१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
आज मिति २०८१ साल मंसिर महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए ।
२. विवादमा ओली
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियास्थित टेलिकममा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको विवादास्पद अभिव्यक्ति दिए । ओलीको कम्बोडिया ‘कनेक्सन’बारे प्रचार सामग्री नै बनाएर प्रसाईंले सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा यो विषयबारे चर्चा भइरहेको छ । यही विषयले प्रधानमन्त्री ओली आलोचित भएका छन् ।
योमात्रै नभएर ओली पटक पटक विवादमा तानिँदै आएका छन् ।
यसैबीच एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १२औं साधारण सभामा भाग लिनको लागि ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २०० नेताहरू सहभागी हुने भएका छन् ।
कम्बोडियन पिपल्स पार्टी (सीपीपी)को आयोजना हुन गइरहेको साधारण सभामा सहभागी हुन नेताहरू कम्बोडियाको राजधानी नोमपेन्ह आइपुग्ने क्रम जारी रहेको नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार एसियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू र ३९ जना पर्यवेक्षकहरू सहभागी हुनेछन् ।
सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलबाट १३ जना नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुनका लागि कम्बोडिया पुगेका खतिवडाले सभाको उद्देश्य ‘शान्ति र मेलमिलाप निर्माणमा राजनीतिक दलहरूको भूमिका’ भन्ने विषय रहेको जानकारी दिए ।
३. अर्को झमेलामा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ ।
स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दैछौँ ।’
४. थप २० मिटरको मापदण्ड विवाद
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो ।
५. संक्रमणकालीन न्याय
टीआरसी सर्च कमिटीले दुई आयोगका लागि अध्यक्ष र सदस्यका लागि मागेको आवेदनमा आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १५७ जनाले आवेदन दिएका थिए ।
६. रास्वपाको निष्कर्ष
राजनीतिक प्रतिशोधको नाममा निरन्तर सडक आन्दोलन गर्दा पार्टीलाई क्षति गर्ने निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप बदल्ने निर्णय गरेको छ । मंसिर ८ गतेदेखि हुने दोस्रो चरणको आन्दोलनका लागि रास्वपा सडकमा नउत्रने निर्णय गरेको छ । सडक आन्दोलनको विकल्पमा लाग्ने निर्णयमा पार्टी पुगेको हो ।
७. विप्लवको फरक क्रान्ति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यतिखेर देशभरका विभिन्न स्थानमा कृषि उत्पादन गतिविधि गरिरहेको छ । यस पार्टीका महासचिव विप्लव स्वयं नियमित केन्द्रीय समिति बैठकलाई केही दिन पर धकेलेर बाली भित्र्याउने र लगाउने काममा खटिएका छन् ।
सचिवालय सदस्य विमर्श आचार्य भन्छन्, ‘खासगरी बाली भित्र्याउने र लगाउने समयमा महासचिव विप्लव आफैँ बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्मै खट्नुहुन्छ ।’
अहिले यस पार्टीले हिमाल, पहाड र तराईमा गरी करिब १२० बिघा जग्गा भाडामा लिई विभिन्न खेती गरिरहेको छ । ‘जुम्ला लगायत हिमाली भेगमा स्याउ खेती गरिएको छ,’ सचिवालय सदस्य आचार्य भन्छन्, ‘पहाडी भेगमा फलफूल र तरकारी खेतीलाई प्राथमिकतामा राखिएको छ भने तराई भेगमा धान र गहुँ खेतीलाई प्राथमिकता दिइएको छ ।’
८. मेडिसिटीमा बिरामीको मृत्यु प्रकरण
ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन् ।
मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्दा सरोजको मृत्यु भएको भन्दै परिवार र आफन्तले शव बुझ्न मानेका थिएनन् । बिहीबार साँझ दुई पक्षबिच वार्ता भएपछि परिवारले शव बुझेको अस्पताल प्रशासनले रातोपाटीलाई जानकारी दिएको छ ।
९. कन्ट्री रेटिङ
पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ ।
अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो । यो रेटिङलाई सरकारी अधिकारीहरूले अपेक्षा गरेभन्दा राम्रो मानेका छन् । अर्थ मन्त्रालय स्रोतले भनेको छ, ‘लगानीको वातावरणका हिसाबले ऐतिहासिक नभए पनि यसलाई हाम्रो आन्तरिक अवस्थासँग तुलना गर्दा असाध्यै राम्रो हो । यो भारतपछि दक्षिण एसियाको सबैभन्दा राम्रो रेटिङ हो ।’
१०. लिलाबल्लभको वयान
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री अधिकारीको बयान सकाएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश