शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुर्गा प्रसाईंको विवादास्पद अभिव्यक्ति

विवादमा ओली : के भन्छन् प्रतिपक्ष दलका नेता ?

बिहीबार, ०६ मङ्सिर २०८१, २१ : ००
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियास्थित टेलिकममा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको विवादास्पद अभिव्यक्ति दिए । ओलीको कम्बोडिया ‘कनेक्सन’बारे प्रचार सामग्री नै बनाएर प्रसाईंले सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा यो विषयबारे चर्चा भइरहेको छ । यही विषयले प्रधानमन्त्री ओली आलोचित भएका छन् ।

भ्रामक प्रचार सामग्री बनाएर प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । मंगलबार भक्तपुरबाट पक्राउ परेका उनलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रचार सामग्री बाहिरिएसँगै ओलीबारे सामाजिक सञ्जालमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ । एमालेका नेताहरूले जनस्तरबाट सार्वजनिक टिप्पणीको प्रतिरक्षा गर्नु परिरहेको छ । यतिमात्र होइन, एसियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को पूर्वनिर्धारित कार्यक्रममा भाग लिन कम्बोडिया गएका सभामुख देवराज घिमिरे, एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेता डा.राजन भट्टराईलाई समेत ओलीसँग जोडेर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भइरहेको छ ।

एमालेले शुक्रबार काठमाडौँमा गर्न लागेको जागरण सभाको संयोजक तथा एमाले विदेश विभागका पूर्वप्रमुख समेत रहेका भट्टराई कम्बोडिया पुगेको विषयलाई मसला बनाएर विरोधीहरूले प्रचार गरिरहेका छन् । जागरण अभियानका कमाण्डर नै कम्बोडिया उडेको भन्दै टिप्पणी भइरहेको छ ।

यस्ता टिप्पणी बढ्न थालेपछि भट्टराईले आईक्यापमा सहभागी विभिन्न दलका नेताहरूको लिस्ट नै सामाजिक सञ्जालमा शेयर गरेर भ्रम निवारणको प्रयास गरेका छन् ।

प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने विपक्षी दल बताउँछन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सार्वजनिक रूपमा प्रश्न उठेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

बिहीबार रातोपाटीसँग कुराकानी गर्दै गुरुङले भने, ‘सत्य–तथ्य के हो ? यसबारे सरकारले छानबिन गरी बाहिर ल्याउनुपर्छ । यदि दुर्गा प्रसाईं गलत साबित भए उसलाई कानुन अनुसार कारबाही गर्नुपर्छ । नभए प्रधानमन्त्री भए पनि वा राज्यका जस्तोसुकै ठुलो पदमा भए पनि छानबिन हुनुपर्छ ।’

छानबिनका क्रममा दोषी ठहरिए प्रधानमन्त्री पनि कारबाहीको दायरामा आउनुपर्ने गुरुङको भनाइ छ । अनुसन्धान गर्ने सरकारका विभिन्न निकाय रहेकाले कानुनी प्रक्रियाबाट यो विषयलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

अहिले संसद् अधिवेशन नभएकाले यसबारे थप अध्ययन गरेर आगामी दिनमा संसद् र आवश्यक परे सडकमा उत्रिएर पनि छानबिनको माग गर्ने गुरुङले बताए ।

यसैगरी विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ओलीसँग जोडिएको विवादास्पद विषयमा सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेको छ । बुधबार जारी गरिएको रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘केही दिन यता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य–तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गर्दछ ।’

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रसाईंद्वारा सार्वजनिक सामग्रीको सत्यतामाथि छानबिन हुनुपर्ने बताए । वास्तविकता पत्ता लगाएर यथार्थ जानकारी बाहिर ल्याउन उनले सरकारसमक्ष माग गरे । उनले रास्वपाका सभापति रवि लामिछानेमाथि प्रश्न उठेकै भरमा पक्राउ गरी प्रतिशोधको व्यवहार गरेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठेपछि जवाफ दिनुपर्छ कि पर्दैन भनेर प्रश्नसमेत गरे ।

‘दुर्गा प्रसाईंले बाहिर ल्याएका सामग्री कति सत्य वा असत्य हो, त्यसमा छानबिन गरी सरकारले वास्तविकता जनतालाई जानकारी दिनुपर्छ । हाम्रो सभापतिमाथि प्रश्न उठेकै भरमा प्रतिशोधपूर्ण व्यवहार गर्ने तर देशका प्रधानमन्त्रीसँग जोडिएको विषयमा जवाफ दिनुपर्दैन ?’ उनले प्रश्न गरे । बाहिर आएको विषय असत्य हो भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने अन्यथा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्ने उनले बताए ।

प्रसाईंको डकुमेन्टको निसानामा एमालेका नेताहरू

प्रसाईंको प्रचार सामाग्रीबारे प्रहरीले अनुसन्धान गरिरहेकाले ढिलोचाँडो तत्य बाहिर आउला । तर आईक्यापको १२ औँ साधारण सभामा भाग लिनका लागि कम्बोडिया पुगेका एमालेका नेताहरू निसानामा परेका छन् । कम्बोडियन पिपल्स पार्टी (सीपीपी)को आयोजना हुन गइरहेको साधारण सभामा  सहभागी हुन नेताहरू कम्बोडियाको राजधानी नोम पेन्ह गएका हुन् । ३१ देशका ५४ राजनीतिक दलबाट करिब २०० नेता सहभागी हुने नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए ।

उनका अनुसार एशिया बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेता र ३९ जना पर्यवेक्षक उक्त कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलनमा नेपालबाट ८ राजनीतिक दलबाट १३ जना नेता सहभागी हुँदैछन् । साथै, यो सम्मेलनमा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू–२०३० को प्रगति सुनिश्चित गर्न आर्थिक असमानता, सामाजिक द्वन्द्व र अन्य चुनौतीको समाधान गर्ने विषयमा पनि छलफल हुने खतिवडाले जानकारी दिए । 

सम्मेलनमा सहभागी हुन कम्बोडिया पुगेका खतिवडाले सभाको उद्देश्य ‘शान्ति र मेलमिलाप निर्माणमा राजनीतिक दलहरूको भूमिका’ भन्ने विषय रहेको बताए ।

सभाको उद्देश्यबारे प्रस्ट पार्दै खतिवडाले अगाडि भने, ‘सम्मेलन अन्तर्राष्ट्रिय कानुन र शान्ति स्थापनामा आधारित सिद्धान्तहरूको समर्थन गर्दै विभिन्न संस्कृतिहरू र विविधताहरूको सम्मान गर्दै आम रूपमा मेलमिलापको प्रक्रिया अघि बढाउन चाहन्छ ।’

सम्मेलनमा ‘शान्ति र मेलमिलाप प्रबर्द्धधनका लागि सांस्कृतिक विविधता’ र ‘शान्ति कायम गर्न आजको डिजिटल दुनियाँका सन्दर्भमा नक्कली समाचारहरू विरुद्ध कसरी लड्ने’ भन्ने विषयमा छुट्टाछुट्टै समानान्तर सेसन सञ्चालन गरेर यस विषयमा गहिरो छलफल हुने खतिवडाले बताए ।

ओलीको कम्बोडिया आवतजावत

oli

०७६ मा प्रधानमन्त्री भएका बेला ओली आफैँ कम्बोडिया गएका थिए । ०७६ वैशाख ३० देखि जेठ १ गतेसम्म कम्बोडिया भ्रमणमा रहेका उनले द्विपक्षीय हवाई उडानसम्बन्धी विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।

यस्तै दक्षिण एसियाका डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने र निर्वाचन पर्यवेक्षणपछि त्यहाँका राष्ट्रपतिसहित उच्च राजनीतिक तहमा भेटघाटको उद्देश्यले ओली गत साउनमा पनि कम्बोडिया गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप