लगायत खर्च गर्ने गरिएको छैन,’ पौडेलले भने । 

त्यसो त डिजिटल कारोबारको विस्तारमा समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नै जिम्मेवार बनाउने काम गर्दै आएको छ । अहिलेसम्म राष्ट्र बैंकलेआरटीजीएस र पेमेन्ट स्वीच लगायत केही परियाेजनामा मात्रै खर्च गरेको देखिन्छ, जबकि देशमा भएका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा धेरै आम्दानी राष्ट्र बैंक एक्लैले गरेको छ । 

राष्ट्र बैंकले चाहेमा के के गर्न सक्छ ?

पूर्वबैंकर भुवन दाहाल राष्ट्र बैंकले गर्ने त्यस्तो कमाईबाट वित्तीय क्षेत्रका अप्रत्यक्ष तरिकाले योगदान गर्नसक्ने बताउँछन् । विदेशी विनिमयदरको विषयमा बैंकहरुलाई सहुलियत दिने, डिजिटल कारोबारमा सहुलियत दिने लगायत काममा राष्ट्र बैंकको विशेष योगदान हुनसक्ने उनको भनाइ छ । 

अहिले सरकारले वित्तीय कारोबारमा मूल्य अभिवृद्धि कर लगाएको छ । १० रुपैयाँ ट्रान्सफर गर्दा ११ रुपैयाँ ३० पैसा कर लाग्छ भन्ने भाष्य निर्माण भएको छ, राष्ट्र बैंकले चाहे यसलाई पनि कुनै तरिकाबाट समाधान गर्न सकिने पूर्वबैंकर भुवन दाहाल बताउँछन् ।

‘बैंकहरुले रेमिट्यान्स निक्षेपमा धेरै ब्याज दिन्छन् भनेपछि राष्ट्र बैंकले गर्ने कमाइबाट त्यसको सब्सिच्युट गर्न नसकिएला, तर विनिमय कारोबारमा बैंकरलाई सहुलियत नि सकिन्छ, खरिद र बिक्री दरको अन्तरलाई कम गरेर सहुलियत दिन सकिन्छ,’ दाहाल भन्छन्, ‘डिजिटल कारोबारलाई सस्तो र व्यवस्थित बनाउने काममा योगदान गर्न सकिन्छ ।’

अहिले सरकारले वित्तीय कारोबारमा मूल्य अभिवृद्धि कर लगाएको छ । १० रुपैयाँ ट्रान्सफर गर्दा ११ रुपैयाँ ३० पैसा कर लाग्छ भन्ने भाष्य निर्माण भएको छ, राष्ट्र बैंकले चाहे यसलाई पनि कुनै तरिकाबाट समाधान गर्न सकिने दाहाल बताउँछन् ।

‘अहिले डिजिटल सेवा लिइरहेका कम्पनीहरु प्राइभेटस्तरबाटै सञ्चालन भएकोले उहाँहरूले शुल्क त लिनु नै हुनुहुन्छ,’ दाहाल भन्छन्,  ‘तर राष्ट्र बैंकले केही सहुलियत लिएर निश्चित रकमभन्दा कम कारोबार गर्नेलाई निःशुल्क गर्ने, त्योभन्दा धेरै कारोबारलाई शुल्क लिनेगरी थ्रेसहोल्ड बनाउन सहयोग गर्ने हो भने पनि यसले सबैलाई राम्रो गर्छ जस्तो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप