१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. बीआरआई स्वीकार्न सकिन्न : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई)ऋणमा स्विकार्न नसकिने बताएका हुन । बिहीबारको क्याविनेट बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको तयारी र एजेन्डाबारे समय आएपछि छलफल गर्दै जाने समेत बताएका थिए ।
२. मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए ।
३. विवादमा ओली
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियास्थित टेलिकममा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको विवादास्पद अभिव्यक्ति दिएसँगै विवाद उत्पन्न भएको छ । ओलीको कम्बोडिया ‘कनेक्सन’बारे प्रचार सामग्री नै बनाएर प्रसाईंले सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा यही विषयमा बढी चर्चा भइरहेको छ । यो विषयले प्रधानमन्त्री ओली आलोचित भएका छन । ओली अनेकन् कारणले पटक–पटक विवादमा तानिँदै आएका छन ।
यसैबिच, एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औं साधारण सभामा भाग लिनको लागि ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २०० नेताहरू सहभागी हुने भएका छन ।कम्बोडियन पिपल्स पार्टी (सीपीपी)को आयोजनामा हुन गइरहेको साधारण सभामा सहभागी हुन नेताहरू कम्बोडियाको राजधानी नोमपेन्ह आइपुग्ने क्रम जारी रहेको नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार एसियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू र ३९ जना पर्यवेक्षकहरू सहभागी हुनेछन । सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलबाट १३ जना नेताहरू सहभागी हुनेछन ।
४. अर्को झमेलामा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ ।
स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दैछौँ ।’
५. थप २० मिटरको मापदण्ड विवाद
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो ।
६. संक्रमणकालीन न्याय
टीआरसी सर्च कमिटीले दुई आयोगका लागि अध्यक्ष र सदस्यका लागि मागेको आवेदनमा आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १५७ जनाले आवेदन दिएका थिए ।
७. रास्वपाको निष्कर्ष
राजनीतिक प्रतिशोधको नाममा निरन्तर सडक आन्दोलन गर्दा पार्टीलाई क्षति गर्ने निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप बदल्ने निर्णय गरेको छ । मंसिर ८ गतेदेखि हुने दोस्रो चरणको आन्दोलनका लागि रास्वपा सडकमा नउत्रने निर्णय गरेको छ । सडक आन्दोलनको विकल्पमा लाग्ने निर्णयमा पार्टी पुगेको हो ।
८. विप्लवको फरक क्रान्ति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यतिखेर देशभरका विभिन्न स्थानमा कृषि उत्पादन गतिविधि गरिरहेको छ । यस पार्टीका महासचिव विप्लव स्वयं नियमित केन्द्रीय समिति बैठकलाई केही दिन पर धकेलेर बाली भित्र्याउने र लगाउने काममा खटिएका छन ।
सचिवालय सदस्य विमर्श आचार्य भन्छन्, ‘खासगरी बाली भित्र्याउने र लगाउने समयमा महासचिव विप्लव आफैँ बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्मै खट्नुहुन्छ ।’ अहिले यो पार्टीले हिमाल, पहाड र तराईमा गरी करिब १२० बिघा जग्गा भाडामा लिई विभिन्न खेती गरिरहेको छ ।
९. मेडिसिटीमा बिरामीको मृत्यु प्रकरण
ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन । मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्दा सरोजको मृत्यु भएको भन्दै परिवार र आफन्तले शव बुझ्न मानेका थिएनन । बिहीबार साँझ दुई पक्षबिच वार्ता भएपछि परिवारले शव बुझेको अस्पताल प्रशासनले रातोपाटीलाई जानकारी दिएको छ ।
१०. कन्ट्री रेटिङ
पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ । अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो । यो रेटिङलाई सरकारी अधिकारीहरूले अपेक्षा गरेभन्दा राम्रो मानेका छन ।
अर्थ मन्त्रालय स्रोतले भनेको छ, ‘लगानीको वातावरणका हिसाबले ऐतिहासिक नभए पनि यसलाई हाम्रो आन्तरिक अवस्थासँग तुलना गर्दा असाध्यै राम्रो हो । यो भारतपछि दक्षिण एसियाको सबैभन्दा राम्रो रेटिङ हो ।’
११. काठमाडौंमा दिनभर छविको बयान
काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीसँग काठमाडौं ल्याएर बयान लिइएको छ । मङ्सिर ४ गते कास्कीबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य एकै दिनमा सकिएको उनले बताए । अब रास्वपा पार्टी सभापति रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याइने बताइएको छ ।
१२. लिलाबल्लभको वयान
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री अधिकारीको बयान सकाएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह